रामपुर अस्पताललाई पाँच लाखको सामग्री हस्तान्तरण



Download our app to get more features

बेझाड, १५ फागुन । रामपुर अस्पताललाई उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग प्राप्त भएको छ । इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पा र ह्युमन डेभेलपमेण्ट एकेडेमी पाल्पा एकाइद्वारा अस्पताललाई हेल्पिङ हेण्ड फर रिलाइफ एण्ड डेभेलपमेण्टको आर्थिक सहयोगमा उपचारका लागि आवश्यक सामग्री प्रदान गरिएको हो । 

रामपुर नगरपालिका र अस्पताल प्रशासनलाई रु पाँच लाख ३० हजार ६८० मूल्य बराबरको सामग्री प्रदान गरिएको छ । मङ्गलबार नगरपालिका प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र अस्पताल प्रशासनलाई एक कार्यक्रम गरी सामग्री हस्तान्तरण गरिएको हो । 

सामग्री बुझ्दै नगरप्रमुख थापाले बिरामीको उपचारमा ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्न अस्पताल प्रशासनलाई अनुरोध गरे। स्ट्यान बेसिन, सिरिन्ज, सर्जिकल सामग्री तथा वैशाखी, बेडकभर, सिरानीलगायतका ३२ प्रकारका सामग्री प्रदान गरिएको छ । अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सो सामग्री प्रदान गरिएको इस्लामिक सक्रिय युवा समाजका अध्यक्ष महम्मद इब्राहिमले बताए। 

समाजले केही वर्ष अगाडि पनि अस्पताललाई शय्या प्रदान गरेको थियो । संस्थाले यसअघि नगरपालिका वडा नं ४, ५, ६ र ८ का ११ विपन्न, दलित र गरीब घरपरिवारलाई प्रतिघरपरिवार चार माऊबाख्रा, एक बोका उपलब्ध गराएको थियो । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts