आफैलाई सहारा चाहिएको अवस्थामा छोरालाई मानसिक अस्पतालमा कुर्नु परेपछि....



Download our app to get more features

काठमाडौं, १४ फागुन । अनुहारमा पीडाको भाव प्रष्टै देखिन्थ्यो, साइली तामाङको ।

स्थायी घर सिन्धुली भएकी तामाङ लगनखेलस्थित मानसिक अस्पतालमा छिरेको महिना दिन बितिसकेको छ ।

२२ वर्षीय छोराको मानसिक सन्तुलन बिग्रिएपछि उपचारका लागि मानसिक अस्पतालमा छिरेकी हुन्,उनी ।

छोराको सहाराको आवश्यकता रहेको उमेरमा छोरालाई नै मानसिक अस्पतालमा कुर्नुपर्दा धेरै पीडा भइरहेको बताउँछिन्, साइली ।

मानसिक सन्तुलन गुमाएका आइते तामाङले चार कक्षा पढ्दापढ्दै छोडेको आमाले सुनाइन् । आर्थिक अभावकै कारण पढाई छाड्न बाध्यथिए, उनी ।

बुबाको पनि मृत्यु भइसेकेको आइते बूढीआमासँग दुःख गरेर दिन गुजार्दै आएका थिए । तर, ६ वर्षअघि देखि भने उनलाई मानसिक समस्या देखियो ।

६ वर्षदेखि नै आइतेले असमान्य व्यवहार देखाउन थालेको साइली सम्झिन्छिन् ।  उनका तीनजना दाजू छुट्टिएर बसिसकेका छन् भने तीन दिदीको पनि विवा हभइसकेको छ ।

‘१२ छोरा तेह्र नाति बूढा धोक्रो काधैँमाथि माथिभनेझैं, ३/३ जना जवान छोरा हुँदा पनि यत्रो बोझ एक्लैले व्यहोर्न परिरहेको दुखेसो पोख्छिन्, साइली ।

उनले अरु छोराहरुबाट केही सहयोग नपाएको गुनासो गरिन् ।

‘बूढा बितेको दुईवर्ष वितिसक्यो, भएका तीन ओटै छोरा आ–आफ्नै काममा व्यस्त छन्, कान्छो छोराको अवस्था यस्तो छ’, गहभरि आँसु पोख्दै साइँलीले वेदना बाँडिन् ।

विगत ६ वर्षदेखि छोराको असमान्य व्यवहार झेल्दै आएकी साइली भन्छिन्, ‘पहिले त कहिलेकाहि मात्रै अलि अनौठो खालको व्यवहार देखाउँथ्यो, आफैं निको होलानी भन्ने सोच्थे, तर त्यसको सट्टा झन्झन् बिग्रन थालेपछि अस्पताल ल्याउनुपर्ने अवस्था आयो ।’

पछिल्लो समय घरमा उमालिरहेको दुध नै आगोमा पोख्दिने, मन लागेको ठाउँमा आगो सल्काइदिने जस्तो व्यवहार आइतेले देखाएका थिए।

छोराको त्यस्तो व्यवहारले सुतिरहेको अवस्थामा एकपटक झन्डै आफैं डढेको घटना सम्झिइन्, साइलीले ।

चाउरिसकेको छाला, फुलेको कपाल घरमाआराम गरेर बस्नुपर्ने उमेरमा जवान छोराको अवस्था यस्तो भएपछि साइलीलाई जीवन देखेरै उराठ लाग्न थालेको छ ।

‘दुःख गरेर हुर्काए, मर्लाकि भन्ने कत्रो चिन्ताभयो, अहिले आफैंलाई मार्लाकि भन्ने अवस्थाआयो’, उनले पीडा व्यक्त गरिन् ।

राती नसुतेर अर्काको वार्डमा जाने, अरुको चप्पल खोस्ने, अरुले खान लागेको चिज पनि खोसेर खाने, एकै ठाउँमा बस्दै नबस्ने लगायतका व्यवहारले हैरान खेलाएको बताँउछिन्, आमा साइली।

कहिलेकाहि आफ्नै आमाले खानलागेको चिज पनि खोसेर खाइदिन्छन्, आइते ।

उनीखाने कुरा नदिएआमालाई नै झाँगलझँुगलपारेर पिट्ने समेतको अव्यवहार देखाउने गर्छन् ।

‘यत्रो भएको छोराले यस्तो व्यवहार देखाउँदा मनमा कताकता चसक्क घोच्ने बताउँदै साइलीले भनिन्, यस्तो अवस्था शत्रुलाई पनि आइनपरोस् ।’

