सुत्केरी भत्ता नपाएको झोकमा स्वास्थ्यकर्मी कुटपिट गर्ने दम्पती पक्राउ



Download our app to get more features

रसुवा, २६ फागुन । रसुवामा स्वास्थ्यकर्मी कुटपिट गर्ने एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको नौकुण्ड गाउँपालिका २ यार्सास्थित यार्सा स्वास्थ्य चौकीमा कार्यरत नेप्लीसा पुन मगरलाई कुटपिट गरेका दम्पतीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका २ यार्साका ५० वर्षीय दावा नेमा तामाङ र उनको श्रीमती ४३ वर्षीया किता रानी तामाङ रहेका छन् । 

तामाङको भाई बुहारी गत साउनमा सुत्केरी भएकी थिइन् । स्वास्थ्यचौकी ल्याउन सक्ने अवस्था नरहेपछि अ.न.मी मगरको टोलिले घरमै गएर सुत्केरी गराएका थिए । त्यसपश्चात मगरलाई स्वास्थ्य चौकीले उपलब्ध गराउने सुत्केरी भत्ता उपलब्ध गराउन दवाव दिँदै आएका थिए । पाउनुपर्ने रकम मगरले लिएको र आफुहरुलाई नदिएको भनि तामाङ दम्पतिले गालीगलौज गरी बिहिबार साँभm मगरलाई कुटपिट गरेका थिए । 
कुटपिट गरिएपनि मगरको शरीरमा बाहिरी चोट नदेखिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए । 

नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सुत्केरी भत्ता उपलब्ध गराउने गर्दछ । तर, घरमा सुत्केरी गराएकालाई सुत्केरी भत्ता दिन नमिल्ने स्वास्थ्य चौकिले जनाएको छ । पक्राउ परेका दम्पतीलाई अनुसन्धान गरि सार्वजनिक हितबिरुद्धको कसुर अनुसारको सजाय हुने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ  ।

Last modified on 2019-03-11 06:48:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts