बेवारिसे बिरामीको साथीः खिना भुजेल



Download our app to get more features

काठमाडौं, २१ फागुन । जब काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको वार्डमा पुगिन्छ त्यहाँ नियमित बाहेक एउटा बेग्लै दृष्य देख्न पाइन्छ । अस्पतालको वार्डहरुमा निशुल्क वेड भनेर संकेत गरिएका वेडहरुमा भ्याइनभ्याइ बिरामीहरुको सेवा गरिरहेकी भेटिन्छिन्, खिना भुजेल ।

अस्पतालको यस्ता निशुल्क वेडमा प्राय वेवारिसे बिरामीहरु हुने गर्दछन् । जसलाई सडकमा भेटेर प्रहरीले अस्पतालसम्म ल्याएर छोडिदिन्छ । यस्ता वेवारिसे बिरामी यस अस्पतालमा मात्र नभइ ट्रमा सेन्टर नजिकै रहेको वीर अस्पतालदेखि लिएर देश अरु ठूला सरकारी अस्पतालमा पनि हुने गर्दछन् । सामान्य खेतिपाती गरेर आफ्नो गुजारा चलाउने परिवार भएकाले नोकरीको शिलशिलामा काठमाडौंसम्म आएकी हुन् खिमा। कामको खोजीको क्रममा स्वास्थ्य मन्त्रालयले सामाजिक सुरक्षा इकाइ अन्तर्गत विभिन्न अस्पतालमा सहजकर्ता नियुक्त गर्दा उनले बेवारिसे बिरामीको हेरचाह गर्ने जिम्मेवारी पाएकी हुन् ।

एसएलसीसम्मको अध्ययन गरेकी उनले कलेज जाने मन भएपनि घरको आर्थिक अवस्थाका कारण थप पढ्न नपाएको दुखेसो सुनाइन् । बेवारिसे विरामीको हेरचाह गर्ने कामले सेवा गर्ने अवसर मिलेकोमा उनलाई थप खुशी मिलेको छ । सेवा गर्न सानै उमेरदेखिको चाहना भएकाले पनि काममा रमाएको उनले बताइन् । उनी डेढ वर्षदेखि अस्पतालमा आउने र बेवारिसे बिरामीको सेवा गर्ने गर्छिन ।

अस्पतालसम्म आइपुगेका बिरामीलाई खुवाउने, उठाउने, सुताउनेदेखि लिएर शैचालयसम्म उनी एक्लै पुर्याउँछिन् । अस्पतालमा अर्को कोहि छैन, उनको काममा सघाउने । अहिले अस्पतालमा ६ जना बेवारिसे बिरामी रहेका छन् । उनी विहान ९ वजे अस्पताल आइपुगेर ५ बजेसम्म बिरामीको सेवा खट्छिन् । सहयोगी नहुँदा समस्या बेवारिसे बिरामीहरु प्राय पुरुष रहेका छन् । उनले भनिन् 'महिला बिरामी कहिलेकाँही एकदुई जना मात्र हुने गर्दछन् ।' कतिपय बिरामीहरुलाई एताउता पल्टाउनु पर्ने हुदाँ, त्यस्तो अवस्थामा धेरै नै गाह्रो हुने उनले सुनाइन । उनले भनिन् 'एक जना केटा मान्छे पनि यस कामको लागि भएको भए धेरै सजिलो हुन्थ्यो । अस्पताल वा सरकार जसले भएपनि व्यवस्था गरे राम्रो हुन्थ्यो ।'

आत्मसन्तुष्टि छ तर, बिरामीले जस दिँदैनन्

अस्पताल  आफन्त नभएका बिरामीहरु देख्दा आफ्नै आमा बाबा र दाजु दिदी जस्तो लाग्ने गर्छ । खिनाले भनिन् 'सबैलाई आफ्नै सम्झेर माया गरी आफुले सकेसम्मको सेवा गर्छु तर सबै उस्तै कहाँ हुन्छन र सेवा पनि सहँदैनन् कोही कोही त ।' बेवारिसे विरामी ठिक भइसकेपछि अस्पतलाले पुनस्थापना गर्छ । त्यसबेला बिरामीलाई गाडी चढाउनसम्म उनी आफ्र पुग्छिन्। कति बिरामीले अस्पतालमा रहुन्जेल आफ्नै जस्तो गरि माया गर्ने गरेको पनि उनले सुनाइन ।

अस्पतालका नर्सले बेवारिसे बिरामीलाई हेर्दैनन्

अस्पतालका नर्सहरुले बेवारिसे बिरामीलाई हेर्ने मान्छे छँदै छ नी भनेर वास्ता नगर्ने गरेको उनले बताइन् । बिहान नौ बजेदेखि बेलुका ५ बजे सम्मको अवधिमा अस्पतालका कसैले पनि बेवारिसे बिरामीलाई समस्या पर्यो भने सहयोग गर्दैनन्। खीमालाई नै खोजेर बस्छन् । उनले भनिन 'सबै बेवारिसे बिरामी एकै वार्डमा हुँदैनन। एकातर्फ हुँदा अर्को तिरको बिरामीलाई केहि समस्या भइरहेको हुन्छ । एकै समयमा सबै तिर पुग्नसक्दिनँ ।' यस्तो अवस्थामा कतिपय नर्सहरुले बेवारिसे बिरामीलाई सहयोग नगरेको उनले गुनासो गरिन् ।

प्ररणाको स्रोत अस्पताल प्रशासन

अस्पताल प्रशासनले भने सँधै उत्साह थपेको बताउँछिन खिना । सबै जनाले आफ्नो कामलाई सम्मान दिएकाले आफुपनि काममा समर्पित भएको उनले सुनाइन् ।

समाजको दृष्ट्रि

दृष्य एउटै तर दृष्टि फरक हुन्छ । बेवारिसे बिरामी भन्ने वित्तिकै नराम्रो सोच पैदा गर्ने नेपाली समाजमा उनी एक उदाहरणीय व्यक्ति बनेकी छन् । उनले समाजले आफ्नो कामलाई लिएर नराम्रो कुरा नगरोस् भनेर कामको प्रवृतिबारे खुलेर साथिभाई, आफन्त र छिमेकीलाई सुनाएकी छैनन् । उनले घरमा बाबाआमा र दाईलाई भनेकी छिन् , बाहिरी मान्छेलाई भनेकी छैनन्। स्वास्थ्य मन्त्रालयले अस्पताल अनुसार सहजकर्ता ब्यवस्था गर्ने गरेको छ । तीनै सहजकर्ता मध्येबाट उनी एक जनालाई अस्पतालले बेवारिसे बिरामी हेर्ने जिम्मा दिएको राष्ट्रिय ट्रमा सेन्टरका सामाजिक सेवा इकाईका प्रमुख अर्जुन भेटवालले जानकारी दिए ।

Last modified on 2019-03-06 07:03:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts