भरतपुर अस्पताल: भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती



Download our app to get more features

चितवन, ८ फागुन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका हुन् । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख गरिएको छ । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नति भएको पत्र प्राप्त भएको बताए। अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ । हाल अस्पतालमा सरकारले १५० श्यया सुविधा उपलब्ध गराएको छ । चार सय ५० श्यया विकास समितिमार्फत सञ्चालन गरिएको छ । अब केन्द्रीय सरकारबाटै ५०० श्ययाको सेवासुविधा प्राप्त हुने पौडेलले बताए। 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । चितवनसहित १२ जिल्लाका बिरामी उपचारका लागि नियमित आउने गरेको पौडेलले बताए। अस्पतालमा १३ विभागमार्फत बिरामीको उपचार गरिँदै आएको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts