वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेटको निर्णय



Download our app to get more features

धरान, १७ फागुन । पदीय दुरुपयोग गरेको भन्दै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार बर्खास्त गर्न सिनेटले कुलपतिलाई सिफारिस गरेको छ ।

प्रतिष्ठानको आज (शुक्रबार) सम्पन्न भएको सिनेट बैठकले उनलाई पदबाट बर्खास्त गर्न कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेको हो । प्रतिष्ठानको बिषयमा यसअघि छानबिन भएको २ वटा प्रतिवेदनको आधारमा उनलाई बर्खास्त गर्ने निर्णय गरिएको रजिष्ट्रार तुलबहादुर श्रेष्ठले बताए ।

करिब दुई वर्षको अवधिमा तीन ओटा छानविन कमिटिले पदीय दुरुपयोग गरेको ठहर गरेपछि सरकारलाई समेत उपकुलपतिलाई कारवाही गर्न नैतिक दवाव परेको थियो । रौनियारले यस अघि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री ओलीको निर्देशनमा दुई पटक बोलाइएको सिनेटलाई समेत बहिस्कार गरेका थिए भने तेस्रो पटक बोलाइएको सिनेट समेत प्रतिष्ठानको ऐन विपरित भएको भन्दै प्रधानमन्त्री कार्यालयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । प्रतिवेदनबारे उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका उपकुलति उपेन्द्र यादवले हिजोको मितिमा सिनेट बैठक बोलाएका थिए । हिजो पर्यटनमन्त्रीको निधनमा राष्ट्रिय शोक तथा सार्वजनिक विदा परेकोले बैठकले शोक प्रस्ताव पारित गर्दै आजलाई सारेको थियो ।

सहकुलपति एवं स्वास्थ्य मन्त्री यादवको अध्यक्षतामा आज बसेको बैठकले उपकुलपतिलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

Last modified on 2019-03-02 07:18:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts