गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन किन ? यसरी ठग्यो कलेजले !



Download our app to get more features

काठमाडौं, १४ फागुन । पोखरास्थित गण्डकी मेडिकल कलेजका एमबीबीएस, विडीएस, नर्सिङ अध्ययनरत पहिलो, दोश्रो र तेस्रो वर्षका विद्यार्थी विगत २७ दिनदेखि आन्दोलनरत छन् ।

कलेजले भर्नाबापत मनोमानी शुल्क लिएको, लिएको शुल्कको बिल भौचर नदिएको र कलेजमा विभिन्न विकृति रहेको भन्दै अस्पतालको बहिरंग सेवा (ओपीडी) समेत बन्द गरेर विद्यार्थीहरु आन्दोलनमा उत्रिएको लामो समय भइसक्दा पनि समस्या समाधानको साटो उल्टो जटिल बन्दै गएको छ । लाखौं खर्च गरेर चिकित्सा शिक्षा पढ्न आएका विध्यार्थीहरु पढाइ छोडेर आन्दोलनमा होमिँदा र विश्वविद्यालयको वार्षिक परीक्षा समेत नदिँदा उनीहरुको भविष्यप्रति कलेज प्रशासन र राज्यको नियमनकारी निकाय गैरजिम्मेवार रहेको देखिको छ ।

कसरी सुरु भयो आन्दोलन

चिकित्साशास्त्र अध्ययन संस्थानको यस वर्षको प्रवेश परिक्षापछि एमबीबीएस, विडिएस, नर्सिङ लगायतका विद्यार्थीहरुलाई काउन्सिलिङपछि विभिन्न कलेज छनोट गरेर भर्ना हुन भनियो । कलेजले बढी शुल्क लिएको आरोप बढेपछी पछिल्लो समय आइओएमले कलेजको खातामै पैसा जम्मा गर्ने नियम बनाएको थियो । विद्यार्थीहरुले पैसा जम्मा गरेर भर्नाको निम्ती कलेजमा सम्पर्क राख्दा सबैलाई कुनै न कुनै बहानामा बढी शुल्क बुझाउन भनियो ।

अभिभावकहरुको विरोधपछि बढी शुल्क नलिने बताएपनी कलेजले एनएमसी रजिस्ट्रेसन फी, टीयु रजिस्ट्रेसन फी, ट्रान्स्पोर्टेसन फी, इन्टर्नसिप फी आदि बहानामा बढी शुल्क लिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । सुरुमा कलेजको लेखनाथस्थित वेसिक साइन्स ब्लकमा तालाबन्दीबाट सुरु भएको आन्दोलन अस्पतालको ओपीडी बन्द र रीले अनशनसम्म पुगिसकेको छ । आन्दोलनकै कारण एमवीवीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले वार्षिक परीक्षासमेत दिएनन् ।

आन्दोलन झन जटिल बन्दै

कलेजको अस्पताल बन्द भएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि समस्या समाधानमा चासो नदेखाएको आरोप लागेको कलेज प्रशासनले प्रहरीको सहयोगमा फागुन १३ गते सोमवार विद्यार्थीहरुले लगाएको ताला फोडेपछी अस्पताल दिनभर तनावग्रस्त रह्यो । विद्यार्थीहरुले पुनः ताला लगाउन अस्पताल हाताभित्र पसेपछी प्रहरीले धरपकड गरी भीडलाई तितरबितर बनाउने बनायो ।

सो क्रममा एकजना विद्यार्थी घाइते भएको र केहिलाइ सामान्य चोटपटक लागेको विद्यार्थीहरुले जनाएका छन् । अस्पतालभित्रै पुलिस प्रशासन छिरेर आतंक फैलाएको भन्दै कलेजका चिकित्सक, कर्मचारी र इन्टर्न डाक्टरहरुले खेद प्रकट गर्दै विद्यार्थीहरुको माग पूरा गरी चाडो समस्या समाधान गर्न माग गरेका थिए ।

विद्यार्थीहरुको प्रमाण

विद्यार्थीहरु कलेजले बढी शुल्क लिएको प्रमाण भन्दै सामाजिक संजालमा कलेजले दिएको बिल र भौचरहरु सार्वजनिक गरेका छन । कलेजले भ्याट र प्यान बिलको सट्टामा सादा कागजमा प्रीन्ट गरेर बिल दिएको, कलेजमा नाममा भन्दा आर्थिक शाखाको कर्मचारीको नाममा पैसा डिपोजिट गर्न भनेको आदि प्रमाणस्वरुप पेश गरेका छन् ।

यो बाहेक कलेजले कुनै प्रायोजन बिनानै हरेक वर्ष प्रत्येक विद्यार्थीबाट २ लाखको दरले एनुयल फी भनेर लिने गरेको छ ।विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लिएर कलेजले विध्यार्थीबाट चार वर्षमा ५१ करोड रुपैयाँ अनियमितता र भ्रष्टाचार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन ।

के भन्छ कलेज प्रशासन ?

विद्यार्थिहरुले कलेजले बढी शुल्क लिएको आरोप लगाइरहँदा कलेजका अध्यक्ष खुमा अर्याल भने बढी शुल्क नलिएको दावी गर्छन । टीयुले तोकेको शुल्कमा पढाउन नसकिने र केही शिर्षकमा आवश्यक शुल्क लिएको उनको दावी छ । उनले विद्यार्थीहरुलाई कसैले उचालेको र कलेज डुबाउने खेल भएको प्रतिक्रिया दिएका छन् ।

नियमक निकायको लाचारीपना आफ्नो सम्बन्धप्राप्त कलेजमा करिव एक महिनादेखि पढाई ठप्प हुँदा समेत त्रिभुवन विश्वविद्यालय र आइओएम भने मुकदर्शक बनेर बसेको छ । एउटा अनुगमन समिति गठन र एउटा विज्ञप्ति बाहेक कलेजको समस्या समाधान गर्न आइओएम तथा त्रिवीले ठोस पहल गरेको देखिएको छैन । देशको मेडिकल शिक्षाको नियमन गर्ने जिम्मा पाएको नेपाल मेडिकल काउन्सिलले पनि एउटा अनुगमन समिति गठन गरेको र सो समितिले विद्यार्थी र कलेज प्रशासनसंग छलफल गरेर काठमाडौं फर्किएको छ ।

चिकित्सा शिक्षामा व्यापारीकरण, राजनीतिक आड, मेडिकल कलेजका विध्यार्थीहरुको आन्दोलन नयाँ घटना हैन। विगतमा पनि विभिन्न मेडिकल कलेजमा विद्यार्थीहरुले यस्तै प्रकृतिको माग राखेर पटकपटक आन्दोलनमा उत्रिएका छन । कलेजले तोकिएभन्दा बढी शुल्क लिने, आवश्यक पुर्वाधार नबनाउने, इन्टर्नहरुलाइ न्यून पारिश्रमिक दिने आदि व्याप्त विकृतिहरुमा आन्दोलन हुनेगरेका छन । प्राय निजी मेडिकल कलेज संचालकहरुको राजनीतिक आडभरोसाको कारण मेडिकल शिक्षामा विकृती मौलाउँदै गएको छ । प्रा डा गोविन्द केसीको निरन्तरको अनशन पछि उजागर भएको नेपालको मेडिकल शिक्षाको विकृतिहरु जटिल रहेको विषय गण्डकी मेडिकल कलेजका विद्यार्थिहरुको आन्दोलनले पनि थप पुष्टि गर्छ ।

Last modified on 2019-02-27 07:03:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts