चिकित्सक आन्दोलन

वीर अस्पतालमा भेटिएका विष्णुबहादुरको आक्रोशः नेता विदेश जान्छन्, दुःख पाउने त हामीले न हो 



Download our app to get more features

काठमाडौं, २६ चैत । सिन्धुलीका ५९ वर्षिय विष्णुवहादुर पाख्रिन वीर अस्पताल धाएको आठ दिन भइसकेको छ ।

अल्सरले पिरोलेको पाख्रिन प्रत्येक दिन विहानै आएर दिउँसभरि अस्पतालमा टिकट काउन्टर खुल्छकि भन्ने आशा बोकेर बसिरहन्छन् ।

आठदिन अगाडि डक्टरले पर्सिपल्ट आउनु भनेपछि बोलाएको दिन जाँदा काउन्टर नखुल्ने सुचना थाहा पाउँदा उनी रनभुल्लमा परेको बताउँछन् । 

उनी मात्रै नभएर पाख्रिनका बहिनी ज्वाई पनि स्वास्थ्यमा छुट्टाछुट्टै समस्या भएर साथमै आएका छन् ।

काठमाडौंमा कोही आफन्त समेत नभएका पाख्रिन गाउँकै चिनेजानेका व्यक्तिको कोठमा रात कटाइरहेका छन् ।

उनीले देशको यत्रो सरकारी अस्पताल नै बन्द भएपछि गरिब जनताले अत्यन्तै दुःख पाइरहेको गुनासो पोखे ।

पाख्रिन भन्छन् ‘निजी अस्पतालमा हामी गरिबले उपचार गर्न सक्दैनौं, सस्तोमा उपचार पाउने आशले यहाँ आउँदा यस्तो हालत छ, साह्रै दुःख पायौं ।’ 

गाउँमा गाईवस्तु पालेर गुजारा चलाउँदै आएका पाख्रिनले उपचारका लागि मागेर ल्याएको ऋण पनि सकिन लागेको गुनासो पोखे ।

‘ठूला नेता भन्नेहरु गाउँ–गाउँमा सिंहदरबार भित्र्याउने भाषण दिन्छन्, गरिब जनताले भने सर्वसुलभ उपचार समेत पाउन सकेका छनैन्’, उनले आक्रोश मिश्रित भावमा भने ।

 ‘नेताहरु आफूलाई केही भएमा महंगोमा विदेशी अस्पतालमा उपचार गर्छन्, आखिर बन्द हड्ताल जे भएपनि दुःख पाउने त हामी जनता नै त हो नि’ पाख्रिनले थपे ।

चाउरी परिसकेका पाख्रिनको अनुहारमा पीडाको भावसँगै आक्रोस पनि प्रष्टै देखिन्थ्यो । अस्पताल के कारण बन्द भईहेको छ पनि राम्ररी थहा नपाएका उनी भन्छन् ‘खोइ कहिलेसम्म यस्तो हुने हो, खुल्छ भनेर यसैगरी बसिरहने होकि घर जाने हामी त यता न उताको भयौं ।’

बिरामी उपचार पाउने आशामा यसरी भोकभोकै बसिरहेका अवस्थामा समेत चिकित्सकहरु वेवास्ता गरेर ओहोरदोहोर गरिरहेको आरोप लगाउँछन् पाख्रिन । उपचार होला कि भन्ने आशा बोकेर उनी नजिकै बसेका पाख्रिनको बहिनी ज्वाईको पनि आवाज एउटै छ ।

‘उनीहरु लगायत वीर अस्पतालमा आउने सबै विरामीको रोग फरक–फरक भएता पनि आखाँको भावले एउटै कुरा सोधिरहेको छ, हामीले उपचार कहिले पाउँछौं ?’ 

ओठमुख सुकाएर घण्टौं ओपीडिमा टिकटका लागि बसिरहेका कतिपय बिरामीलाई त सरकारी चिकित्सकले कर्मचारी समायोजनको असन्तुष्टमा आन्दोलन गरेको पाचौं दिन बितिसकेको समेत थहा छैन । टिकट काउन्टर अगाडि बिरामीहरु लाइन लागेको समेत देखिन्थ्यो ।

यसरी सरकारी चिकित्सकले स्वास्थ्य सेवा ठप्प पार्दा उपचारका लागि आएका पूर्वदेखि पश्चिमसम्मका सर्वसाधरण जनता मारमा परेका छन् ।

हड्ताल गर्ने र खटाएको ठाउँमा नजाने चिकित्सकलाई नियमअनुसार कारबाही गर्ने सरकारले चेतावनी दिएपनि  सरकारी चिकित्सक भने आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने अडानमा कायम छ ।

Last modified on 2019-04-11 12:40:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts