'एक विद्यालय एक नर्स' कार्यक्रम कति प्रभावकारी ? विद्यालयमा हुने नर्सका यस्ता छन् काम
काठमाडौं, ४ बैशाख । अध्ययन अनुसार स्वास्थ्यकर्मीलाई विद्यालयमा परिचालन गर्दा स्वास्थ्य सम्बन्धि चेतनामा उल्लेख्य बृद्धि हुने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तयार पारेको प्रतिवेदन अनुसार स्वास्थ्यकर्मीलाई विद्यालयमा परिचालन गर्दा विद्यार्थिको व्यवहार र व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने पाइएको हो ।
साथै स्वास्थ्यकर्मीलाई विद्यालयमा परिचालन गर्दा प्रारम्भिक परियोजनाका रुपमा देशका निश्चित विद्यालयहरुमा परिचालन गनुपर्ने परिषदको अनुसन्धानले देखाएको छ । यसरी केही निश्चित ठाउँमा परिचालन गरेपछि त्यसबाट प्राप्त नतिजाका आधारमा मात्र देशभर विस्तार गर्न परिषदले सुझाएको छ ।
के गर्दैछ स्वास्थ्य मन्त्रालय
यता सरकारले भने ‘एक विद्यालय एक नर्स’ कार्यक्रम नयाँ आर्थिक वर्षबाट मात्रै सहज रुपले सञ्चालन गर्ने तयारी गरेको छ । हाल केहि प्रदेशमा पाइलटिगंको रुपमा कार्यक्रम सञ्चालन भएपनि त्यसलाई अझ प्रभावकारी रुपमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा सरकार नीति निर्माणमा जुटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नीति तथा योजना महाशाखाका प्रमुख डाक्टर विकास देवकोटाका अनुसार ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि मन्त्रालय नीति निर्माणमा लागेको छ । उनले भने ‘सरकारले ल्याएको यो कार्यक्रम अब आगामी आर्थिक वर्षको बजेटमै समावेश गरेर सञ्चालनको तयारी हुँदैछ ।’
यस कार्यक्रम लागु भएसँगै विद्यार्थीहरुले प्राथमिक एवं सामान्य खालका उपचार स्कुलबाटै पाउने भएका छन् ।
विद्यालय कसरी छनोट गरिन्छ
एक विद्यालय एक नर्स कार्यक्रमका लागि सरकारले विद्यालय छनोट मापदण्ड तयार पारेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ ले तयार पारेको कार्यविधि अनुसार यसरी विद्यालयको छनोट गरिने छ ।
कार्यक्रम सञ्चालनका लागि प्रदेश भित्रका विद्यालय छनौट गर्न देहायका मापदण्ड पुगेका सामुदायिक विद्यालय हुनु पर्नेछ ।
(क) भौतिक पूर्वाधा
(ख) विद्यार्थिको संख्या बढि भएको (प्राथामिकता छात्राको संख्या बढी भएको)
(ग) नमुना विद्यालय
विद्यालय नर्सको काम कर्तव्य र अधिकार यस्तो छ
- विद्यार्थी र समुदायमा स्वास्थ्य जीवनशैलीसँग सम्बन्धित व्यवहारको प्रबद्र्धन गर्ने,
- व्यक्तिगत र वातावरणीय सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सम्बन्धि परामर्श दिने,
- विद्यार्थिलाई शारीरीक व्यायाम र पोषण, मुख स्वास्थ्य, खानपीनसँग सम्बन्धित व्यवहार, हात धुने तरिका स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तन गराउने,
- किशोर किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सेवा, शिक्षा र परामर्श दिने,
- विद्यार्थिलाई स्वास्थ्यसंग सम्बधी आवश्यक अन्य लैंगिक हिंसा, बाल हिंसा रोकथाम, लागू पदार्थ दुव्र्यशनीको नियन्त्रण आदि विषयमा स्वास्थ्य सेवा, शिक्षा र पारमर्श प्रदान गर्ने,
- प्राथमिक उपचार गर्ने,
- शिक्षक तथा विद्यार्थिको नियमित स्वास्थ्य परिक्षण गर्ने, अभिभावकहरुलाई बालबालिकाको स्वास्थ्य, पोषण र स्वस्थ जीवनशैलीका साथै नसर्ने रोगको रोकथाम बारेमा जानकारी र परामर्श दिने,
- विद्यालयमा सूर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ, जंक फुड लगायतका अखाद्य पदार्थ, अत्याधिक चिनीयुक्त पेय खाद्य पदार्थको प्रयोगमा नियन्त्रण गर्ने,
- विद्यालयमा स्वच्छ खानेपानी, छात्रामैत्री शैचालय लगायतका स्वास्थ्य मैत्री पूर्वाधार भए नभएको सन्दर्भमा रेखदेख गर्ने र सो को लागि आवश्यक समन्यन गर्ने,
- यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कक्षा लिने र किशोरावस्थाको शारीरीक मानसिक परिवर्तनको अवस्था, प्रजनन अंगको सरसफाई, परिवार नियोजन र यौन यौनिकतामा उत्सुकताका विषयमा सूसुचित गराउने, परामर्श, उचित सल्लाह तथा सुझाव दिने,
- विद्यालय स्वास्थ अवस्थाको अभिलेख राख्ने सो को प्रतिवेदन सम्बन्धित स्वास्थय संस्था, निकाय तथा समितिलाई जानकारी गराउने,
- विद्यार्थिलाई थप उपचारको लागि स्थानीय स्वास्थ्य संस्थासँग समन्वयन गरी उपचार गराउने वा रिफर गर्ने
- समुदायमा आधारित स्वास्थ्य जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने,
- विद्यालय स्वास्थ्य इकाई निर्माण गरी विद्यार्थिलाई मानसिक समस्या र स्वास्थ्यसंग सम्बन्धि आवश्यक परामर्श दिने,
- नियमित रुपमा सरसफाइको व्यवस्था गर्ने,
- नेपाल सरकारद्धारा सञ्चालित अन्य क्रियाकलाप सञ्चालन गर्ने तथा गराउने,
- स्वास्थ्यसँग सम्बन्धित विषयका अध्ययन तथा अनुसन्धानमा सहभागी हुने वा गर्ने ।