बजेट अभावमा जस्ताको टहरामै स्वास्थ्य चौकी



Download our app to get more features

मेलम्ची, २० फागुन । पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ गुन्सामा भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जस्ताको टहरामै स्वास्थ्य चौकी रहेको छ । 

भूकम्पले क्षति पु¥याएको गुन्साकोट स्वास्थ्य चौकी भवन बजेट अभावले निर्माण हुन नसक्दा अझै टहराबाटै स्वास्थ्य सेवा दिन बाध्य भएको हो । भवन निर्माणको लागि जग्गाको व्यवस्थापन भए पनि बजेटको अभावमा निर्माण हुन नसक्दा स्वास्थ्य सेवा दिन कठिनाइ भइरहेको वडा अध्यक्ष काले गोलेले जानकारी दिए । 

दुई कोठाको टहराबाट स्वास्थ्य सेवा दिन र औषधि भण्डारण गर्न समेत समस्या परेको अध्यक्ष गोलेको भनाइ छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वडामध्ये ७ ओटामा प्रि फाइब अस्थायी स्वास्थ्य चौकी भवन निर्माण भएका छन् ।

वडा नम्बर ५ को गुन्साकोट स्वास्थ्य चौकी भवन निर्माणको लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा प्रस्ताव पेश गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । उनका अनुसार ८ वटै वडामा पक्की स्वास्थ्य चौकी भवन निर्माण गर्न गाउँपालिका लागिपरेको छ । 

भूकम्पअघि जिल्लामा १ अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र र ७९ स्वास्थ्य चौकी रहेकामा भूकम्पका कारण ८० प्रतिशत स्वास्थ्य चौकीमा क्षति पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख डाक्टर पोमावती थापाले जानकारी दिए । 

स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुअघि १४ वटा स्वास्थ्य चौकी निर्माण भएको र हाल के कति पुनर्निर्माण भए सो बारे स्थानीय तहले जानकारी नगराएको समेत उनले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts