सेनेटरी प्याड महंगो भएको महिलाहरुको गुनासोः ३० प्रतिशत कर छुट गर्न माग



Download our app to get more features

काठमाडौं, १० वैशाख । महिलाको स्वास्थ्यसँग जोडिएको अत्यन्तै महत्वपूर्ण सेनिटरी प्याड महंगो भएको  महिलाहरुको गुनासो छ ।

अधिकांश महिला सेनिटरी प्याड प्रत्येक महिनामा महंगोमा किन्नु भन्दा कपडा कै प्रयोग गर्नु उचित हुने बताउँछन् ।  

विशेषगरी ग्रामीण भेगका महिलाहरु सेनिटरी प्याडको आवश्यक र प्रयोगबारे थहा भएता पनि महंगोका कारण यसको पहुँचमा पुग्न सकिरहेका छैनन् । सेनेटरी प्याड खरिद गर्न नसकेरै उनीहरु कपडा प्रयोग गर्छन् ।

सेनिटरी प्याडमै सरकारले ३० प्रतिशत कर असुल्ने गरेको छ । यसकारण महिनावारीका समयमा प्रयोग गरिने सेनिटरी प्याडको मुल्य महंगो भएको छ ।

काभ्रे, पाँचखालकि स्थानीय कबिता अधिकारी प्रत्येक महिना महंगोमा प्याड किनेर लगाउन नसकिने गुनासो गर्छिन् । 

उनले भनिन् ‘सेनिटरी प्याड सहजताका लागि प्रयोग गर्न मन लाग्छ, तर सबैभन्दा सस्तो पनि करिब ५० रुपियाँसम्म पर्ने हुँदा प्रत्येक महिना किनिरहनै सकिदैन ।’

पुराना कपडाका प्रयोगले कस्ता किसिमका संक्रमण हुनसक्छन् भन्नेबारे थहा भएता पनि महंगोकै कारण प्रत्येक महिना खरिद गर्न नसकिने अधिकारीले दुखेसो पोखिन् ।

धादिङ स्थायी घर भइ अहिले काठमाडौंमा बस्दै आएकि सुनिता केसिको पनि गुनासो उस्तै छ ।

हाल स्नातक तहमा अध्ययनरत उनी महिलालाई अत्यन्तै आवश्यक पर्ने प्याड कम मूल्यमा पाउनुपर्ने बताउँछिन् ।

सेनिटरी प्याडबारे बुझेका राजधानीमा बस्दै आएका महिलाहरुको अवस्था यस्तो छ भने दुरदराजका महिलाको अवस्था कस्तो होला ? अझै ग्रामिण भेगका महिलाले सेनिटरी प्याडको उपयोगिताबारे समेत नबुझेको अवस्था छ ।  कतिपय महिलालाई पुराना कपडाको प्रयोगले कस्ता किसिमका संक्रमण हुन्छ भन्नेबारे समेत जानकार नभएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रंगिना लाइकंगबम बताउँछिन् ।

महिनावारीको समयमा सरसफाईमा  ध्यान नदिदा यौनांगमा संक्रमण हुने, नराम्रो गन्ध आउँने र पछि पाठेघरको मुखको क्यान्सर समेत हुने डा. रंगिना बताउँछिन् ।

उनले यस्तो समस्या आउन नदिन विशेषगरी ग्रामिण भेगका महिलामा सेनिटरी प्याडबारे जनचेतना जगाउन आवश्यक रहेको बताइन् ।

यससँगै सरकारले महिलालाई अत्यन्तै आवश्यक पर्ने कर छुट गरि कम मूल्यमा सेनिटरी प्याड उपलब्ध गराउनुपर्ने डा।रंगिनाको भनाइ छ ।
नेपाली बजारमा सेनेटरी प्याडको मूल्य ४९ रुपियाँ बाट सुरु हुन्छ ।  सबैभन्दा कम मूल्य भनिएका सेनिटरी प्याड कमसल खालका हुन्छन् । गुणस्तरयुक्त प्याड प्रयोग गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । 

 जसका लागि सस्तो र गुणस्तरीयतामा निग्रानी गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । ठिकै खालका सेनिटरी प्याडलाई ७० रुपियाँ भन्दामाथि पर्छ ।

प्रत्येक महिनामा एकदेखि दुई पाकेटसम्म किन्नुपर्ने हुँदा सो मूल्यका प्याड महंगो भएकाले आम महिला यसको पहुँचबाहिर रहन बाध्य छन् ।

सेनिटरी प्याड खरिद गर्न आउने महिलाहरुले महंगो भएको गुनासो गर्दै सस्तो प्याड खोज्ने गरेको  विक्रेताहरु समेत बताउँछन् ।

स्वाथ्यमन्त्रालयले सन् २०१२ मा गरेको सर्वेक्षणअनुसार १० देखि २४ वर्षका उमेरसमूहका १५ प्रतिशत किशोरि एवम् महिलाले मात्रै सेनेटरी प्याड प्रयाग गर्ने गरेको पाइएको थियो । साथै ८४ प्रतिशतले पुराना कपडा प्रयोग गर्ने गरेको पाइएको थियो ।

हालको तथ्याङ्कको आधारमा सेनिटरी प्याड प्रयोगकर्ता बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/०७६को ८ महिनाको ९साउनरफागुन० तथ्याङ्कअनुसार नेपालमा १ अर्ब ५२ करोड रुपियाँको सेनिटरी प्याड आयात भएको छ ।

अघिल्लो आवको सोही समयावधिमा १ अर्ब १६ करोडको सेनिटरी प्याड आयात भएको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आवको तुलनामा यस आवमा सेनिटरी प्याडको आयात बढेको देखिन्छ । गुणस्तरीय प्याड खरिद गर्न एकजना महिलालाई प्रति महिना कम्तिमा पनि २५० देखि ३०० रुपियाँ सम्म खर्च गर्नुपर्ने हुन्छ ।

तथ्याङ्अनुसार एक नेपाली महिलाले आफ्नो जिवनमा झन्डै दुई लाख १० हजार पाँच सय ६५ रुपियाँ महिनावारीसँग सम्बन्धित सामागीमा खर्च गर्ने गर्छिन् ।

 महिनावारी हुँदा धेरै खर्च गर्ने देशमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा छ । भारतका महिलाले भन्दा नेपालका महिलाले ३ गुणा बढी मुल्यमा सेनेटरी प्याड खरिद गर्ने गरेका छन् ।

पछिल्लो समय सेनेटरी प्याडको प्रयोगकर्ता बढेता पनि अझै दुरदरजका महिलामा यसबारे चेतना पुग्न सकेको छैन ।

चेतना पुगेका स्थानमा पनि  महंगोका कारण आम महिलाले यसको प्रयोग गर्न नसकेको स्थिती छ ।

महिनावारीका समयमा प्रयोग हुने अत्यन्तै आवश्यक सेनेटरी प्याडमा सरकारले कर छुट गर्नुपर्ने महिलाहरुको माग रहेको छ ।

Last modified on 2019-04-23 17:02:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts