उपचार गर्दागर्दै घरखेत लिलाम, भयो मन्दिरको बास !



Download our app to get more features

पर्वत २६ माघ। क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् ।

फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आएका हुन् । एउटा झुपडी र चार हलको खेत बेचेर आएको रु १२ लाख उपचारमा सकिएपछि मन्दिरको बास भएको उनी बताउँछन् । सतसठ्ठी वर्षीय कँडेल ‘प्रोष्टेट क्यान्सरबाट पीडित छन् ।

पिसाबमा रगत देखिन थालेपछि ०७१ पुस १४ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुगेर चार महिनासम्म उपचार गरेपछि उनको रगत बग्ने समस्या कम भयो ।

उपचारका क्रममा रु १० लाख खर्च भयो । पोखराबाट फर्किएको एक महीना नहुँदै फेरि पिसाबमा रगत देखिन थालेकाले भएको घरखेत बेचेर गाउँलेको सल्लाहमा कँडेल २०७५ जेठमा चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा पुगे । एक महीनाको उपचारपछि साथमा भएको रकम सकियो ।

अस्पतालले थप उपचारका लागि रकम  जम्मा गर्न सल्लाह दिएर अस्पतालबाट फिर्ता पठाएकाले गृह जिल्ला आएपछि अहिलेसम्म गाउँ पुगेको छैन भन्दै उनले गुनासो गरे, ‘गाउँमा घर पनि छैन साथमा रकम पनि भएन, अब केका लागि गाउँ जाने ?’

गत वर्ष पुसदेखि श्रीमतीसहित मन्दिरमा बस्दै आउनुभएका कँडेलले चिकित्सकले रु २२ लाख भए उपचार हुने सल्लाह दिएको जानकारी दिँदै भन्छन्, ‘मसँग रु २० पनि खल्तीमा छैन, रु २२ लाख कहाँबाट ल्याएर उपचार गराउनु तर जस्तो भए पनि बाँच्न भने मन लाग्दोरहेछ ।’

कँडेलका चार छोरा छन् । छोराहरूको पनि उपचार गराउन सक्नै आर्थिक अवस्था राम्रो छैन । कान्छा छोरा मोहनबहादुर कँडेल रोजगारीका लागि दुबई पुगेका छन् ।

औषधि किनेर खान मासिक रु १० हजार जति खर्च हुने गरेको गरेकाले उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग गर्न कँडेलले अपिल गरेका छन् ।

Last modified on 2019-02-10 12:05:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts