गोदान आन्दोलनः सामूहिक राजीनामाको हस्ताक्षर संकलन जारी



Download our app to get more features

काठमाडौं, ६ फागुन । सरकारी चिकित्सक संघ (गोदान) ले आज दिउँसबाट सुरु गरेको सामूहिक राजीनामाका लागि हस्ताक्षर संकलन हाल जारी छ । 

चिकित्सकहरुको मागलाई सम्बोधन नगरी कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको भन्दै देशभरका चिकित्सकहरुले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।

यससँगै बिहीबार सामूहिक विदामा बस्ने, शुक्रबार देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने गोदानका महासचिव रविन खड्काले जानकारी दिए ।

मंगलबार  माइतीघर मण्डलामा आफूहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै गोदानले रक्तदान कार्यक्रम समेत आयोजना गर्ने उनले बताए । 

गोदानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

सरकारी चिकित्सकको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै गोदानले त्यस विरुद्ध आन्दोलनका कार्यक्रम अघि सारेको महासचिव खड्काले बताए ।

स्वास्थ्य मन्त्रालयले गत पुस ३० गते चिकित्सकहरुसँग गरेको सम्झौतामा सबै चिकित्सकलाई केन्द्रअन्तर्गत राख्ने र मन्त्रालयले आवश्यकताअनुसार विभिन्न ठाउँमा खटाउने उल्लेख छ । तर, सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु पुनः आन्दोलित भएका हुन् ।
 

Last modified on 2019-02-19 12:33:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts