हेटौंडामा बर्डफ्लु संक्रमित कुखुरा नष्ट गर्न सुरु



Download our app to get more features

हेटौडा, ३ चैत । मकवानपुरको हेटौंडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गर्न सुरु गरिएको छ । 

बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर–७, नागस्वतीका कुलप्रसाद चौलागाईंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदा ४१ हजार ५ सय कुखुरा नष्ट गरिएको हो । 

शुक्रबार नै बर्डफ्लु लागेका कुखुरा नष्ट गर्ने भनिए पनि शनिबारमात्र कुखुरा नष्ट गर्न सुरु गरिएको हो । नागस्वती क्षेत्रबाट कुखुरा नष्ट गर्न थालिएको छ । मकवानपुर प्रमुख जिल्ला अधिकारी आशमान तामाङ नेतृत्वको बैठकले कुखुरा नष्ट गर्ने निर्णय गर्दै किसानलाई उचित क्षतिपूर्ति दिने जनाएको छ ।  

अण्डा पार्न तयार भएको कुखुरालाई ९ सय, बेच्न तयार ब्रोइलरलाई ४ सय तथा तथा अण्डालाई प्रतिगोटा ११ रुपैँया दिनको लागि सिफारिस गर्ने सहमति भएको थियो । संक्रमित क्षेत्रका ५० किसानले ७ करोड लागतमा एक लाख कुखुरापालन गरेका छन् । 

किसानहरु भने आफूहरुलाई मारमा पारिएको भन्दै असन्तुष्ट छन् । त्यस्तै छिमेकी जिल्लामा बर्डफ्लुु संक्रमण देखा परेपछि पर्सा पनि बर्डफ्लूको उच्च जोखिममा परेको छ । 

भारतबाट पंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि सस्तोमा पाइने हुँदा चोरी तस्करीबाट कुखुरा, चल्ला र अण्डा आउने गरेपछि बर्डफ्लुको उच्च जोखिम बढेको भन्दै पर्सा जिल्ला प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts