क्यान्सररोगीलाई आवश्यक पर्ने झोला उत्पादन नहुँदा समस्या



Download our app to get more features

चितवन, ९ फागुन । मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि धेरै बिरामीलाई प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोेस्टोमी र युरोस्टोमी ब्याग) नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ । 

ती दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार यहाँ सम्पन्न भेलामा उनीहरुले स्वदेशमा झोला उत्पादन गर्न माग गरेका हुन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक एवं मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछानेका अनुसार एउटा झोला खरीद गर्न बिरामीले रु एक हजार ५०० हाराहारी तिर्नुपर्ने हुन्छ । अस्पतालले दाता खोजेर स्टोमा सेवा समाजमार्फत न्यून शुल्कमा दिँदै आएको भए पनि सधैँ सबैले पाउने अवस्था छैन । 

लामिछाने स्वदेशमै झोला उत्पादन गर्न सके बिरामीले सस्तो मूल्यमा सहजरूपमा पाउन सक्ने बताए । सबै बिरामीको अपेक्षा रहेको भन्दै उनले मूत्रथैलीको शल्यक्रिया गरेकामध्ये ३० प्रतिशत हाराहारीलाई र मलद्वारको शल्यक्रिया गरेकामध्ये २० प्रतिशतलाई यो झोला अनिवार्य हुने बताए। दिसापिसाबको प्राकृतिक बाटो परिवर्तन गरी कृत्रिमरूपमा दिसापिसाब त्याग गर्न झोला प्रयोग गरिन्छ । 

एउटा बिरामीलाई न्यूनतम सात दिनमा झोला फेर्नु पर्दछ । जटिल समस्या देखिएमा दैनिकजसो प्रयोग गर्नुपर्ने बाध्यता हुने गरेको छ । कोलोेस्टोमी र युरोस्टोमी झोला अहिले नेपालमा उत्पादन नहुँदा र समय–समयमा नपाउँदा बिरामीलाई समस्या पर्ने गरेको समाजका सचिव मीनबहादुर अछामेले बताए। उनले भन्, “अहिले अस्पतालले वितरण गरिरहेको छ । तर अस्पतालमा नभएको समयमा बिरामीको शरीर गन्हाउने र ‘एलर्जी’ हुनेसम्मका समस्या देखा पर्दछ ।” 

अस्पतालले अहिले एउटा झोलाको रु २० का दरले वितरण गर्दै आएको छ । अस्पतालमा नपाउँदा बिरामीले महँगोमा खरीद गर्नुपरेको भन्दै अछामेले सबैको पहलमा नेपालमै झोला उत्पादन गर्नुपर्ने बताए। 

झापाबाट झोला लिन क्यान्सर अस्पताल आइपुग्नुभएका ५९ वर्षीय डोरबहादुर खत्रीले सर्वसुलभरूपमा नपाउँदा लामो यात्रा गरेर अस्पतालमा आउन बाध्य भएको बताए। बाहिर किन्दा महँगो पर्ने भएकाले नियमितरूपमा आएर झोला लैजाने गरेको उनले बताए। यहीँ उत्पादन भए सबैतिर पाइने बताउँदै उनले नेपालमा उत्पादन नहुँदा बिरामीले दुःख पाएको गुनासो गरे। 

स्टोमा सेवा समाजका अध्यक्ष देवीलाल ढकालले राज्यले यस्ता बिरामीको सेवाका लागि झोला नेपालमै उत्पादन गर्नु आवश्यक रहेको बताए। अहिले यो झोला प्रयोग गर्ने ६७० रहेको बताउँदै उनले नेपालभर छरिएका बिरामीलाई भरतपुर आएर सेवा लिन असहज भएको बताए। दातृ संस्थाको भरमा झोला प्रयोग गर्नुपरेकामा दुःख व्यक्त गर्दै उनले भने, “कुनै समय झोला आउन ढिला भयो भने हामीलाई सङ्कट आइपर्छ । नेपालमै उत्पादन भएमा सहजरूपमा पाउन सकिन्थ्यो ।” 

अहिले यो झोला प्रयोग गर्नेमा ५१७ मलद्वार र १५३ मूत्रनलीका बिरामी रहेका छन् । अस्टोमेट एशोसिएसन अमेरिकाले वार्षिक रु चार करोड बराबरको झोला सहयोग गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले यस्ता बिरामीको उपचारका लागि अस्पतालले नियमित बहिरङ्ग विभाग सञ्चालनमा ल्याउने बताए । आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई दाताले दिएको झोला प्रयोग गर्न दिएर सक्षमले खरीद गरिदिएमा सहज हुने उनले बताए। नेपालमा हुने क्यान्सर रोगमध्ये मलद्वारको क्यान्सर छैटौँमा पर्दछ भने पिसाब थैलीको सातौँमा पर्दछ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts