बारा हुण्डरीपछि अहोरात्र उपचारमा खटिएका कलैया अस्पतालका मेसुको बयानः जब एसपीको फोन आयो...


Download our app to get more features
Spark_health_home Birat Hospital NHEICC

अस्पतालको नियमित काम सकेर म अस्पतालमै रहेको मेरो निवासमा फर्कें । केहि आराम गरेर म खाना पकाउँदै थिए । राति करिब ८ बजेर ४० मिनेट गएको थियो । एसपीको फोन आयो । डाक्टर साप हावाहुरी चलेर केहि हताहात भएका छन् सायद, तपाईंहरु तयारी अवस्थामा बस्नुहोला । एसपीको फोन कट्यो मैलै खाना पकाउन छोडें र अस्पतालको इमर्जेन्सीमा हुनुभएका डाक्टरलाई फोन गरेर जानकारी गराएँ । उहाँले हुन्छ सर भन्दै तयारी गर्न थाल्नुभयो । हामीले हाम्रो अस्पतालमा भएका ८ जना डाक्टरको टिमको भाइवरमा ग्रुप बनाएका छौं । मैले नै मेसेज गरेर सबैलाई अस्पताल पुग्न भनेर मेसेज गरे । मेसेज गरेको १० देखि १५ मिनेटमा सबैजना अस्पताल पुगिसक्यौं । 

अस्पताल पुग्दा करिब ९ बजेको थियो । सवा ९ बजे सम्म सबै अस्पतालमा पुग्यौं । अस्पताल पुग्दा घाइतेहरु आउने क्रम सुरु भैसकेको थियो । सुरुमा ३÷४ जना घाइते आए । सामान्य चोट लागेको थियो हामीले उपचार गर्यौं । विस्तारै घाइतेहरुको आउने क्रम बढ्न थाल्यो । त्यसपछि ४ जनाको शव पनि आयो । ५० बेडको अस्पताल भरिसकेको थियो । हुँदा हुँदा शव आउने र घाइते आउने क्रम यति धेरै बढ्न थाल्यो की एक छिन त कसरी के गर्ने भन्ने भयो । 

vayoda

bp_ad

हामीसँग औषधि अभाव हुन थाल्यो, स्टोरमा भएका औषधिले पनि पुग्ने अवस्था नभएपछि हामीले बाहिरको औषधि पसलबाट मगायौं । ३ सय ६० जना घाइते आइसकेका थिए । तर, हामीसँग २०÷२५ जनालाई पुग्ने औषधि मात्र थियो । बिरामीलाई हेर्ने र स्याहार गर्ने जनशक्ति पनि अभाव थियो । हामीले अस्पतालका सबै कर्मचारीलाई बोलायौं । कार्यालय सहयोगीदेखि स्विपर, क्लिनर सबैजना घाइतेको उपचारमा संलग्न भयौं । 
अस्पतालमा एक्स रे मेसिन थियो तर बत्ति थिएन । कसरी उपचार गर्ने पनि टुङ्गो थिएन । तर, हाम्रो टिममा भएका डाक्टर र अन्य कर्मचारीको उत्साह हेर्दा उपचार गर्ने आँट झन् बढेर आयो । घाइतेको अवस्था निकै गम्भीर खालको पनि थियो । आएका बिरामीको अवस्था हेर्दा हामीले उपचारका लागि बिरामीलाई वर्गिकरण गरेर उपचार थाल्यौं । सामान्य चोटपटक लागेको, त्यो भन्दा धेरै चोटपटक लागेको र गम्भीर खालको घाइते भएकाको उपचार थाल्यौं । जसमा ८ जनाको अवस्था निकै गम्भीर थियो । हामीले सकेको उपचार गर्यौं तर कलैया अस्पतालमा उपचार नसकेपछि र केहिलाई भेन्टिलेटरमा राख्ने अवस्था थियो । हामीले टिममा सल्लाह गरेर नेशनल मेडिकल कलेजमा फोन गरेर जानकारी गरायौं । उताबाट हुन्छ पठाइनिदुस् भनेर भन्नुभयो र हामीले आठै जनालाई नेशनल मेडिकल कलेजमा रेफर गर्यौं ।

उपचार गर्दै जाँदा अब एकछिन लाग्यो मैले सायद यो घटनालाई अन्डरएस्टिमेट गरेको थिएँ । किनभने म कोहलपुर हुँदा त्यहाँपनि हावाहुरीको घटना भएको थियो । त्यो बेला एक जनाको मृत्यु भएको थियो र ३÷४ जना मात्र घाइते भएका थिए । मैले यो घटनालाई पनि त्यस्तै सोचें । तर, अस्पतला पुगेपछिको अवस्था हेर्दा लाग्यो मैले पहिले नै ठूलो पनि हुन सक्छ भनेर तयारी थालेको भए झन् सहज हुने थियो । तरपनि हाम्रो टिमले काम गरेको देख्दा हौसला बढ्यो र घाइतेको उपचारमा कुनै कसर बाँकी राखेनौं । 

राति साढे १२ बजे तिर घाइते आउने क्रम कम भएपछि म फेरि क्वाटर फर्कें । क्वाटर गएर एकछिन आराम गर्नुपर्यो भनेर बसेको थिए हस्पिटलबाट फेरि कल आयो । डाक्टरसाव फेरि घाइतेको संख्या बढ्न थाल्यो । म तुरुन्तै अस्पताल पुगें । टाउकोमा चोट लागेको, जोर्नि फुस्केको, फ्याक्चर भएको, ढाँडमा चोट लागेको घाइतेहरु थिए । झन्डै २०० सय जनालाई त रातभर टाँका नै लगाउनुपर्यो । तर, दोस्रो चरणमा अस्पताल पुग्दा सुरुको जस्तो क्रिटिकल केस थिएन । कतिपय घाइते इटा भट्ठामा काम गर्ने थिए । पुरै शरीर माटोले रंगिएको थियो । कहाँ घाउ छ कहाँ चोट लागेको छ भन्ने नै पत्ता लगाउन सक्ने अवस्था थिएन । तरपनि माटो सफा गर्दै उपचार गरियो । कतिपय घाइते त डरले काम्ने, चिसोले काम्ने पनि थिए । हामीसँग भएको ब्लान्केट ओढाएर बेरिएर राख्यौं । विस्तारै तिनिहरु सामान्य अवस्थामा फर्के । एकपटक त यतिसम्म भयो कि एकजना घाइतेलाई अस्पतालमा आएका स्वयंसेवकले मरेको भन्दै शव नै ठाने । तर, मैले होइन उहाँ ठिक हुनुहुन्छ भन्दै पछि वार्डमा सिफ्ट गरें ।

हामीसँग बेड अभाव थियो । एउटै बेडमा ४÷५ जनालाई राखिएको थियो । १ सय ४८ जनालाई त बेडमै राखेर सेवा दिईयो । बाँकीलाई भूइँमा राखेर, कुर्सिमा राखेर उपचार गरियो । घटना यति धेरै ठूलो छ भनेर कसैले सोचेका थिएनौं । पछि नारायणी र नेशनल मेडिकलमा पनि घाइतेले गर्दा अस्पतालमा ठाउँ नै थिएन । क्रिटिकल भए मात्रै रेफर गर्नु भनेर भनियो । हामीसँग पनि त्यस्तो गम्भीर अवस्थाका घाइते त्यति धेरै थिएनन् । उपचार गर्दैगर्दा उज्यालो भइसकेको थियो । त्यसपछि सामान्य चोटपटक लागेका बिरामीहरु घर फर्कन थालेका थिए भने कतिपय घाइते आफैंपनि हिँड्दै अस्पताल आउन थालेका थिए । भोलिपल्ट करिब १२ साढे १२ बजेतिर मात्रै हामीलाई चितवन, हेटौंडा, जनकपुर र काठमाडौंका डाक्टरहरुको सहयोग भेट्यौं । त्यो बेला सम्म हामीले धेरै बिरामीलाई घर फर्काइसकेका थियौं । 

सबैभन्दा समस्या भनेको बत्ति नहुँदा भयो । त्यसमाथि ३ सय बढि घाइतेलाई २५ जनालाई पुग्ने औषधिबाट उपचार गर्नु चुनौति थियो । तर, अस्पतालमा आएका स्वयंसेवक र अस्पताल बाहिरका औषधि पसलका सञ्चालकले हामीलाई गरेको सहयोग सराहनीय बन्यो ।

बाराको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभूवन चन्द्र झासँग गरिएको कुराकानीमा आधारित

Last modified on 2019-04-09 14:08:52

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts