लेखापाल नहुँदा सुत्केरी भत्ता रोकियो 



Download our app to get more features

पर्वत, २८ फागुन । अस्पतालमा सुत्केरी हुँदा महिलाहरुले दुई हजार र नियमित जाँच गरे ८ सय रुपैयाँ पाउनुपर्ने हो । तर, पर्वत अस्पतालमा सुत्केरी हुने महिलाहरुले उक्त सुविधा पाउन सकेका छैनन् । विगत चार महिनादेखि सुत्केरी महिलाहरुले भत्ता पाएका छैनन् ।

स्वास्थ्य कार्यालयमा लेखापाल नहुँदा सुत्केरीले पाउने भत्ता कोलेनिकामा रोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत लेखापाल लक्ष्मण गौतम सरुवा भएर गएपछि लेखा सम्बन्धि काम रोकिएका छन् । अस्पतालमा अर्को लेखापाल आइपुगेका छैनन् । लेखापाल नहुँदा निकाशा रोकिएर सुत्केरी भत्ता वितरण हुन नसकेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । मंसिरदेखि प्रसुती भएका महिलाहरुले भत्ता र यातयात भाडा बापतको रकम पाउन नसकेका हुन् ।

अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकाशा नभएको जानकारी दिएको छ । कुश्मा नगरपालिका अन्तर्गत रहेको जिल्ला अस्पतालमा गएको कात्तिक महिनासम्म नगरपालिकामार्फत् रकम भित्रिएको र गण्डकी प्रदेश मातहतमा जिल्ला अस्पताल गाभिएपछि कार्यरत लेखापाल सरुवा भएपछि रकम निकाशा रोकिएको हो । तर,जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा।सन्तोषी थपलियाले भने गण्डकी प्रदेश सरकारसँग रकम माग गरिएको र अख्तियारी नआइसकेकोले सुत्केरी भत्ता दिन नसकेको बताइन् ।

साउन महिनादेखि हालसम्म जिल्ला अस्पताल पर्वतमा मात्रै दुई सय ७५ जना सुत्केरी भएको तथ्याङक छ । कात्तिकसम्म नगरपालिकाबाट प्राप्त रकम ४ लाख ५० हजार सुत्केरी भत्ता र यातयात भाडाका रुपमा वितरण गरिसकिएको अस्पताल स्रोतले बताएको छ । पर्वतमा एउटा जिल्ला अस्पतालसहित ५२ स्वास्थ्य चौकी र दुई प्राथमिक स्वास्थ्य केन्द्र छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts