बन्द भएको प्रसूति शल्यक्रिया सेवा पुन सञ्चालनमा



Download our app to get more features

रामेछाप, २९ फागुन । रामेछापको मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्ष अगाडिदेखि बन्द भएको २४ घण्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा मङ्गलबार शुरु भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमार्फत सञ्चालन गर्ने भन्ने निर्णय अन्योल हुँदा रामेछापमा शल्यक्रियामार्फत सुरक्षित सुत्केरी गराउने सेवा ठप्प भएको थियो । 

नीतिगत अन्योलसँगै पैसा तथा जनशक्ति समेतको अभावका कारण ०७४ सालको चैत महीनाबाट सेवा ठप्प भएको भए पनि अहिले स्थानीयतहले नै जिम्मेवारी लिने गरी नीतिगत समस्या टुङ्गिएसँगै आवश्यक बजेटको व्यवस्था भएको र शल्यक्रियाका लागि चाहिने चिकित्सक, एनेस्थेसिया असिस्टेन्ट, नर्स तथा अन्य स्वास्थ्यकर्मीसमेतको नियुक्ति भइसकेकाले सेवा शुरु गरिएको मन्थली नगरपालिकका नगर प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए । 

शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक सबै सहयोग नगरपालिकाले उपलब्ध गराउने भएकाले मङ्गलबारदेखि नै सेवा सञ्चालन भएको प्रमुख बस्नेतले बताए । यसका लागि शल्यक्रिया गर्ने चिकित्सक, आवश्यक औषधि, एनेस्थेसिया असिस्टेन्टलगायतको स्वास्थ्यकर्मीको टोली प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेको केन्द्रले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय या नगरपालिका कुन निकायमार्फत सेवा सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रालय र विभागका पदाधिकारी टुङ्गोमा पुग्न ढिलाइ हँुदा रामेछापमा सुत्केरी हुन नसकेका महिलाको ज्यान बचाउन कठिनाइ भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २४ सै घण्टा दक्ष जनशक्ति राखेर जटिल प्रकारका गर्भवती महिलाको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा २०७३ बैशाखदेखि सञ्चालनमा थियो । 

गएको असार मसान्तसम्म मन्थलीमै १३६ को शल्यक्रियामार्फत सुत्केरी गराइएको तथ्याङ्क केन्द्रसँग रहेको छ । उक्त अवधिमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्ने महिला मासिकरूपमा १८ देखि २० जनासम्म आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अधिकृत भरतकुमार श्रेष्ठले जानकारी दिए । सेवा बन्दसँगै रामेछाप जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका गर्भवती महिलाले समस्या भोग्दै आउनुपरेको थियो । 

सेवा बन्द हुँदा सुत्केरी हुन नसकेर शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीले धेरै समस्या झेल्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अधिकृत श्रेष्ठले बताए। मन्थलीमा पुगेपछि निःशुल्क शल्यक्रियामार्फत् सुरक्षित सुत्केरी गराइन्छ भन्ने सन्देश गाउँगाउँमा पुगेकाले गर्भवती महिलाहरू स्वास्थ्यचौकीबाट सिफारिस गरेर आउने गरेका थिए । 

सेवा शुरु भएसँगै अकालमा ज्यान जानेलाई बचाउन सक्ने अवस्था भएको तामाकोशी सहकारी अस्पतालका चिकित्सक डा सुमन कर्माचार्यले बताए । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts