स्वास्थ्य मन्त्री र राज्यमन्त्रीले गरे मरणोपरान्त अंगदान 



Download our app to get more features

काठमाडौं, ३० फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपन्द्र यादवले बिहीवार मरणोपरान्त अंगदान गरेका छन् । शहीद र्धमभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विश्व मिर्गौला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा यादवले मृत्यु भइसकेपछि खेर जाने अंग दान गरेका हुन् । त्यसैगरी सोहि कार्यक्रममा पुगेको स्वास्थ्य राज्यमन्त्रीले डा. सुरेन्द्र कुमार यादवले मरणोपरान्त अंग दान गरेका छन् । केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री  यादवले मानिस स्वस्थ भएर बाच्न स्वस्थ मिर्गाैला चाहिने भन्दै रोग लाग्न दिनै नहुने तर्फ सचेत गराए । नियमित व्यायाम, खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान पुर्याए मिर्गाैला सम्बन्धि रोगबाट बच्न सकिने मन्त्री यादवले सुझाव दिए । 

यादवले मिर्गाैला प्रत्यारोपण गरेका व्यक्ति पनि अरु समान तन्दुरुस्त हुनसक्छन भन्दै सबैलाई अंगदान गर्न जोड दिए । उनले नेपालमा साधन र स्रोतको कमी तर रोगीको संख्या बढिरहेकोले अंगदान गररे बचाउन सकिने सन्देश सबैमा फैलाउनु पर्ने बताए । 

त्यस्तै कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले अंगदान गर्ने बारे जनचेतना फैलाउन आवश्यक रहेको बताए । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालको प्रत्यारोपण कानून विश्वमा नै उदाहरणीय रहेको बताए । उनका अनुसार तुलनात्मक रुपमा मिर्गौला सम्बन्धी रोगलाई कम महत्वका साथ हेरिएको छ । कानुनी रुपमा काम राम्रो भएपनि व्यवहारिक रुपमा अंगदान संस्कार बढाउने तर्फ सोच्ने बेला आएका राज्यमन्त्री यादवले बताए ।  

त्यसैगरी कार्यक्रमा उपस्थित औषधि उत्पादक संघका अध्यक्ष दीपक प्रसाद दाहाल, कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवशं आचार्यले पनि अंग दान गरेर पुण्य कमाउन सबैलाई अनुरोध गरे । 

केन्द्रले विश्व मिर्गाैला दिवसको अवसरमा गरेको विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुस्कार वितरण कार्यक्रम पनि गरेको छ । त्यस्तै केन्द्रको आयोजनामा आज नै मिर्गौला प्रत्यारोपण गरेका र नगरेकाबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता पनि सम्पन्न भएको छ । मिर्गाैला प्रत्यारोपण गरेका व्यक्ति पनि अरु सरह तन्दुरुस्त हुन सक्छन भन्ने सन्देश दिन यो कार्यक्रमको आयोजना गरिएको खेल संयोजक धु्रव विक्रम मल्लले बताए ।

Last modified on 2019-03-15 11:07:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts