प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा



Download our app to get more features

पशुपतिगनर, ८ चैत । प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो । 

एकै स्वास्थ्य संस्थाबाट तीन पद्धतिको उपचार प्रदान गर्न प्रदेश सरकारले एकीकृत स्वास्थ्य सेवा शुरु गरेको प्रदेश १ का जडीबुटी आयुर्वेदविज्ञ समितिका सचिव तीर्थ आचार्यले जानकारी दिए। प्रदेश १ मा आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक पद्धतिको उपचार एकै ठाउँबाट कतिपय स्वास्थ्य संस्थामा शुरु भइसकेको छ भने कतिपयमा संरचना निर्माणको काम भइरहेको छ । 

आयुर्वेद औषधालय र जिल्ला अस्पतालको स्तरवृद्धि गरी पहिलोपटक होमियोपेथिक उपचार शुरु गर्न प्राविधिक जनशक्ति छनोट गरी काम शुरु भइरहेको प्रदेश नं १ का स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले बताए। 

मन्त्रालयको निर्णयसँगै ताप्लेजुङ, पाँचथर, इलाम, दमक, उर्लाबारी, कटारी र भोजपुर जिल्ला अस्पतालबाट एलोपेथिकसँग आयुर्वेद सेवा प्रदान गरिने भएको हो । यस्तै इलाम, धनकुटा, इनरुवा, गाईघाट, ओखलढुङ्गा जिल्ला अस्पताल र झापा, मोरङका आयुर्वेद अस्पतालमा एलोपेथिक, आयुर्वेदिक र होमियोपेथिक उपचार सेवा शुरु गर्न बजेटकोे व्यवस्थापनसमेत भइसकेको जडीबुटी आयुर्वेदविज्ञ समितिका सचिव आचार्यले बताए। 

एक स्वास्थ्य संस्थामा तीन थरीको उपचार पद्धतिको सेवा दिन मन्त्रालयले चालू आर्थिक वर्षमा प्रत्येक जिल्ला अस्पताललाई रु एक करोड २६ लाखका दरले बजेट प्रदान गरको छ । एकीकृत स्वास्थ्य सेवाका लागि मन्त्रालयले आयुर्वेद औषधालयमा २८ र होमियोपेथिक उपचार सेवाका लागि १४ चिकित्सक र स्वास्थ्यकर्मी करारमा थप गरी सेवा शुरु गरेको हो । 

सरकारीस्तरबाट काठमाडौँमा मात्रै सीमित रहेको होमियोपेथिक उपचार पद्धतिको उपचार सेवा सरकारीस्तरबाट शुरु गर्न ठाउँठाउँमा स्वास्थ्य शिविरसमेत गर्ने काम भइरहेको प्रदेश नं १ स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले जनाएको छ । बिरामीले आफ्नो छनोटअनुसार उपचार सेवा प्राप्त गर्न एकीकृत स्वास्थ्य सेवाको व्यवस्था गर्ने र सरकारीस्तरबाट सेवा नदिइएको होमियोपेथिक उपचार पद्धतिको प्रदेश तथा जिल्ला संरचना निर्माणका लागि काम भइरहेको सचिव आचार्यले जानकारी दिए। 

आर्चायका अनुसार समितिले होमियोपेथिक उपचार सेवा जनतामा पु¥याउन संरचना बनाउने बारेमा कार्ययोजना निर्माणको काम भइरहेको छ । बिरामीले निजी स्वास्थ्य संस्थाबाट मात्रै उपचार पाउँदै आएको होमियोपेथिक उपचार पद्धतिलाई प्राथमिकता साथ सेवा शुरु गर्न मन्त्रालयले एक साताअघि दुईदिने स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । तीस होमियोपेथिक चिकित्सकले सेवा प्रदान गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० बढीले स्वास्थ्य जाँच गरेका थिए । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts