पाठेघरको मुख र फोक्सोको क्यान्सरका बिरामी बढे, वंशाणुगत पनि हुनसक्छ क्यान्सर !



Download our app to get more features

काठमाडौं, २१ माघ । पछिल्लो  समय पाठेघरको मुखको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामी बढेको पाइएको छ । अन्य अङ्गको क्यान्सरका बिरामी पनि नबढेका भने  होइनन् । तर, तुलनात्मक रुपमा पाठेघरको मुखको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामी अस्पताल आउने क्रम बढेको भक्तपूर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा.रोशन प्रजापतीले बताए । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा रहेको बताइन्छ ।  तर, पछिल्लो तथ्याङ्अनुसार विवाहीत महिलामा पाठेघरको मुखको क्यान्सर र अविवाहीत महिलामा स्तन क्यानसर बढ्दो क्रममा रहेको प्रजापतीको भनाई छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । सोही कारण पाठेघरको क्यान्सरबाट बच्न समय–समयमा प्याप स्मेयर टेस्ट गरिरहनुपर्ने प्रजापतिको अपिल छ । 

ग्रामीण भेकका महिलामा बढि 
नेपालको सन्दर्भमा मुख्यगरी पाठेघरको मुखको क्यानसरका विरामी शहरी क्षेत्रमा भन्दा ग्रामिण भेगमा बढी पाइएको प्रजापतिले बताए । 

प्रजापति भन्छन् ‘अहिले शहरमा अधिकांश महिलालाई  समयसमयमा पाठेघर, यौनीको परिक्षण गर्नुपर्छ भन्ने ज्ञान भइसकेको छ, तर ग्रामिण भेकका महिलालाई अझै यस्ता चेतनाको अभाव छ ।’ विशेषतः जनचेतनाको कमीका कारण आफ्नो शरीरमा भएका समस्या सामान्य रुपमा लिने कारण गाउँमा महिलामा यस्तो समस्या बढेको हो । 

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर मात्रै नभएर पाठेघरको भित्रपट्टिको क्यान्सर पनि प्रमुख रहेको प्रजापतिले जानकारी दिए । 
 
 पुरुषको तुलनामा महिलामा भएको क्यानसर चाँडो पत्ता लाग्ने

विशेषगरी पुरुषको तुलनामा महिलामा भएको क्यानसर चाँडो पत्ता लाग्ने डा. प्रजापतिले बताए ।  उनले भने ‘यदि कुनै महिलालाई पाठेघरको मुखको क्यानसर भएको छ भने लक्षणहरु सजिलै देख्न सकिने हुँदा शुरुको चरणमा पनि सजिलै पत्ता लाग्छ । यसैगरी, महिला र पूरुषलाई नै हुनसक्ने फोक्सोको क्यान्सरमा पनि महिलामा चाँडो लक्षण देखिन्छ भने पुरुषमा चाँडै पत्ता लगाउन ग्राहो हुन्छ ।’ त्यसैले शंका लाग्न साथै उपचार गरे पूरुषको तुलनामा महिलालाई क्यान्सर रोग चाँडो निको हुन्छ । 

 वंशाणुगत पनि हुनसक्छ क्यान्सर
क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिँदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । क्यानसर जुनसुकै अङ्गमा हुनसक्ने हुँदा के कारण क्यान्सर हुन्छ, त्यो अङ्गअनुसार  पनि फरक हुन्छ । 

पाठेघरको मुखको क्यानसर हुनुको प्रमुख कारण धेरैजना पुरुषसँग यौनसम्पर्क राख्नु, सानो उमेरमा धेरै सन्तान जन्माउनु पनि हो भने प्रदुषण, धुम्रमान मद्यपानको बढी प्रयोग र अस्वस्थ खानपानका कारण फोक्सोको क्यानसर हुन्छसक्छ । 

आफ्ना वंशमा कसैलाई क्यानसर भएको छ भने पनि ती परिवारका सदस्यले एकपटक क्यान्सर विशेषज्ञालाई देखाउनैपर्ने प्रजापतिको सुझाव छ । उनी भन्छन् ‘क्यानसर रोग नसर्ने रोग भएपनि वंशाुणगत भने हुनसक्छ, यसकारण ती परिवारले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ ।’

 प्रत्येक वर्षमा हजारौंको संख्यामा बढ्छन् क्यान्सरका विरामी
नेपालमा हरेक बर्ष करिव ३० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार नपाएको अवस्था छ  ।  २०७४÷२०७५ को तथ्याङ्अनुसार भक्तपूर क्यानसर अस्पतालमा मात्रै ३४५० जना नयाँ क्यान्सरका विरामी थपिएको डा. प्रजापतिले जानकारी दिए ।
 

Last modified on 2019-02-04 17:27:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts