नेपालमा महिनावारीका बेला हुने महिलाको खर्च पाकिस्तानपछि दोस्रो स्थानमा



Download our app to get more features

बीबीसी, २५ फागुन । महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले गरेको एउटा विश्लेषणमा देखिएको छ । त्यो विश्लेषणका लागि एशियाका विभिन्न १८ देशबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।

औसतमा नेपाली महिलाहरूले आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने गरेका छन् । यो एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर (०.२२५) र दक्षिण कोरिया (०.३४५) भन्दा झन्डै दश गुणाले बढी खर्च हो ।

यो रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकमजति नै हो ।

यो विश्लेषण खुद्रा पसलमा बिक्री हुने स्यानिटरी प्याड, दुखाइ कम गर्ने औषधि र डन्डीफोर आउँदा लगाउने क्रिमको मूल्यका आधारमा गरिएको छ । विशेषज्ञहरूका अनुसार यी सामग्री सामान्यतया प्रत्येक चक्रमा सात दिन प्रयोग गरिन्छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषले देखाएको विभिन्न देशको पर्जेजिङ पावर प्यारिटी (पीपीपी)को दरलाई आधार मानेर मूल्यको समायोजन गरिएको छ । त्यसपछि उक्त देशका महिलाहरूको औसत मासिक आय सँग तुलना गरिएको छ ।

नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन् । यो रकमले काठमाण्डूमा तीनवटा शयनकक्ष भएको अपार्ट्मेन्टमा सात महिनाको भाडा तिर्न पुग्छ ।

त्यति रकमले एउटी महिलाले सप्ताहान्तमा हलमै गएर झन्डै पाँच सयवटा चलचित्र हेर्न सक्छिन् । हरेक सप्ताहान्तमा चलचित्र हेर्न जाने हो भने उक्त रकम १० वर्षका लागि पर्याप्त हुन्छ ।

तलको क्याल्कुलेटर प्रयोग गरेर विभिन्न देशका महिलाले महिनावारी हुँदा गर्नुपर्ने खर्चको बारेमा थाहा पाउन सकिन्छ ।

नेपालमा डिस्पोजेबल स्यानिटरी प्याड महँगो छ । उदाहरणका लागि नेपाली महिलाहरूले भारतीय महिलाहरूको तुलनामा झन्डै दुई गुणा खर्च गर्छन् । वास्तवमा नेपालमा धेरै महिलाहरू निकै कम खर्च गर्छन्। तर यो खुसी हुने विषय हैन ।

स्यानिटरी प्याडको खर्च धान्न नसक्ने हुँदा उनीहरू कम खर्च गर्छन् र स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाउँछन् । यसो गर्दा आर्थिक भार नपरे पनि अरू किसिमले मूल्य तिर्नुपर्छ ।

“अधिकांश महिलाहरू सारी वा कपडा प्रयोग गर्छन् वा खुल्ला रूपमा रगत बगाउँछन् । फोहर कपडाको बारम्बार प्रयोग गर्ने वा अनुपयुक्त रूपमा धुने, सुकाउने र राख्ने प्रक्रियाले मूत्रनलीमा सङ्क्रमण हुन सक्छ,” ब्रटिश अक्याडमीको आर्थिक सहयोगमा अनुसन्धान गरेका डा. केय स्टयान्डिङ र डा. सारा पार्करले प्रतिवेदनमा भनेका छन् ।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न नसक्दा उनीहरू हेपिन्छन् । तसर्थ त्यस्तो अवस्थामा उनीहरू छाउपडी भनिने पुरानो प्रचलनअनुसार गाईगोठ वा छाप्रोमा छुट्टै बस्न बाध्य हुन्छन् ।

सन् २०११ मा संयुक्त राष्ट्रसङ्घले पश्चिम नेपालका ग्रामीण भेगमा उल्लेख्य सङ्ख्यामा महिलाहरूलाई छाउपडी मान्न बाध्य पारिएको बताएको थियो । सो परम्परालाई नेपाल सरकारले गैरकानुनी घोषणा गरिसकेको छ ।

व्यक्तिगत खर्चको मूल्य महिनावारीका बेला एउटा चक्रमा प्रयोग गरिएको सामग्रीलाई ४ सय ८० ले गुणन गरेर पत्ता लगाइन्छ जुन राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार एउटी महिला आफ्नो जीवनकालमा महिनावारी हुने औसत सङ्ख्या हो ।
 

Last modified on 2019-03-09 14:15:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts