विश्व क्षयरोग दिवस

नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिँदै, औषधिमा खर्च २३ करोड



Download our app to get more features

काठमाडौं, ८ चैत । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । साथै डब्लुएचओका अनुसार नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या वार्षिक ६० हजार रहेको आंकलन गरिएको केन्द्रका निर्देशक डा. भीमसिंह तिंकरीले बताए । उनका अनुसार गत आर्थिक वर्षमा ७४/७५ मा ३२ हजार ४ सय ७४ जना नयाँ बिरामी पत्ता लगाई केन्द्रको कार्यक्रम नीति अनुसार उपचारमा राखिएको छ । तर १३ हजार बिरामी हराइरहेको केन्द्रका निर्देशक तिंकरीले बताए ।

भूगोललाई आधार मान्दा नेपालको तराईक्षेत्रमा बढि यस रोगका बिरामी भेटिएको पाइएको छ । नेपालमा हाल नीजि स्वास्थ्य संस्थामा क्षयरोगको निदान तथा उपचार गराउनेको संख्या करिब १५ देखि २० प्रतिशत रहेको अनुमान गरिएको छ । सरकारले क्षयरोगको सम्पूर्ण उपचार निःशुल्क गरेको भएपनि समयमा नै सरकारी अस्पतालसम्म बिरामी नपुग्ने गरेको तिंकरीले बताए । उनका अनुसार कतिपय बिरामी निजी अस्पतालमा जाने र रोग बिग्रिसकेको अवस्थामा मात्र  सरकारी अस्पतालमा आइपुग्ने गरेको छ ।

उनका अनुसार उपचारका लागि आउने बिरामीमध्ये ९१ प्रतिशत बिरामीको रोग निको हुने गरेको छ ।

हाल नेपालमा एकीकृत स्वास्थ्य प्रणालीमार्फत जम्मा ४ हजार तीन सय २३ उपचार केन्द्रबाट डट्स उपचार सेवा ६ हजार चार प्रयोगशाला, ५६ जीन एक्सपर्ट केन्द्र र दुइवटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गर्दै आएको छ ।

केन्द्रसँग चालु आर्थिक वर्षमा ६७ करोडको बजेट रहेको २३ करोड औषधिमा खर्च गरिएको छ । ग्लोवल फन्डले उपलब्ध गराएको १३ करोड बजेटबाट ८ करोड र सरकारी बजेटबाट औषधिमा १५ करोड गरेर जम्मा २३ करोड खर्च गरिएको हो ।

केन्द्रका निर्देशक तिंकरीले देशको संघीय संरचना मार्फत क्षयरोग कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन गर्न चुनौति देखिएको भन्दै त्यसलाई निराकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्षयरोगका बिरामी २० देअि २२ प्रतिशत निजी अस्पतालमा गएर औषधि खाइरहेको पनि केन्द्रले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउँदै आएको छ । यो दिवस क्षयरोगका कारण मृत्यु भएका व्यक्तिहरु प्रति श्रद्धाञ्जली र रोगबाट पीडितको शीघ्र स्वास्थ्य लाभको कामना साथै भविष्यमा यस रोगबाट कसैले पनि मृत्युवरण गर्नुनपरोस भन्ने प्रतिवद्धताका साथ मनाइँदै आइएको छ ।

आगामी वर्षभित्र ७ सय ५३ वटा स्थानीय निकायलाई क्षयरोग कार्यक्रमका बारेमा अभिमुखिकरण गराइने कार्यक्रम समेत केन्द्रसँग रहेको छ । नेपाल पहिलो पटक क्षयरोग प्रिभ्यालेन्स सर्भेक्षण भइरहेको छ । यस सर्वेक्षण नेपालको ५५ जिल्लाका ९९ क्लस्टरमा ५७ हजार ६ सय १० व्यक्तिहरुमा कागजविहीन प्रविधिमा आधारित भई स्थलगत अध्ययन कार्य गरिरहेको पनि तिंकरीले जानकारी दिए ।

क्षयरोग सामाजिक रोग भएकाले यस बारेमा जनचेतना फैलाउनु पर्नेमा के्रन्द्रको जोड छ । यस रोगका कारण एउटा बच्चा विद्यालय जानबाट बन्चित हुनुपरेको छ भने एउटा मजदुरले कामबाट हात धुनु परेको छ। त्यसैगरी श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदसम्म हुन पुगेको तीतो यथार्थ नेपालमा रहेको छ ।

Last modified on 2019-03-25 06:50:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts