पानीजन्य स‌ंक्रमणका कारण जाइडिया र भाइरल ज्वरो 

What's This?


Download our app to get more features

काठमाण्डौं, २४ जेठ । मौसममा देखिएको परिवर्तन हुन थालेपछि बालबालिकामा भाइरल ज्वरो, जाइडिया (परजीवीजन्य झाडापखाला) को सङ्क्रमण देखिन थालेको छ । 

बदलिँदो मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण बालबालिकामा भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । आच्छ्युँ गर्दा, नजिकै बस्दा, ज्वरो आएको व्यक्तिले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा यो रोग एकापसमा सजिलै सर्छ । 

विशेषगरी कमजोर शारीरिक अवस्था भएका बालबालिकामा रोगसित लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । परिणामस्वरुप हावामा तैरिरहने यसको जीवाणु मानिसको शरीरमा पस्दा त्यसले शरीरलाई कमजोर बनाई सङ्क्रमण निम्त्याउँछ । 
यसबाट ग्रसित बालबालिकामा आँखा रातो हुने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने, टाउको दुख्ने, ज्वरो आउने तथा पेट ढुस्स हुने, पेट काट्ने, दिसा पूरा नहुने, आउँ पर्ने र पटकपटक दिसा लागिरहनेलगायतका समस्या देखा पर्छन् । यसले बालबालिकामा बान्ता गराउने, खान मन नलाग्ने, पेट दुख्नेलगायतका समस्या उत्पन्न गराउँछ । 

‘हेर्दा सामान्यजस्तो देखिने यो संक्रमण कतिपय बालबालिकामा जटिल बन्दै गएको छ ।’ कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले भने, ‘प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा यसका कारण जाइडिया, टाइफाइड, निमोनिया, जन्डिसलगायतका अन्य समस्या देखिन थालेको छ ।’

बालबालिकालाई प्रदूषण तथा अशुद्ध पानीबाट टाढै राख्नु पर्ने चिकित्सकको भनाइ र विशेषगरी काठमाडौँमा हरेक दिन सङ्क्रमित बालबालिकाको सङ्ख्या बढिरहेको अवस्थामा यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । 

संक्रमित व्यक्तिको वरिपरि नगए, संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल भरसक अन्य व्यक्तिले प्रयोग नगरे तथा मुख छोपेर आच्छ्युँ गरेको खण्डमा पनि यो रोग अन्य व्यक्तिमा सर्ने खतरा कम हुन्छ । 

रासस
 

Last modified on 2016-06-06 16:35:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts