होस् गर्नुस्, मौसम परिवर्तनसँगै फैलिन सक्छन् यस्ता महामारी !



Download our app to get more features

काठमाडौं, २४ माघ । यो समय विस्तारै जाडो मौसम सकिएर गर्मी सुरु हुने बेला हो । मौसम परिर्वतसँगै विभिन्न रोगको संक्रमण पनि देखिन थाल्छ । कतिपय स्थानमा हरेक वर्ष मौसमी रोगले महामारीकै रुप समेत लिने गरेको छ ।

गर्मी घटेर जाडो सुरु नहुँदै सरकारी र निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेर उपचारमा समेत समस्या हुने टेकु अस्पतालका कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन प्रमुख डा. अनुप बास्तोलाले बताए ।

बालबालिकामा निमोनिया र वृद्धवृद्धामा भाइरल ज्वरो, दमको समस्या र अधिकांशलाई झाडापखाला, आउँ लगायतको समस्या बढी देखिने उनको भनाइ छ ।

गर्मी लागेसँगै मुख्यगरी काठमाडौंका मानिसलाई पानीजन्य सरुवा रोग लाग्ने डा. बास्तोलाले बताए । ‘गर्मी लागेपछि पानीको अभाव हुने र आम मानिसले ढल मिसिएको तथा दूषित पानी हो/होइन निक्र्यौल नगरी पिउने समस्या रहेको उनले बताए ।

‘सोहीकारण प्रत्येक वर्ष काठमाडौंमा ‘टाइफियुड्फियर’का बिरामी बढ्ने गरेका छन्’डा. बास्तोलाले थपे ।

उनले गर्मी मौसममा दूषित पानीकै कारण भाइरल हेपोटाइटिस ‘ए’, हेपटाइटिस ‘इ’का बिरामी पनि बढ्ने गरेको जानकारी दिए । विशेषगरी दूषीत पानीका कारण पानीजन्य महामारी फैलिने भन्दै उनले भने ‘ जुनसुकै ठाउँमा गएपनि कस्तो खालको पानी हो त्यसमा सबैले ध्यान दिनुपर्छ र उमालेको पानी पिउनसके यस्ता रोगबाट जोगन सकिन्छ ।’ ‘गर्मी मौसममा रोग लाग्ने अर्को कारण भनेको बासी सडेगलेको खानेकुरा नै हुन्’, डा. बास्तोलाले भने ।

जाडो मौसममा भन्दा गर्मी मौसममा स्वास्थ्यलाई अझै बढी ध्यानमा राख्नुपर्ने उनको सुझाब छ ।

आउँ, झाडापखलासँगै गर्मी मौसममा फैलने महामारी लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया पनि एक हो । साथै दूषित पानीमा हुने व्याक्टेरियाका कारण डायरियल डिजिजहरुः साल्मुनिला, सिर्गेला लगायतको संक्रमण हुने डा. बास्तोलाले बताए ।

मौसम परिवर्तनसँगै बढीमात्रमा तराईका मानिसलाई यस्ता रोगले च्याप्ने गर्छ । उनले भने ‘पहाडी, हिमाली भेगबाट पनि बिरामी आउँछन्, तर बढी मात्रामा तराईका बासिन्दा यस्ता समस्यमा बाट ग्रसित हुन्छन् ।’

गर्मी लागेसँगै तराईमा तापक्रम अन्य भेगको भन्दा बढ्ने कारण यस्तो हुने गरेको डा. बास्तोलाले बताए ।

दुर्गम बस्तीमा अझै पनि जनचेतनाको कमी हुँदा यस्ता मौसमी रोगलाई सामान्य रुप लिने, पछि त्यही महामारीको रुपमा फैलिने गरेको उनको भनाइ छ ।

मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति कम हुने भएकाले पनि रोगको संक्रमण बढ्ने बताउँछन्, डा. बास्तोला । यसकारण धेरैभन्दा धेरै शुद्ध पानी पिउँदा रोगको संक्रमण कम हुने उनको भनाई छ ।

गर्मी मौसममा बाहिरको खानेकुरा कम खाने, बासी सडेगलेको खानेकुरा नखाने, साबुन पानीले हात धुने, सफा पानी पिउने तथा सफा र सन्तुलित खाने कुरामा अधिक ध्यान दिनुपर्ने डा. बास्तोलको सुझाव छ ।

Last modified on 2019-02-07 13:56:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts