स्वास्थ्यमा बेथिति

एक करोड प्याकेट ओरल रिहाइड्रेशन साल्ट खरिद गर्न ६ करोडको सम्झौता, एक करोडको मात्र आपूर्ति



Download our app to get more features

काठमाडौं,२६ चैत । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाले एक करोड प्याकेट ओरल रिहाइड्रेशन साल्ट खरिद गर्न ६ करोड एक लाखको सम्झोता गरेपनि सो बराबरको सामान आपूर्ति नभएको पाइएको छ । सिटिएल फर्मास्यूटिकल्स ल्व्रोटरी प्रा लि बागबजारसंग २०७४ चैत ४ सम्म चार चरणमा सामान आपूर्ति गर्न ०७३ चैत १० मा सम्झौता भएको हो । तर पुरै सामान आपूर्ति नभएको पाइएको हो। पहिलो सिपमेन्टको ३ लाख ७३ हजार एक सय प्याकेट लगायत ७८ लाख ७३ हजार एक सय प्याकेट आपूर्ति नै नभएको महालेखा परीक्षणको कार्यालयले गरेको अनुगमनमा फेला परेको हो।

पहिलो सिपमेन्टको पनि दुई पटकमा आपूर्ति गरेको देखिएको छ । आपूर्ति गरेको परिमाणको मुल्य एक करोड २७ लाख ८२ हजार ६ सय ६९ को ८० प्रतिशत भुक्तानि गर्दा पूर्व निर्धारित क्षतिपूर्ति बापत १० प्रतिशतले हुने ६० लाख १० हजार कट्टी गरी भुक्तानी गरे तापनि बाकि परिमाण आपूर्ति नहुनुले सोझै भ्रष्टाचार भएको देखिएको छ । विभागले उपलब्ध गराएको आपूर्ति व्यवस्थापन सुचना प्रणाली अनुसार उक्त औषधिको मौज्दात न्युनतम नौ महिनाका लागि पुग्नेगरि व्यवस्थापन गर्नुपर्नेछ । तर ०७५ असार मसान्तको देशभरको मौज्जादले तीनमहिना सम्म पुग्ने २० लाख १४ हजार तीन सय ५७ प्याकेट मात्र देखिएको छ ।

केन्द्रीय र क्षेत्रीय स्टोरमा शुन्य मौज्दात

त्यसैगरी केन्द्रीय मेडिकल स्टोर पथलैया र क्षेत्रीय मेडिकल स्टोर धनगढीमा ०७५ आसार मसान्तको औषधि मौज्दात शुन्य रहेको छ । विभागले पछिल्लो पटक औषधि आपूर्ति गर्न ०७५ जेठ १५ मा पत्राचार गरे तापनि आपूर्ति सम्बन्धि तालिका समेत तय गरेको छैन। सम्झौता बमोजिमको औषधि अभावका कारण स्वास्थ्य संस्थाले बढि मुल्यमा खरिद गर्नुपर्ने अवस्था देखिएको छ । गत वर्षको कार्यक्रम अनुसार खरिद हुनुपर्ने अत्यावश्यक औषधि आर्थिक वर्ष ७४/७५ मा समेत आपूर्ति भएको छैन् ।

त्यसैगरि महालेखा परिक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष ७४/७५ को प्रतिवेदनले निशुल्क वितरण गर्नुपर्ने औषधीको अभाव रहेको समेत स्पष्ट देखाएको छ । समयमा नै सम्झौता अनुसारका औषधि आपूर्ति नहुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको पाइन्छ भने स्वास्थ्य मन्त्रलयका मातहतका निकायमा हुने भ्रष्टाचार नरोकिएको पनि छर्लंग्ग देखिएको छ ।

Last modified on 2019-04-11 12:39:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts