चिकित्सक आवास भवन निर्माण
गलकोट, २ फागुन । धवलागिरि अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरुका लागि चकित्सक आवास भवन निर्माण गरेको छ ।
रु एक करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की भवनमा चार परिवार बस्न मिल्ने धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।
दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताए।
एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए। अस्पतालले थप चिकित्सक आवाससमेत निर्माण गर्न थालिरहेको गौतमले जानकारी दिए।
अस्पतालमा चिकित्सक नबस्ने परिपाटी चलिरहेको अवस्थामा सुविधासम्पन्न आवास निर्माण भएसँगै सेवारत चिकित्सकहरु लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले लिएको छ । रासस
