असुरक्षित गर्भपतन रोक्न चेतना वृद्धिमा जोड



Download our app to get more features

डोटी, १६ फागुन । जिल्लामा सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकायले जोड दिएका छन् । आइपास नेपालको सहयोगमा जिल्ला समन्वय समिति डोटीले सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् । 

असुरक्षित गर्भपतनका कारण महिलाले नै जोखिम मोल्नुपर्ने अवस्था रहेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताइन् । “गर्भपतन भन्ने बित्तिकै महिलाको सवाल हो, तर पुरुष पनि जिम्मेवार हुनुपर्छ”, उनले भनीन्, “पुरुषको सहमति नहुँदा महिलाले स्वेच्छाले केही गर्न सक्दैनन्, पुरुषकै दबाब र करकापमा परी महिला गर्नपतन गराउन बाध्य छन् ।” 

असुरक्षित गर्भपतनलाई सुरक्षित बनाउन र सकभर परिवार नियोजनका साधन प्रयोग गरी गर्नपतन गराउनु हँुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। उनले भने, “गर्भपतन गराउन पाइन्छ वा पाइँदैन भन्ने कुराको सबैलाई ज्ञान छैन, यो विषयमा सबैलाई ज्ञान हुन आवश्यक छ ।” 

जिल्लामा निजी मेडिकलबाट गर्भपतन गराउने औषधि सहजै पाइने भएकाले त्यसको रोकथाम गरिनुपर्ने सहभागीको माग थियो । “औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले मेडिकलमा गई अवैधरूपमा गर्भपतन गराउनेको सङ्ख्या बढेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए। 

सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाको दक्षता अभिवृद्धि तथा जनचेतनाका लागि कार्य गर्दै आएको जिल्लामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका संयोजक दीपा सिंहले बताइन्। जिल्ला अस्पताल डोटीका एमडीजिपी डा ग्रीस अवस्थीले असुरक्षितरूपमा औषधि खाइसकेपछि ज्यान जोखिममा परेका महिला पनि स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउने गरेको बताए। “पटक–पटक गर्भपतन गराउने पनि छन्”, उनले भने, “असुरक्षितरूपमा औषधि खाएर समस्या भएपछि अस्पताल आउने महिलाको सङ्ख्या बढी छ ।” 

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र करीब एक हजार ८९ महिलाले स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन् । जसमध्ये ३८३ ले जिल्ला अस्पतालबाटै गर्भपतन गराएका छन् । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts