नारायणी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट एनमुलको मनोमानी, दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गर्दै



Download our app to get more features

वीरगञ्ज, ९ वैशाख । नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मो .एनामुल हकले नियम विपरित कर्मचारी नियुक्त गर्ने गरेका छन् ।

सुपरिटेन्डेन्ट डा. मो .एनामुल हकले अस्पतालको फार्मेसीमा मो.इमरान मिकरानी अहेब (प्यारामेडिक्स) लाई नियुक्त गरेका छन् । अस्पतालको वार्डमा भर्ना भएका बिरामीको हेरचाह गर्नुपर्ने अहेवको नियुक्ति सरकारी अस्पतालको औषधि पसलमा भएको छ ।

अहेवको फार्मेसीमा कुनै दरबन्दी नभए पनि मेसु हकले मिकरानीलाई दैनिक ज्यालादारीमा बिना प्रतिस्फर्धा नियुक्ति गरेका छन् । मिकरानीको नियुत्तिपत्रमा ‘अस्पतालकोफार्मेसी शाखामा अर्को आदेश नहुन्जेलसम्म कामकाज गर्न हुन जानकारी गराइन्छ’ उल्लेख छ ।

यसैगरी अस्पतालको प्रयोगशाला प्रमुख पाँचौँ तहका सचिन्द्र यादव नियुक्त भएका छन् । सातौँ तहका नेपाल सरकारका कर्मचारी हीराबाबु पाण्डे विगत साढे ४ वर्षदेखि नारायणी अस्पतालको प्रयोगशालामा कार्यरत रहे पनि मेसु हकले दैनिक ज्यालादारीमा यादवलाई नियुक्त गरी प्रयोगशाला प्रमुख बनाएका छन् ।

ल्याब टेक्निसियन यादवले प्रोटिन हाल्ने, थाइराइड चेक गर्ने, किलिया मेसिन चलाउनेलगायत परीक्षण गर्ने गरेका छन्, जुन काम ल्याब टेक्नोलोजिस्टले मात्र गर्ने हो । प्रयोगशालामा यसअघि दशौँ तहका श्रवण मिश्र प्रयोगशाला इन्चार्ज थिए । मेसु डा. हकसँग खटपट बढेपछि मिश्र काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सरुवा मिलाएर गएको कर्मचारी बताउँछन् ।

मिश्र गएपछि उनी मुनिका सातौँ तहका हीराबाबु पाण्डेलाई स्वतः इन्चार्जको जिम्मेवारी दिनुपर्नेमा दरबन्दी नै नभएको ठाउँमा बिनाप्रतिस्पर्धा यादवलाई टेक्नेसियनमा नियुक्त गरी इन्चार्ज बनाइएको हो । फार्मेसीमा अहेव र प्रयोगशालाको टेक्नेसियनमात्र नभई मेसुले बिनाप्रतिस्पर्धा चिकित्सक, मेडिकल टेक्नोलोजिष्ट, स्टाफ नर्स, अहेब गरी करिब ४० जनालाई दैनिक ज्यालादारीमा नियुक्त गरेका छन् ।

‘जसमध्ये प्रदेश सांसदका छोरी र स्वास्थ्य राज्यमन्त्रीकी भान्जीसम्मले नियुक्ति पाए,’ अस्पताल प्रशासनका एक कर्मचारी भन्छन्, ‘बिनाप्रतिस्पर्धा गरिएका नियुक्तिले राम्रा भन्दा पनि हाम्रा व्यक्तिले अवसर पाएका छन् ।’ सांसद र राज्यमन्त्रीका आफन्तले भनसुनको आधारमा नियुक्ति पाए पनि अन्यले पैसा खर्च गरी नियुक्तिपत्र लिएको सम्बद्ध स्रोतको दाबी छ । ‘राज्यमन्त्रीका आफन्त, मन्त्रीका सल्लाहकारका आफन्त, सांसदकी छोरीको नियुक्तिले मेसुलाई कारबाहीको कुनै डर छैन्,’ प्रशासनका एक कर्मचारी भन्छन्, ‘उनी निस्फिक्री अनियमिततामाथि अनियमितता गरिरहेका छन् ।’

अस्पताल विकास समितिको सेवा तथा परामर्श शीर्षकको बजेटलाई मेसुले दैनिक ज्यालादारीमा नियुक्त भएकालाई तलब खुवाउने गरिएको छ । विशेषज्ञ सेवा, सेमिनार र अस्पतालको स्तरोन्नतिमा खर्च गर्नुपर्ने बजेट बिनाप्रतिस्पर्धा दैनिक ज्यालादारीमा नियुक्त भएका चिकित्सक र कर्मचारीको तलबमा खर्च भइरहेको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-04-23 13:42:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts