आँखाको नयाँ ज्योति पाएपछि ...



Download our app to get more features

लमही, १ चैत्र । आर्थिक अवस्था कमजोर भएका कारण तुलसीपुर उपमहानगरपालिका–२ कुइरेपानीका ६८ वर्षीय हिरालाल चौधरीले लामो समयसम्म आँखाको उपचार गराउन नसकेर न्यून दृष्टियुक्त भई जीवननिर्वाह गर्दै आएका छन् । 

न्यून दृष्टियुक्त भएर भोगेको दुःख र पीडाले उनलाई जीवन नै निराश हुन लागेको थियो । तर बिहीबार स्थानीयस्तरमै आँखाको शल्यक्रिया गर्ने अवसर पाएपछि उनी खुशी भए । “३÷४ वर्षअघि आँखा धमिलो देखिन थालेका थिए,” उहाँले भन्नुभयो, “पैसा नहुँदा अस्पताल जान सकेको थिइनँ, अहिले गाउँमै शिविर राखेपछि सजिलो भयो ।” 

तुलसीपुर उपमहानगरपालिका–१ को पवननगरस्थित वीरेन्द्र मावि भ्युडहरमा भएको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवाले उहाँजस्तै धेरै नागरिकलाई सहज भएको छ । 

गाउँमै निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएपछि तुलसीपुर उपमहानगरपालिका–१ की ७० वर्षीया देउमती घर्ती पनि खुशी भएकी छन् । आँखा धमिलो हुन थालेको करीब तीन वर्ष हुनै लागेको थियो । तर उपचार गराउन पाएकी थिइनन् ।  “बूढीमान्छे हिँड्डुल गर्न सक्ने अवस्थामा थिएन,” उनले भनीन, “आज गाउँमै शिविर आयो, त्यसैले आँखाको उपचार गर्न पाएँ ।” 

आर्थिक अवस्था कम्जोर भएकै कारण तुलसीपुर उपमहानगरपालिका–१ का ८० वर्षीय तिलबहादुर पुनको पनि विगत एक वर्षदेखि धमिलो आँखामै दिन कटाउनु परेको थियो । 

आँखाको प्रारम्भिक जाँच गरेर डाक्टरले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिए पनि आर्थिक अभावका कारण उनले शल्यक्रिया गर्न पाएका थिएनन् । “यसअघि एउटा आँखा शल्याक्रिया गरे, त्यसपछि लगत्तै अर्को आँखा पनि शल्यक्रिया गर्नुपर्ने भयो,” उनले भने , “एउटा आँखा अप्रेशन गरेको आठ हजार तिर्नुपथ्र्यो, पैसा नहुँदा एउटा आँखाको अप्रेशन गर्न पाएको थिइनँ ।” 

उनीहरु मात्रै होइन, तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको निःशुल्क मोतिविन्दुको शल्यक्रियाबाट सय जनाले सेवा पाएका छन् । आँखाको शल्यक्रियामा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतसहितको प्राविधिक टोलीले सक्रिय थियो । 

बिहीबारदेखि नै उपमहानगरपालिकाले शुरु गरेको ‘मोतियाविन्दु मुक्त तुलसीपुर, उज्यालो तुलसीपुर’ अभियानको शुरुआतको चरणमा ती दुईवटा वडाका सय जनाको निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए  । “पहिलो चरणमा तुलसीपुरको १ र २ नं वडाका सय जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सेवा प्रदान गरिएको छ,” उनले भने , “यो अभियानलाई तुलसीपुर उपमहानगरपालिकाका सबै वडामा पु¥याउने छौँ ।” पाँच वर्षभित्र तुलसीपुर उपमहानगरपालिकालाई मोतिविन्दु मुक्त उपमहानगरपालिका बनाउने योजनाअनुसार यो अभियानलाई अघि बढाएको उनले बताए । 

यसअघि ती दुईवटै वडाका सबै नागरिकको आँखा जाँच गरी शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका सय जनाको शल्यक्रिया गरिएको प्रमुख पाण्डेको भनाइ छ । अब उपमहानगरपालिका भित्रका सबै वडाका नागरिकको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दुका समस्या देखिएकालाई निःशुल्क शल्यक्रिया गरिने उनले बताए । 

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार तुलसीपुर उपमहानगरपालिकाभरिमा करीब एक हजार पाँच सयभन्दा बढी मोतिबिन्दुका रोगी भएको हुन सक्ने बताए । त्यसमध्ये यस आर्थिक वर्षभित्र पाँचसय जनाको मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिइएको समेत उनले बताए । 

दाङमा पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले मोतियाविन्दुमुक्त पालिका बनाउन अभियान शुरु गरेको छ । राप्ती आँखा अस्पताल, नेपाल नेत्रज्योति सङ्घ लगायतको सहकार्यम उक्त अभियान शुरु गरिएको हो ।रासस 

Last modified on 2019-03-15 15:45:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts