‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी सम्मेलनमा सहभागि हुन मन्त्री यादव दिल्लीमा



Download our app to get more features

काठमाडौं, १३ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आजबाट सुरु हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौथो सम्मेलनमा भाग लिन भारत पुगेका छन् ।

स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने उदेश्यका साथ आयोजित  सम्मेलनमा भाग लिन मन्त्री यादव आइतबार भारतको राजधानी दिल्ली पुगेका हुन् । 

सम्मेलनको पहिलो दिन आज विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइवर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गर्ने छन् । सम्मेलनको तेस्रो दिन प्रदर्शनीमा सहभागी हुने विभिन्न देशका सरकारी प्राज्ञ, अनुसन्धानकर्ता, उद्योगपतिका साथै स्वास्थ्य प्रविधिका क्षेत्रमा क्रियाशिल स्थायी २३ राष्ट्रहरुले प्रदर्शनीमा भाग लिने छन् ।

सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञहरुको सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सम्मेलनले एक अर्को राष्ट्रमा भएका आधुनिक प्रविधि तथा त्यसको सदुपयोगको ज्ञान साटासाट गर्न र स्वास्थ्य क्षेत्रमा नयाँ सूचना प्रविधि भित्र्याउन सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

Last modified on 2019-02-25 16:38:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts