नेपालको औषधि बजारः आत्मनिर्भरताको रटानमात्र, संख्यात्मक वृद्दि गुणात्मक कहिले ?

काठमाडौं, २० वैशाख । औषधि उत्पादन जटिल प्रक्रिया हो । प्रक्रिया पूरा गरेर एउटा जेनेरिक औषधि उत्पादन गर्न नेपाल जस्तो देशमा कम्तीमा दुई वर्ष लाग्छ ।
गुणस्तरीय औषधि उत्पादनमा विभिन्न किसिमका संवेदनशिलता अपनाउनु पर्ने औषधि उद्योगीहरू बताउँछन् । स्वाथ्यमा आएका समस्या समाधान गर्ने हुँदा हरेक औषधि प्रभावकारी हुनु आवश्यक मात्रै होइन जरुरी पनि हो ।
औषधि विज्ञ बाबुराम हुमागाई औषधि देख्नमा पनि राम्रो र खानामा मिठो हुनु पर्ने बताउँछन् । मिठो यस अर्थमा की औषधिले औषधिकै काम गर्नुपर्छ । उनले औषधि गुणस्तरीय छ भनेर मात्रै नहुने पनि बताए ।
औषधि विज्ञ हुमागाईंले भने, ‘औषधि गुणस्तरीय छ भनेर मात्रै हुँदैन, त्यो कति प्रभावकारी छ, भन्नेमा भर पर्छ ।
गुणस्तरीय औषधि भन्ने तर कुन समस्या समाधानका लागि बनेको हो, त्यसले कति समयमा कति प्रभाव पार्नुपर्ने हो, सो अनुसार भएन भने गुणस्तरीय औषधि भन्नुको अर्थ हुँदैन’, उनले थपे । नेपालमा गुणस्तरीय औषधि भनेर गुणस्तरहीन थुप्रै औषधि भारतबाट भित्रने गरेका छन् ।
भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि खुला सिमानका कारण नेपालमा सहजै भित्रन्छन् । साथै नेपाली बजारमा खुलेआम छ्यापछ्याप्ती बिक्री भइरहेको उनको भनाइ छ ।
तर सरकारले प्रभावकारी रुपमा बजार अनुगमन नगर्दा गुणस्तरहीन औषधि नेपाली बजारमा खुलेआम बिक्री भइरहेका छन् । यसको मार आम उपभोत्तालाई परिरहेको छ ।
औषधि व्यवस्था विभागको तथ्याङ्कअनुसार नेपालमा पैठारी हुने ३५ वटा भारतीय औषधि कम्पनी मध्ये नौ भन्दा बढी कम्पनीको जिएमपी ( गोड म्यानुफ्याक्चरिङ प्राक्टिसेस) फेल भएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकाल पनि भारतको सोही कम्पनीबाट आएका गुणस्तरहीन औषधि बिक्री भइरहेका स्वीकार गर्छन् ।
उनले भने ‘गुणस्तरहीन औषधि आज मात्रै होइन वर्षौअघि देखि भित्रीरहेका छन् । ती औषधि त बिक्री मात्रै नभएर आम मानिसले प्रयोग पनि गरेका छन् ।’
जिएमपी फेल भएका औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर भने पर्दैन ।
तर, जुनसुकै औषधि कम्पनीले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गुणस्तरयुक्त औषधि बनाउनुपर्ने हुन्छ । महानिर्देशक ढकालले जिएमपी फेल भएका कम्पनीका औषधि अब नभित्राउन जोड दिने बताए ।
त्यस्ता औषधिको कारोबार गर्ने कम्पनीलाई नविकरण नगरिने उनको भनाइ छ ।
नेपालमा उत्पादित औषधि तथा भारतमा उत्पादित औषधिमा प्रभावकारी अनुगमन गर्नुपर्ने औषधि विज्ञ हुमागाई बताउँछन् । गुणस्तरहीन औषधि त भित्ररहेका छन् नै, यससँगै औषधि महंगोमा किन्न बाध्य छन्, आम उपभोक्ता ।
उत्पादकले कम मुल्यमा औषधि बिक्री गर्ने खरिदकर्ताले महंगो लिएर उपभोक्ता ठग्ने गरको हुमागाई बताउँछन् । उनी भन्छन्, औषधि खरिदमा पनि बिचौलिया हाबी छन् ।
आम उपभोक्ता महंगोमा औषधि किन्न बाध्य छन्, यसकारण औषधि मूल्यको सिमा निर्धारण हुनैपर्छ ।’
नेपालमा औषधि उद्योग त बढे तर गुणस्तरमा बेवास्ता
नेपालमा केही वर्षयता औषधि उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । हाल यहाँ ५३ वटा औषधि उद्योग संचालनमा छन् । ३० वटा औषधि उद्योग दर्ताको पक्रियामा रहेको औषधि उत्पादक संघका अध्यक्ष दिपकप्रसाद दहालले बताए ।
संख्यात्मक हिसाबले औषधि उद्योग बढे पनि सबैले एकै प्रकारका औषधि उत्पादनलाई जोड दिइरहेका छन् । फरक किसिमका गुणस्तरीय औषधि उत्पादन नगरेकै कारण नेपाल औषधिमा आत्मनिर्भर बन्न नसकेको विज्ञहरूको भनाइ छ ।
औषधि विज्ञ हुमागाईका अनुसार नेपाल औषधिमा आफैं आत्मनिर्भर बन्नसके बाहिरबाट गुणस्तरहीन औषधि भित्रने जोखिम कम हुन्थ्यो । उनी नेपाललाई औषधिमा आत्मनिर्भर बन्न कुनै अप्ठयारो नभएको बताउँछन ।
उनी भन्छन्, ‘सरकारले औषधि उत्पादनलाई प्राथमिकता राख्ने हो भने गाह्रो छैन । तर, नेपालमा उत्पादन हुने औषधि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खालको हुनुपर्छ’,
औषधिमा आत्मनिर्भर तर अपूर्ण
औषधिविज्ञ राजनबहादुर राउत भने नेपाल केही औषधि उत्पादनमा भने आत्मनिर्भर भइसकेको दावी गर्छन ।
उनले भने ‘सबै किसिमका औषधिमा पूर्ण हुनुपर्छ, तर नेपालमा क्याप्सुल मात्रै बन्छ, सोही रोगको इन्जेक्सन भने बन्दैन ।’
जसरी नयाँ औषधि उद्योग थपिदैं गएका छन्, त्यसरी नयाँ–नयाँ औषधि उत्पादन भने हुन नसकेको उनको भनाइ छ ।
‘हामीलाई कति परिणाममा कस्ता औषधि आवश्यक पर्छ, सो अनुसार पुग्छ/पुग्दैन हेरर सबै तवरबाट आत्मनिर्भर भएपछि मात्रै पूर्ण भएको मानिन्छ, एकथरि छ अर्को थरि नभएपछि कसरी आत्मनिर्भर भन्ने ?’, उनले प्रश्न गरे ।
औषधि विज्ञानका विद्यार्थी एवं लोमश फर्मास्युटिकल्स निर्देशक प्रज्वलजंग पाण्डेले भने नयाँ उद्योग थपिएसँगै नयाँ–नयाँ औषधि बन्न सुरु भइसकेको दाबी गरे ।
‘नयाँ औषधि उत्पादन प्रक्रियामा छन्, त्यसको परिणाम आउन त केही वर्ष लाग्छ’, उनले प्रष्टाए । जस्तै, एन्टि क्यान्सर मेडिसिन उत्पादनको क्रममा छ । ‘तर परिणाम नआएसम्म हामी यसबारे अहिले बोल्दैनौ, यससँगै एक सय नयाँ औषधि थपिने प्रक्रियामा छन्’, निर्देशक पाण्डेले थपे ।
उनले कुनै पनि देश औषधिमा पूर्ण आत्मनिर्भर नहुने बताए ।
नेपाल जनरल औषधिमा प्रर्याप्त हुनसक्छ । सरकारले पनि यहाँ प्रशस्त उत्पादन हुने औषधि ल्यान रोक लागाउनुपर्ने उनी बताउँछन् ।
उनले भने ‘सरकारले मुलुकमा प्रशस्त उत्पादन हुने औषधि आयतमा रोक लगाउने भनेर नीति ल्याइसकेको छ, यसलाई सरकारले चाहेमा तत्काल कार्यान्वयन गर्नसक्छ ।
सरकारले सो नीति कार्यान्वयन गरे ४० प्रतिशत औषधिमा आत्मनिर्भर हुन्छौं ’
औषधि उत्पादक संघका दहालले भने नेपाल ७० प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेको दावी गरे ।
उनले भने ‘हामी ७० प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेका छौं, तर सरकारले भने ०६१ सालमा ल्याएको नीति हालसम्म कार्यान्वयन गर्न सकेको छैन ।’
चालू आर्थिक वर्ष ०७५/०७६ को बजेटको बुँदा नम्बर ३३ मा समेत अत्यावश्यक औषधि उत्पादन बढाउन अभिपे्ररित गरिने उल्लेख । तर व्यवहारमा सरकारले केही नगरेको उनको आरोप छ ।
अध्यक्ष दहालले भने ‘तल्ला निकायबाट पठाइएको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेपछि अड्किन्छ, सरकारले चाहेमा छिनभरमै हुने काममा पनि किन अड्किरहेको छ ?
उनले औषधि जस्तो संवेदनशील वस्तु उत्पादन सहजता बनाउन समेत सरकार पछि हटेको गुनासो गरे ।
‘नेपालमै औषधि उत्पादन बढाउन हामी लागिपरेको छौं । तर सरकारले किन बेवास्ता गरिरहेको छ ?’, दाहालले प्रश्न गरे । ‘सरकारले हाम्रो लगानीको ग्यारेण्टि गर्दियोस्, मुलकलाई दुई वर्षमा ९० प्रतिशत औषधिमा आत्मनिर्भर बनाउन सक्छौ’ उनले थपे ।