एक व्यक्तिको अंगदानबाट ८ बिरामीले पाउँछन् नयाँ जीवन

डढेर जाने अंगदान गरे जीवनको आश मारेकालाई पुनर्जीवन !



Download our app to get more features

काठमाडौं, २१ फागुन । मृत्युपछि जलाइने अंग पहिला नै दान गरेमा कसैको जीवन बच्छ भन्ने कतिपयलाई थाहा नहुन सक्छ । कतिपयले थाहा भएर पनि बेवास्ता गरेका हुनसक्छन् ।

अधिकांश व्यक्ति विभिन्न भ्रम बोकेर आफ्नो शरिरको कुनै अंगदान गर्नुनहुने भनेर पनि सोचिरहेका हुन्छन् । तर, एक व्यक्तिले आफ्नो खेर जाने अंगदान गरेमा ८ जना बिरामीले नयाँ जीवन पाउन सक्छन् । डढेर जाने अंगदान गरे जीवनको आश मारिसकेका व्यक्तिले पुर्नजीवन पाउने भन्दै अंगदान सम्बन्धी सचेतना अभिवृद्धिमा जोड दिन शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका अध्यक्ष पुकारचन्द्र श्रेष्ठले मरणोपरान्त अंगदानमा अभियान चलाउन पर्ने बताउँछन् ।

नेपाल औषधि उत्पादक संघले चितवनमा आयोजना गरेको अंगदान अभियान सहितको फर्मा एक्स्पोमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले कानुनी रुपमा सहज भैसकेको मरणोपरान्त अंगदान सम्बन्धी विषयमा धेरै भन्दै धेरैले बुझ्न जरुरी रहेको आवश्यक्ता औंल्याए । 

उनले छाला, मुटु, मिर्गौला, फोक्सो, आँखा, मुटुलगायतका बिरामीलाई आवश्यक पर्न सक्ने अंगदान गरे जीवनमरणको दोसाँधमा रहेका व्यक्तिले पुर्नजिवन पाउने बताए ।‘यो पुण्य कमाउने सामाजिक अभियान हरेक घरघरमा पुर्याएर परामर्श गर्न आवश्यक छ’ उनले भने ।

अंगदान गर्दा लिङ्ग विभेद समेत हुनेगरेको पनि अध्यक्ष श्रेष्ठले बताए ।उनी भन्छन्, ‘कुनै घरमापुरुष सदस्य मृर्गौलाको बिरामी छ भने, एउटी महिलाले आफ्नो श्रीमान्लाई पुनर्जीवन दिन मिर्गौलादान गर्छिन्, तर एउटी महिलामा सोही समस्याभए पुरुषले धेरै काम गर्नुपर्छ भनेर पन्छिने गर्छन् ।’उनले यस्ता व्याप्त कुरीति हटाएर बिना विभेद अंगदान गर्न सुझाव दिए । नेपालमा हाल आँखाको दान र प्रत्यारोपण प्रभावकारी बनाउन आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए । 

उनले भने ‘एउटा अंग फेल भएको एक विरामी कुनै घरमा भए, त्यस घरमा सबै सदस्यलाई अत्यन्तै पीडा भइरहेको हुन्छ, तर मरेर जानेको त केही जाँदैन, बरु आफ्नो अंग त्यस्ता व्यक्तिलाई दान गरे पुण्य कमाइन्छ ।’
नेपाल सरकारले अंग प्रत्यारोपणका लागि लगानी र कानूनी व्यवस्थालाई सहज  गर्दै आइरहेको भन्दै अध्यक्ष श्रेष्ठले आममानिसले यसबारे बुझेर आफैं लाग्नुपर्ने बताए । उनले अन्य विकसित देशमा समेत अंगप्रत्यारोपण जस्तो महान काम नहुने तर, नेपालमा हाल सम्म हुँदै आइरहेकोमा अंग प्रत्यारोपण शतप्रतिशत सफल भईरहेको दाबी पनि गरे ।

केन्द्रले विगत ६ वर्षदेखि ५ सय ८० जनाको सफलतापुर्ण अंग प्रत्यारोपण गरिसकेको तथ्यांक उनले पेश गरे । अंग प्रत्यारोपण सेवामा नेपाल आत्मनिर्भर हुने बताउँदै उनले भने ‘अंग प्रत्यारोपण गर्न बाहिर जान नपारोस्, नेपालभित्रै आवश्यक अंग प्रत्यारोपण गर्न सकौं।’

नेपालमा प्रत्येक वर्ष ३ हजारको मिर्गौला, १ हजारको कलेजो सहित विभन्न अंग प्रत्यारोपण आवश्यक पर्छ । महिनामा २ हजार जनाको मशितस्क मृत्यु हुने गरेको छ । मरणोपरान्त अंगदानको चेतना बढाउन सक्ने मृत व्यक्तिको अंगबाटै ठूलो संख्यामा मानिसलाई नयाँ जीवनदिन सकिन्छ । पश्चिमी मुलुकहरुमा हुने अंग प्रत्यारोपणको ८० प्रतिशत मश्तिष्क मृत्यु भएकाहरुबाट हुने गरेको छ । तर नेपालमा कानूनी प्रवन्ध रहेपछि नगण्य रुपमा मतिष्क मृत्यु भएकाहरुको अंग निकालेर प्रत्यारोण गरिएको छ ।
 

Last modified on 2019-03-07 16:27:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts