शहीद धर्मभक्त केन्द्रका नर्सले लगाएको ताला संघले जर्वजस्ति फुटाएको आरोपः धर्ना जारी



Download our app to get more features

काठमाडौं २३ वैशाख ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुले नेपाल नर्सिङ संघमा लगाएको ताला जर्वजस्ति फुटाएको आरोप लगाएका छन् । चौध दिनदेखि आन्दोलनरत नर्सहरुले सोमबार बिहान संघमा ताला लगाएका हुन् ।

आइतबार राति संघकै प्रांगणमा रात कटाएका नर्सहरुले बिहान ६ बजे लगाएको ताला संघकै पदाधिकारीले करिब १० बजे फुटाएको बताए । माग पूरा नभएसम्म पछाडि  नहट्ने उनीहरुको दाबी छ । 

यसअघि पनि पटक–पटक केन्द्रका निर्देशक पुकार चन्द्र श्रेष्ठसहित बसेको वार्ता निष्कर्शविहीन भएपछि नर्सहरुले वैशाख ९ गते कालोपट्टी लगाएर बिरामीलाई सेवा दिएका थिए ।

तरपनि कुनै किसिमको निर्णय नआएपछि इमर्जेन्सी, डायलेसिसबाहेकको सेवा बन्द  गरि आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनरत एक नर्सले बताइन् ।

डा श्रेष्ठले केन्द्रको वार्षिकोत्सव वैशाख ११ गते माग सुनुवाई गर्ने बताएता पनि केही कुरै नगरिएको उनले बताइन् । तर, भोलिपल्टै वैशाख १२ गते राति त्रुटियुक्त विज्ञापन निकालिए पछि झनै चकित भएको आन्दोलनरत नर्सले बताए ।

सात वर्षदेखि सेवा दिदै आएका नर्सलाई कुनै ढंगबाट पनि नमिल्दो खालको विज्ञापन निकालेर निर्देशक डा श्रेष्ठले अस्पतालमा आफ्नो मान्छे छिराउन राजनीति गरेको उनीहरुको आरोप छ।

अस्पताल भित्रकै कर्मचारीलाई बेवास्ता गरेर ९६ कोटा खुल्लामा विज्ञापन गरिएको भन्दै केन्द्रमा कार्यरत स्टाफ नर्सहरु अझै आक्रोशित भएका हुन् ।

केन्द्रले रातारात निकालेको विज्ञापनप्रति रुष्ट भएका नर्सहरुलाई गत शुक्रबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वार्ताका लागि बोलाएको थियो ।

तर, नर्सहरुलाई वार्तामा सामेल नगरेको र निष्कर्शविहीन वार्ता भएको उनीहरुको भनाई छ । वार्ता निष्कर्शविहीन भएपछि मन्त्रालय परिसरमै नर्सहरुले आक्रोश पोख्न थालेपछि प्रहरीले उनीहरुलाई घिर्सार्दै हिरासतमा लगको थियो ।

त्यसलगत्तै संघका अध्यक्ष पोखरेललाई जानकारी दिदा कुनै सहयोग नगरेको नर्सहरुको भनाई छ । ‘उहाँले यत्ति राति केही गर्न सक्दिन भनेर फोन काट्नुभयो, त्यसपछि पटक पटक फोन गर्दा  फोन नै उठाउनु भएन’, आन्दोलनरत एक नर्सले बताइन् ।

आफना छोरीहरु शोषणमा पर्दा पनि नर्सिङ संघजस्तो हाम्रो अभिभावक समेत चुप बस्नुमा शंका लागेको उनले बताइन् । 

प्रहरी दमन बन्द गर, जोखिम भत्ता लागु गर, नर्सको उचित सम्मान गर, तारा पोखरेल राजीनामा दे लगायतका नारासहित धर्ना हाल जारी नै छ । 

यस्ता छन् नर्सहरुको माग ?

 सबै कर्मचारीहरुलाई समयमै तलब प्रदान गर्नुपर्ने 

सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने।

 ठेकेदार प्रकिया हटाएर कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यावस्था गर्नुपर्ने
पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने।

 पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनु पर्ने।

Last modified on 2019-05-08 12:35:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts