नेपाल मेडिसिटी बन्यो एनएबीएच मान्यता पाउने नेपालको पहिलो अस्पताल

काठमाडौं, १४ चैत । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स (एनएबीएच) को मान्यता प्राप्त गरेको छ ।
योसँगै एनएबीएचको मान्यता पाउनेमा नेपाल मेडिसिटी अस्पताल मुलुककै पहिलो र एक मात्र अस्पताल बनेको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा एनएबीएचका प्रतिनिधिले अस्पतालका अधिकारीलाई अवार्ड प्रदान गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले देशको अस्पतालले अन्तराष्ट्रिय मान्यता पाउनु सकरात्मक भएको बताए ।
अस्पतालको सेवा, जनशक्तिको व्यवस्थापन, विश्वस्तरीय प्रविधि, बिरामीमैत्री पूर्वाधार तथा अन्तर्राष्ट्रिय मापदण्डको सही व्यवस्थापनकालागि मेडिसिटी अस्पताललाई एनएबीएचको मान्यता दिइएको जनाइएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७०, एनएबीएच, एनएबीएल, जोइन्ट कमिशन इन्टरनेशनल लगायतका मापदण्डहरुलाई पालना गरी लागू गरिरहेकाले मेडिसिटी अस्पतालले संसारभरका बिरामीहरुको उपचारका लागि उत्कृष्ट गन्तव्य मानिएको सो अवसरमा अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बताए ।
अस्पतालले गुणस्तरीय स्वास्थ्य उपचार र बिरामीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखि स्वास्थ्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड तथा मार्गनिर्देशिकालाई पनि पालना गरिरहेको दावी गरिएको छ ।
एनएबीएचको मान्यता पाएपछि अस्पतालले एक अस्पताल र एक चिकित्सकको अभियानलाई पनि अझ बढि आदर्शका साथ पालना गर्दै बिरामीको स्वास्थ्य र सेवामा लाग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मेडिसिटी अस्पतालले प्राप्त गरेको उपलब्धिको प्रशंसा गरे ।