राष्ट्रपति महिला उत्थान कार्यक्रमले जाेगायाे ६ महिला, यी जिल्लाका महिलाकाे हुन्छ हेलिकाेप्टरबाट उद्दार



Download our app to get more features

काठमाडौं, २४ फागुन । राष्ट्रपतिको नाममा संचालनमा ल्याइएको महिला उत्थान कार्यक्रमले छ जना जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्दार गरेको छ । नेपाल सरकारले राष्ट्रपतिको नाममा हालसम्म दुई कार्यक्रमहरु संचालनमा ल्याएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम २०७३ सालमा सुरु भएको हो । कार्यक्रम सुरु भएको दुई वर्षपछि मात्र दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्दार सम्बन्धि कार्यविधि २०७५ बमोजिम उद्दार कार्य सुरु गरिएको हाे ।

यस्ता अवस्थाका महिलाहरुको उद्दार

अत्याधिक रक्तश्राव

यसरी उद्दार गरिएका महिलाहरुमा धेरैलाई अत्याधिक रक्त्तश्राव भएको देखिन्छ । यस कार्यक्रम अन्तर्गत सबैभन्दा पहिले हुम्लाकी २२ वर्षीया नीरा शाहीको गत पुस ६ गते नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरी मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत लगिएको थियो । सुत्केरी भएको एक हप्तापछि अत्याधिक रक्तश्राव भएकोले उद्दार गरिएको हो । त्यस्तै २०७५ माघ ८ गते अत्याधिक रक्तश्रावकै कारण तेह्रथुमकी ३६ वर्षीय लोक कुमारी लिम्बुको उदार गरीएको थियो । उनको तेह्रथुम जिल्ला अस्पतालमा ज्यान जोखिममा पर्ने देखिएकाले थप उपचारका लागि कोशि अञ्चल अस्पताल लगिएको थियो । त्यसैगरी फागुन ८ गते बाजुराकी २२ वर्षीया अञ्जना बोहोराको पनि नेपाली सेनाको हेलिकप्टर मार्फत उदार गरिएको थियो । उनको सुत्केरी भई सालनाल निस्कन नसकेको अवस्थामा र रक्तश्राव अत्याधिक भएको अवस्थामा उदार गरी सेति अञ्चल अस्पताल धनगढी ल्याइएको हो ।

सुत्केरी हुन नसक्दा

स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भै ज्यान जोखिममा परेकी ४२ वर्षीया शान्ती बुढाको पनि सेनाको हेलिकप्टर मार्फत उदार गरिएको छ । उनलाई थप उपचारको लागि मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेत ल्याइएको हो । उनलाई २०७५ फागुन ७मा डोल्पाको काईके गाँउपालिकाबाट उदार गरिएको थियो । त्यसैगरी गर्भवती भएको आठ महिनामा शरीर सुनिएर स्थानीय तहमा उपचार हुन नसक्दा माघ २८ गते धादिङकी २१ वर्षीय रोमी विकको उद्दार गरि काठमाडौं ल्याइएको थियो । र महिना नपुगी बच्चा जन्मिएको तथा बच्चाको तौल कम भएको अवस्थामा दोलखाबाट २० वर्षीय बिन्दा भूजेललाई पनि उद्दार गरी काठमाडौं ल्याइएको थियो ।

के हो राष्ट्रपति महिला उत्थान कार्यक्रम

नेपाल सरकारले महिलाको आर्थिक सामाजिक सशक्तीकरण र विकासमा प्रभावकारी सहभागिता सुनिश्चित गर्नको लागि बि सं२०७३ देखि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को सुरुवात गरेको छ । यो कार्यक्रमको उदेश्य राष्ट्रनिर्माणको सबै तहमा महिलाहरुको समान सहभागिता र नेपाली महिलाको आर्थिक विकास, सामाजिक सम्मान र सार्वभौमसत्ताको प्रबर्धन गर्नु हो । यो कार्यक्रम महिलाको आर्थिक सशक्तीकरण गर्न, शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा पहुंच बढाउन र चेलीबेटी बेचबिखन र सामाजिक कुरीति जस्ता लैगिक हिंसाको अन्त गर्न केन्द्रित छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन गर्ने क्रममा नेपाल सरकारले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय मार्फत चालु आर्थिक बर्षको लागि करिब दश करोड रुपैंया निकासा गरेको छ ।

हवाई उद्दार कार्यक्रम लागु हुने जिल्लाहरु

दुर्गम हिमाली तथा पहाडी क्षेत्रका दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक (पाँचपोखरी , हेलम्बु, जुगल गा.पा.) रसुवा, धादिङ (रुबीभ्याली गा.पा.) गोरखा, (सुलिकोट, आरुघाट, सिरानचोक, गण्डकी, अजिरकोट धार्के र चुमनुब्री गा. पा), बाग्लुङ ( ढोरपाटन न.पा., गलकोट न.पा., बडिगाड गा. पा, निसिखोला गा. पा, बरेङ गा. पा, ताराखोला गा. पा, काठेखोला गा. पा, तमानखोला गा. पा र जैमुनी न.पा.), मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम र सल्यान जिल्लामा हवाई उद्धार कार्यक्रम संचालन हुनेछ ।

उद्दार गरिएका महिलाले कँहा र कुन अस्पतालबाट सेवा पाउँछन् 

प्रदेश नं १ : कोशी अञ्चल अस्पताल, मोरङ

प्रदेश नं. २ : सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल जनकपुर, नारायणी उप क्षेत्रीय अस्पताल पर्सा, विरगन्ज

प्रदेश नं. ३ : परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथली, भरत्तपुर अस्पताल चितवन

गण्डकी प्रदेश : पश्चिमा अञ्चल क्षेत्रीय अस्पताल, पोखरा

प्रदेश नं. ५ : लुम्बिनी अञ्चल अस्पताल, राप्ती उप क्षेत्रिय अस्पताल, भेरी अञ्चल अस्पताल बाँके नेपालगंज

कर्णाली प्रदेश : कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्ला, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत

सुदुरपश्चिम प्रदेश : सेती अञ्चल अस्पताल धनगढी ।

कसरी हुन्छ उद्दार कार्य

स्थानीय तहमा उद्दार कार्य गर्नका लागि गाउँपालिका तथा नगरपालिकाको अध्यक्षको संयोजकत्वमा सिफारीस समिति गठन गरिने छ । जसमा गाउँपालिका तथा नगरपालिकाको प्रसाशकिय अधिकृत -सदस्य, सम्बन्धित वडाको अध्यक्ष -सदस्य,स्थानीयतहको क्षेत्रमा रहेको प्रहरी कार्यलय प्रमुख -सदस्य र स्थानिय स्वास्थय संस्थाको सदस्य सचिब रहने छन् । समितिले आफ्नो जिल्ला भित्र रहेका अस्पताल र त्यँहा उपलबध प्रसुति सेवा समबन्धि जानकारी अध्यावधिक गर्ने र समन्वय समितिलाई जानकारी गराउने छ ।

त्यसैगरी आफ्नो क्षेत्रमा ज्यान जोखिममा परेका महिला वा उनको परिवारका सदस्यले दिएको निबेदन बमोजिम हवाई उद्दारको लागि सिफारिस गर्ने छ । यसरी सिफारिस गर्दा आफ्नो स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने भनी स्वास्थ्य संस्था प्रमुख र स्वास्थ्य संस्थाको डाक्टर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेव वा अनमी मधये कम्तिमा २ जनाको संयुक्तरुपमा सिफारीस पुर्जी दिएको हुनुपर्ने लगाएतको प्रावधान रहेको छ ।

Last modified on 2019-03-10 01:54:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts