पेइङको नाममा कोशी अस्पतालमा ठगीः केन्द्र सरकार र प्रदेश सरकारको छुट्टाछुट्टै पुर्जी



Download our app to get more features

विराटनगर, १ चैत । नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सञ्चालन गरेको विराटनगरको कोशी अञ्चल अस्पतालमा पेइङ (सःशुल्क) सेवाको लिँदा बिरामी ठगीमा पर्न थालेका पाइएको छ ।

जुनसुकै बेला बिरामीलाई सेवा दिनुपर्ने दायित्व भएपनि अस्पतालका चिकित्सकले डिउटी समयमै पेइङ सेवा सञ्चालनमा ल्याएर बिरामीहरुबाट रकम असुल्ने गरेको पाइएको हो । बहिरंग सेवा लिन आउने बिरामीको अधिक चापका कारण अस्पतालले दिउँसो पेइङ सेवामार्फत सहुलियतमा सेवा दिन थालेको बताएको थियो । पेइङ सेवा भनिएपनि निजी अस्पतालको तुलनामा सहुलीयतपूर्ण हुनुपर्नेमा कतिपय परीक्षण र सेवाशुल्कहरु निजी क्लिनिकहरुको भन्दा महङ्गो रहेको भेटिएको हो । बिहीबारको एउटा घटनाले कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा भइरहेको बेथितिलाई उजागर गरेको छ ।

विराटनगर १० की ७ वर्षीया श्रेया गौतमको दाँतको उपचारका लागि ५० रुपैयाँ तिरेर ओपिडी सेवाको पुर्जा लिइएको थियो । पुर्जा अनुसार डेन्टल वार्डमा दाँतको परिक्षण भयो तर कुन चिकित्सकले परिक्षण गरेको हो भन्ने कुरा पुर्जामा खुलेन । परीक्षण गर्ने चिकित्सकले हस्ताक्षर नगरेका कारण परिचय नखुलेको हो ।

परीक्षणपछि दाँतको एक्स–रे गर्नुपर्ने कुरा पुर्जामा लेखियो र साथमा एक्स–रेको शुल्क २ सय रुपैयाँ बुझाउनुपर्ने संकेत पनि पुर्जामै उल्लेख गरियो । सोही बमोजिम बिल काउन्टरले रकम बुझ्यो । एक्स–रे भएपछि रिपोर्ट देखाउन लगियो । रिपोर्ट हेरेपछि ति डाक्टरले बिरामीलाई २ बजे लिएर आउन भने । चिकित्सकको सल्लाह बमोजिम २ बजे फेरि अस्पताल पुगेर उपचार गर्न आग्रह गर्दा चिकित्सकले उपचार गर्न मानेनन् । अस्पतालको ओपिडी वार्डको १४ नम्बर कोठामा बिहान परीक्षण गरिएको बिरामी दिउँसो त्यहीं पुग्दा चिकित्सकहरुले ओपिडीको पुर्जा दिउसो नचल्ने भन्दै पेइङको पुर्जा लिएर आउन भने । पेइङ सेवामा ३ सय ५० रुपैयाँ तिरेर ओपीडी पुर्जा काटेपछि एक महिला डाक्टरले पुर्जामा २ हजार रुपैयाँ लेख्दै काउन्टरमा पठाइन् ।

पेइङ सेवामा बिरामीलाई नै नहेरी २ हजारको आरसिटी गर्ने बिल काटेपछि बालिकाको दुखेको अनुमान गरिएको दाँत सामान्य ड्रिल गररे प्लाष्टर भरियो । त्यस क्रममा वार्डका दुई चिकित्सकबीच निकैबेर समस्या छ वा छैन भन्नेमा विवाद भयो । अर्को पटक बिरामीको दाँतको एक्स–रे गरियो । र डा. अनुप खनालले प्लास्टर गरे । करिव ७ महिनाअघि पनि श्रेयाको चार ओटा दाँत त्यसरी नै भरिएको आमा शीलाको भनाइ छ । त्यतिबेला कोशी अञ्चल अस्पतालमा यो सेवा नहुँदा एक्स–रे पछि चिकित्सकले बाहिर पठाएका थिए । स्टार डेन्टलमा चार वटा दाँच भर्दा २ हजार रुपैयाँ शुल्क लागेको थियो,’ श्रेयाका आमा शिलाले भनिन्, ‘सरकारी अस्पतालमा उपचार गर्न गएको त एउटा दाँत भरेकै २ हजार लाग्यो, त्यसमाथि एकैदिन दुईपटक ओपीडीको पुर्जा काटेर ४ सय बुझाउनु प¥यो ।’

ओपिडी सेवा लिन पुर्जा काटेका बिरामीको उपचार प्रक्रिया पुरा नहुँदै पेइङको पुर्जा काट्न लगाएर अस्पतालले ठगी गरेको यो प्रतिनिधि घटना हो । अस्पतालमा चिकित्सकले बिहानको ओपीडी समयमा भीड रहेको भन्दै दिउसो बोलाउन थालेका छन् । उनीहरुले १२ नबज्दै बिरामीलाई २ बजेपछि आउन भन्ने गरेका छन् । तर, २ बजे आउने बिरामीले पेइङ सेवामा ३ सय ५० रुपैयाँ तिरेर अर्को पुर्जी काट्नुपर्छ । पेइङ सेवामा लिने उपचार सेवा वापतको रकम चिकित्सकले पुर्जामा नै लेखेर पठाउनुलाई पनि शंकास्पद रुपमा लिइएको छ । अन्य समयमा परीक्षण गर्ने विषयमात्र चिकित्सकले लेखेर त्यसको रकम काउन्टरले नै काट्ने गरेकोमा डेन्टलमा भने डाक्टरले पुर्जीमै रकम तोक्ने गरेका छन् । अर्को अनौठो विषय कोशी अञ्चल अस्पतालले जारी गरेको ओपिडी पुर्जा २ प्रकारको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुजा विहानको ओपीडीमा प्रयोग हुन्छ भने पेइङ सेवामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ को पुर्जा छ । प्रदेश सरकारको नाममा जारी भएको पुर्जाबाट प्राप्त भएको रकम कसरी प्रयोग हुन्छ भन्ने अस्पताल प्रशासनले पनि स्पष्ट जानकारी दिन सकेन । निजी क्लिनिकमा चिकित्सकहरुले बिरामी जाँचेको शूल्क ५ सय रुपैयाँ लिने गरेका छन् । सरकारी स्रोत साधन प्रयोग गरेर सोही अस्पतालमा पेइङको नाममा लिइने गरेको ३ सय ५० रुपैयाँ अत्याधिक हो । अस्पतालका डेन्टल विभागका प्रमुख डा.सुधिर श्रेष्ठले बालबालिकाको पछाडिको दाँतको आरसिटी उपचार अस्पतालमा भर्खरै सुरु भएको र अन्यत्र भन्दा कम शुल्कमा उपचार गर्ने गरेको दावी गरे । ‘बिहानको भीडमा आरसिटी सेवा दिनै सकिदैन’ डा. श्रेष्ठको दावी छ ‘त्यहि भएर पेइङबाट सेवा दिन थालेका हौं, जुन बाहिरको तुलनामा आधाभन्दा बढी सस्तो छ ।’ डाक्टरहरुले बुझाएर विरामीलाई नभनेको र दोहोरो पुर्जी काट्न लगाएको हुनसक्ने बताउँदै उहाँले भोलिबाटै त्यसमा सुधार हुने दावी गरे ।

Last modified on 2019-03-17 07:21:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts