माग पुरा गर्न सरकारलाई गोदानको ७२ घन्टे अल्टिमेटम, देशैभरका अस्पतालमा सेवा ठप्प पार्ने चेतावनी
काठमाडौं, १२ फागुन । सरकारी चिकित्सकहरुको छाता संगठन सरकारी चिकित्सक संघले आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
कर्मचारी समायोजन विधेयकमा असन्तुष्टि जनाउँदै संघर्षमा उत्रेको संघले माग पूरा गर्न दवाव दिँदै सरकारलाई माग सम्बोधनका लागि ७२ घण्टाको समयसीमा दिएको हो ।
नेपाल चिकित्सक संघ सहित शनिबार बसेको सरकारी चिकित्सकहरुको बैठकले समयसीमा भित्र माग पूरा नभए आउँदो १५ गतेदेखि देशैभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।
आन्दोलनकै कार्यक्रम अन्तर्गत संघले आउँदो बुधवार बनाउन लागिएको स्वास्थ्य सेवा दिवस पनि वहिष्कार गर्ने निर्णय गरेको छ । निरन्तरको संघर्षमा पनि सरकारले अटेर गरे सामुहिक राजीनामा दिने लगायतका आन्दोलनका कार्यक्रम संघले तय गरेको छ ।
सरकारी चिकित्सकहरुले समायोजन ऐनलाई मिचेर सहसचिव स्तरका ११ औं तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी समायोजन गरिएको, ८ औं देखि १० औं तहका चिकित्सकलाई गाउँ र प्रदेशमै सीमित बनाउन खोजिएको लगायतका असन्तुष्टि सहित विरोध गरिरहेका छन् ।