गाउँलेको सुझावमा मानसिक अस्पतालमा महिना दिनअघि छिरेकि साईली छोराका लागि खानेबस्ने व्यवस्था अस्पतालले गरिदिएपनि दैनिक ५० रुपियाँभने अस्पतालाई तिर्नुपर्ने बताउँछिन् ।

दैनिक ५० रुपियाँबाहेक छोराका लागि औषधी पनि आफैले किनेर दिनुपर्ने हुँदा झन् समस्याभइरहेको छ, उनलाई ।

छोराका लागि त अस्पतालले व्यवस्था गरेको छ, उनलाई पनि बाँच्नकालागि दैनिक खानैपर्छ ।

अस्पताल परिसरमा निन्याउरो अनुहार लगाएर अरुले नैदिएको सुन्तला खाइरहेको अवस्थामा भेटिएकि साइली छोराकै साथमा थिइन् ।

मलिन स्वरमा उनले भनिन्, ‘ऋण गरेर ल्याएको पैसा पनि सकिएकोले दिउँस भोक लागे पनि खाजा खाने गरेकि छैन ।’

मानिसिक चिकित्सकले विरामी आइतेलाई विस्तारै निको हुने त बताएका छन्,तर साइलीलाई भने आर्थिक अभावकै कारण छोरालाई त्यसै घर फर्काउनुपर्ने होकि भन्ने चिन्ताले गलाएको छ ।

तितो सत्य, लगभग उस्तैउस्तै पीडा बोकेर साइली जस्तै थुप्रै पात्र मानसिक अस्पतालको परिसरमै यताउता गरिरहेका थिए ।

असामान्य व्यवहार देखाउनु ‘साइकोसिस’
मानसिक रोग दुई सयभन्दा बढी किसिमका हुने मानसिक रोग विषेशज्ञ (साइकाट्रिस्ट) रितेश थापा बताउँछन् । सामान्यतय मानिसलाई लाग्ने मानसिक रोग डिप्रेसन हो ।

औषधीको प्रयोगपछि डिप्रेसन रोग पुरै निको हुनसक्ने बताउँदै साइकाट्रिस्ट थापाले  यसबाहेक अन्य कडा खालका पुरै निको नहुने मानसिक रोग पनि हुने बताए  । उनकाअनुसार एकै ठाउँमा बस्न नसक्ने, एक्लै हाँस्ने, अनावश्यक शंका गर्ने, पिट्ने, रिसाउने जस्तो असामान्य व्यवहार देखाउने मानसिक रोगलाई ‘साइकोसिस’ भनिन्छ   ।

तर, साइकोसिस पनि विभिन्न किसिमको हुने साइकाट्रिस्ट थापाले बताए ।

‘विरामीले देखाउने लक्षण, कुन चरणको मानसिक विरामी हो त्यसअनुसार फरक हुन्छ’ उनले भने । ‘सिजोफ्रेनिया’ साइकोसिसकै एउटा प्रकार हो । प्राय यस्ता मानसिक विरामी हुने बताउँदै साइकाट्रिस्ट थापाले यसबाहेक अन्य ‘साइकोसिस’ का विरामि पनि हुने साइकाट्रिस्ट थापाले  बताए ।

उनका अनुसार साइकोसिसको प्रकार हेरेर मानसिक रोग कति हदसम्म निको हुन्छ भनेर थहापाउन सकिन्छ ।

‘यस्ता खालका मानसिक विरामीमध्ये २० प्रतिशले जीवनभर नै औषधी सेवन गर्नुपर्ने अवस्था पनि हुनसक्छ भने कसैलाई थोरै समय औषधिको प्रयोग गर्दा पनि हुन्छ, उनले भने ।

यस्ता रोग निको हुने/नहुनेमा मानसिक रोगी कुन चरणमा उपचार गर्न आएको छ, कस्ता औषधी प्रयोग गर्दै आएको छ लगायतका धेरै कुराले प्रभाव पार्ने साइकाट्रिस्ट थापाले बताए  । साथै पारिवारिक वातावरण, उसलाई गरिने व्यवहार, खानपान, जिवनशैलीले समेत प्रभाव पार्ने उनले प्रष्टाए  । 

उनकाअनुसार विशेषगरी साइकोसिसको पहिलो चरण करिब १५ देखि २५ वर्ष उमेरमा देखिन्छ । 

Last modified on 2019-02-27 07:11:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts