करोडको लागतमा भैरहवामा ब्लड बैंक स्थापना हुने, मोटरसाइकलमा रगत लिएर उपचार गराउनुपर्ने बाध्यता हट्दै



Download our app to get more features

काठमाडौं, १७ फागुन । एक करोडको लागतमा भैरहवामा ब्लड बैंक स्थापना हुने भएको छ ।

आर्थिक हबको रुपमा विकसित भइरहेको रुपन्देहीको सदरमुकाम भैरहवामा ब्लड बैंक बन्ने भएको हो । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस र रगतका लागि भैरहवा बाहिर धाउन नपरोस भन्ने उद्धेश्यले सिद्धार्थनगर नगरपालिका–३ स्थित मेडिकल कलेज जाने बाटो सकुनी पथमा ब्लड बैंक निर्माण हुन लागेको हो । ब्लड बैंक लायन्स क्लब भैरहवाको अगुवाइमा निमार्ण हुन लागेको हो । सिद्धार्थनगर नगरपालिकाको नगरसभाको निर्णयबाट उपलब्ध भएको साढे १ कठ्ठा जग्गामा ब्लड बैंक निमार्ण हुन लागेको क्लबका अध्यक्ष रबिन्द्र शर्मा घिमिरेले जानकारी दिए ।

भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको नजिकै ब्लड बैंक निर्माण गर्न लागिएको उनले बताए । रेडक्रसले सञ्चालन गर्दै आएको ब्लड बैंक अब लायन्सले पनि सञ्चालन गर्ने भएको छ, उनले भने । रगतको आवश्यकता भएका विरामीहरुले बुटवलबाट मोटरसाइकलमा रगत लिएर उपचार गराउनुपर्ने बाध्यता थियो, जुन पीडादायी पनि थियो, त्यसको अन्त्यको लागि नै अभियान सञ्चालन गदैछौं, सबैको सहयोग रहने कुरामा विश्वस्त छौं, शर्मा घिमिरेले भने । भैरहवा सिद्धार्थनगरमा केही गरौं भन्ने सोच राखी ब्लड बैंक स्थापना गर्ने अभियानमा लागेको लायन्स क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए । यो ब्लड बैंक भैरहवा लायन्स क्लब नभई सबैको हो भनी सोच्नुपर्छ, क्षेत्रीले भने ।

ब्लड बैंकले १ कठ्ठा जग्गा ओगटने, दुईतल्ले भवनमा निर्माण हुने र यसको लागत करिब सवा १ करोड हुने ब्लड बैंक निर्माण समितिका संयोजक हेमन्त अग्रवालले जानकारी दिए । भवनमा फ्रिज, जेनेरेटर, ल्याब परीक्षण पार्किङ सुविधा, भण्डारण कक्ष, बाथरुम, ट्रान्सफर्मर लगायतका उपकरण जडान गरिने पनि उनले जानकारी दिए । रगतको लागि बुटवल जाने बाध्यता थियो, अब त्यो समस्याको अन्त्य गर्ने अभियानमा छौं, उनले भने । वृहत रुपमा अत्याधुनिक ब्लड बैंक सञ्चालन गर्ने हाम्रो उद्धेश्य छ, अग्रवालले भने । ब्लड बैंक निर्माण आगामी दशैं सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ब्लड बैंक भवनको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । कार्यक्रममा सहभागि सबैले ब्लड बैंकको स्थापना हुनुु प्रशंसनीय भएको बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts