‘गर्भपतनलाई परिवार नियोजनका रुपमा नलिउँ’ 



Download our app to get more features

काठमाडौं, ९ चैत । सामान्यतया गर्भ पाठेघरमा रहन्छ भन्ने आम मानिसको भ्रम छ । तर, सबै गर्भ सधैँ पाठेघरमा मात्रै रहन्छ भन्ने हुँदैन । पाठेघरको नलीमा पनि गर्भ रहन सक्ने हुँदा एकदमै विचार पुर्याउँनु पर्छ ।

गर्भपतन गराउँदा जाँच नगरि गर्भनिरोधक औषधी सेवन गरेमा विभिन्न खतरा निम्तिन सक्छ । गर्भ बसिसकेपछि परिक्षण नगरी गर्भपतन गराउन खोजेमा महिलामा खतरा निम्तिने बताउँछन्, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. विमलकुमार थापा ।

‘कसैले धेरैचोटि गर्भपतन गरेको छ भने त्यस्तो महिलामा यस्तो खतरा बढी हुन सक्छ’, उनले भने ।

डा थापाकाअनुसार कहिलेकाही गर्भपतन नगरेकालाई पनि यस्तो समस्या आउनसक्छ । 

‘महिनावारी भएको अवस्थामा पाठेघरमा नरमपना बनाउने तत्व हुन्छ, तर धेरैपटक गर्भपतन गराउँदा, त्यो नरम तत्त्व कम हुँदै जान्छ’, उनले भने । 

पाठेघरको नलीमा रहेको बच्चा ठूलो हुनसाथै नली फुट्ने भन्दै डा थापाले थपे ‘सुगम ठाउँमा रहेका महिलाको समयमै उपचार हुनसक्छ, उपचार पाउन नसक्ने महिलाको भने मृत्युसमेत हुनसक्छ ।’

समयमै थहा पाउन सकिए सुरक्षित तरिकाबाट गर्भपतन गराउन सकिने डा. थापा बताउँछन् ।  

उनकाअनुसार धेरैपटक गर्भपतन गरेमा आफूलाई बच्चा चाहेको समयमा पनि पाठेघरमा नबसेर बाहिर नलीमा बस्नसक्छ । 

यदि ‘सर्जिकल एबोर्सन’ गरिएमा पाठेघरमा प्वाल समेत पर्नसक्ने डा थपाले बताए । सो प्रक्रियाले पाठेघरमा इन्फेक्सन पनि हुनसक्छ । 

‘गर्भपतन गर्दा पाठेघर राम्रोसँग सफा गरिएन भने धेरै रगत बग्नसक्छ’, उनले भने । ‘गर्भपतनलाई परिवार नियोजनका रुपमा नलिउ’
डा. थपाले गर्भपतनालाई परिवार नियोजनका रुपमा लिन नहुने सुझाव दिए । 

‘हाल ३ महिनासम्म गर्भपतन गराउन कानुनी रूपमै अनुमति दिइएको छ, तर कतिपय मानिस गर्भपतनलाई परिवार नियोजनका रूपमा लिन्छन्, यसो गर्नु जोखिमपूर्ण हुन्छ’, उनले भने ।
‘बच्चा आवश्यक नभएका अवस्थामा गर्भपतन गराउने हो ।

यसलाई नै परिवार नियोजनका रूपमा लिँदा बढी जोखिम हुन्छ’, थापाले स्पष्ट पारे ।

बच्चा नजन्माउने सोच हो भने अगाडि नै सावधानी अपनाउनुपर्ने डा थापाको सुझाव छ ।  उनले भने ‘तत्काल बच्चा नचाहिएको हो भने अस्थायी र भविष्यमै बच्चा नजन्माउने हो भने स्थायी साधनको प्रयोग गर्नुपर्छ ।’ 
मानिसले गर्भपतनलाई जसरी सजिलो गरी सोच्छन्, त्यसो नभएर यो धेरै जोखिमपूर्ण हुने डा थापाले बताए ।

उनकाअनुसार कहिलेकाहीँ गर्भपतनका कारण रगत जम्ने कुरामा समस्या भएर पनि मृत्यु हुनसक्छ । 

‘पटक–पटक गर्भपतन गराएमा ‘प्याथोलोजी’ अर्थात् रगत जमाउने चिजको खराबी हुनसक्छ, यसकारण जताबाट पनि रगत बगेर जटिल समस्या हुनसक्छ,’ डा थापाले भने ।

सोकारण गर्भपतन सजिलै हुने भनेर सोच्नु ठुलो गल्ती हुने बताउँदै उनले गर्भपतनलाई अस्थायी साधनका रूपमा लिन नहुने सुझाव दिए ।
 

Last modified on 2019-03-24 08:19:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts