७८ प्रतिशत नेपाली पूर्ण खोपको पहुँचमा, एक प्रतिशत खोप नै लगाउँदैनन्

विश्व खोप साता, जन्मदेखि मृत्यु नभएसम्म खोपको आवश्यकता



Download our app to get more features

काठमाडौं, १५ वैशाख  । पूर्ण खोप लगाउने नेपालीको संख्या ७८ प्रतिशत पुगेको छ । नेपाल पेडिआर्टिक सोसाइटी (नेपाल बाल समाज) ले आइतबार सार्वजनिक गरेको तथ्याङक अनुसार पूर्ण खोपको पहुँचमा नहुनेको संख्या २२ प्रतिशत मात्रै छ ।

सन् २०१६ को तथ्याङक अनुसार ९९ प्रतिशत व्यक्तिले कुनै न कुनै खोप लगाउने गरेका छन् । 
सोसाइटीले विश्व खोप सप्ताहको अवसरमा आयोजना गरेको कार्यक्रममा एक प्रतिशत मानिस कुनै पनि खोपको पहुँचमा नरहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ८५ प्रतिशत मानिस खोपको पहुँचभित्र छन् । सन् १९९० को तथ्याङ्अनुसार खोप नलगाएकै कारण पाँच वर्ष नहुँदै एक सय ४२ को मृत्यु हुने गरेकोमा हाल त्यो संख्या घटेर ३९ मा पुगेको छ ।

सोही तथ्याङ्अनुसार एक वर्ष मुनिका ९९ बालबालिकाको मृत्यु हुने गथ्र्यो । अहिले सो संख्या घटेर २४ पुगेको सोसाइटीले जनाएको छ । 

सबै मानिसलाई खोप आवश्यक

खोपले समान्य खालका मात्रै नभएर कडा खालका रोग समेत निर्मुल पार्ने हुँदा यसको पहुँचमा सबै मानिसलाई ल्याउन आवश्यक रहेको सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टले बताए ।

‘खोप बच्चालाई मात्रै आवश्यक  होइन, गर्भवती, इमियुनिटी कम भएका, मानव अंग ट्रान्सप्लान्ट गरेका व्यक्तिदेखि, वृद्धवृद्धलाई पनि आवश्यक हुन्छ’, डा. विष्टले भने ।

‘लहरेखोकी, हेपटाइटिस बी, क्यान्सरलगायतका रोग खोपबाटै निर्मुल हुने हुँदा खोप मृत्यु नभएसम्म जो कोहीलाई जति बेलामा पनि आवश्यक हुन्छ’, उनले थपे । तर, कतिपयलाई खोप लगाएमा झन् समस्या बढ्छ भन्ने भ्रम अझै रहेकोमा यो अन्धविश्वास हटाउन समेत सुझाव दिए ।

सरकारले घोषणा गरेको पूर्ण खोपयुक्त जिल्ला अभियान अनुसार हालसम्म ५६ जिल्लामा शुक्ष्म योजनाबाट खोप कार्यक्रम भइरहेको डा. विष्टले बताए ।

उनकाअनुसार बाँकी जिल्लामा पनि यो योजना लागू गर्न स्थानीय स्तरमै बजेट विनियोजना गरिसकेको छ ।

सबै जिल्लामा कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुन् भनेर शुक्ष्म योजना, समुदाय परिचालनलगायतका काम गरिरहेको परिवार महाकल्याण महाशाखाका खोप नियन्त्रण प्रमुख डा. झलक गौतमले बताए । 

स्वास्थ्यमा जम्मा पाँच प्रशित बजेट
विश्व स्वाथ्य संगठनले नै स्वास्थ्यका क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने भनिरहँदा नेपालमा भने मात्रै पाँच प्रतिशत विनियोजन हुने गरेको कान्ति अस्पतालका निर्देशक डा गणेशकुमार राइले बताए ।

खोपलाई अझै बिस्तार गर्न र स्वास्थ्य क्षेत्रलाई स्तरोन्नती गर्न बजेट बढाउनु पर्ने उनको भनाई छ । 

सरकारले ११ वटा खोप निःशुल्क गर्दै आइरहेको छ । यसबाहेक हेपटाइटीस, मेनेन्जाइटिस, रोटा भाइरस, चिकेनपप्स, डिपीटि बुस्टर (लहरेखोकी) लगायतका खोप पनि लाउन आवश्यक रहेको डा. गौतमले बताए ।

उनले यससँगै जन्मने बित्तिकै ‘भिटामीन के’को खोप लागाउन पनि आवश्यक रहेको बताए ।

नेपाल सरकारले निःशुल्क गरेका खोपबाहेक आवश्यक यी खोप महंगो हुने हुँदा यसलाई आफ्नो क्षमताअनुसार लगाउनुपर्ने डा. गौतमको सुझाव छ । 

खोपले काम गर्छः सबैलाई बचाउँ’ भन्ने विश्व स्वास्थ्य संगठनको नारासहित २४ देखि ३० अप्रिल (११ देखि २७ वैशाख) सम्म ‘विश्व खोप सप्ताह’  देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

यसकारण वैशाख महिनालाई विश्व खोप महिनाका रुपमा लिइएको छ ।

Last modified on 2019-04-29 15:43:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts