छ– छ महिनामै बाथरोग विरुद्ध ४२ हजारको इन्जेक्सन, निःशुल्क उपचारको व्यवस्था गर्न माग



Download our app to get more features

काठमाडौं २६ वैशाख ।  कपडा व्यापार गर्दै आएका काठमाडौंका स्थानीय वसिन्दा अम्मनाथ जोशी ३० वर्षदेखि बाथरोगबाट ग्रसित छन् ।  अहिले ६२ वर्ष पुगिसकेका जोशीलाई ३२ वर्षको उमेरदेखि नै ढाड दुख्ने समस्याले पिरोलेको थियो ।

सुरुमा कहिलेकाहीँ दुखेपछि निको होला भन्ने आशाले तुरुन्त अस्पताल गइ हालेनन् उनी । यो समस्याले  अझै बढी च्यापेपछि अस्पताल नगई सुख पाएनन् जोशीले । 

चिकित्सकलाई देखाएपछि आफूलाई भएको पीडा निर्मूल हुन्छ भन्ने सोचले ललितपुरस्थित एक अस्पतालमा छिरेका जोशी निराश भएर फर्किएको बताउँछन् ।

‘मात्रै ढाड दुखेर अस्पताल गएको डक्टरले  पूर्ण रुपमा निको नहुने बाथ रोग लागेको भनेपछि तर्सिएको थिए म’, उनले सम्झिए । उपचार नै नहुने कस्तो रोग होला आफूले आफैंलाई धेरैपटक प्रश्न गरेको बताउँछन्,  जोशी ।

बाथको पहिलो चरणमै अस्पताल पुगेको भए धेरै समस्या भोग्न नपर्ने बताउँदै उनले आफु हाल बाथको दोस्रो चरणमा रहेको बताए ।

सोही समयमा  उपचार छैन भनेपछि व्यायाम गर्दै, पेन किलर खाँदै आफ्नो पीडालाई मत्थर बनाउने कोसिस गर्दै आए जोशीले । 

दोस्रो चरणबाट नबढोस् भनेरै विगत ३ वर्षदेखि जोशीले बायोलोजिकल इन्जेक्सन लगाउँदै आएका छन् । हालसम्म ६ पटक इन्जेक्सन लगाइसकेका उनको तीन लाख खर्च भइसकेको छ ।

एउटै इन्जेक्सनको ४२ हजार मूल्य तिरेर लगाउन बाध्य भएको पीडित श्रेष्ठले दुःखेसो पोखे ।

रातोपुलस्थित बाथ रोग सेन्टरमै उपचार गर्दै आएका उनले भने ‘हामी व्यापार गर्दै आएका काठमाडौंबासीलाई त उपचार गर्न गाह्रो छ भने आर्थिक अभाव भएका गरिब व्यक्तिले यति महंगो उपचार कसरी गर्लान् ?’  

सबै बाथपीडितलाई औषधि उपचारको पहुँचमा ल्याउन सरकारले निःशुल्क उपचारको व्यवस्थापन गर्नुपर्ने जोशीको आग्रह छ । 

उनीजस्तै बायोलिजिकल जस्तो महंगो  इन्जेक्सन लगाउने  बाथ रोग सेन्टरमा ९४ जना  रहेका छन् । सेन्टरमा आएका २२ हजार बिरामीमध्ये ७ सयमा ढाडको बाथ रहेको सेन्टरका बाथरोग विशेषज्ञ डा. बिनित वैद्यले जानकारी दिए । 

उपचारका लागि  सेन्टरमा आएका कतिपय बाथ रोगीले केही समय उपचार नियमित गरेपनि आर्थिक अभावका कारण बिचमै छोड्ने गरेको डा. वैद्य बताउँछन् ।

‘जिवनभरि औषधि खानुपर्छ भनेपछि  बिरामीहरु आँत्तिने गर्छन्, कतिपय बिरामी आर्थिक अभावका कारण पीडा बोकेर पनि आफ्नौ दैनिकी गुजारीरहेका छन्, जसले गर्दा अपाङ्गता हुन्छ’, उनले भने ।  

यो रोगका उपचारमा निःशुल्क गर्नुपर्ने भन्दै पटक–पटक घच्घचाउँदा समेत सरकारले वेवास्ता गरेको डा. वैद्यको आरोप छ । 

मुलुकमा ४० लाख मानिस कुनै न कुनै बाथ रोगबाट ग्रसित रहेको भन्दै डा. वैद्यले ती सबैलाई उपचारको पहुँचभित्र ल्याउने सरकारले सहज वातावरण सृजना गर्नुपर्ने बताउँछन्।

‘६ महिनाको अन्तरालमा लगाउनुपर्ने बायोलोजिकल इन्जेक्सनको नै ४२ हजार लाग्छ’, उनले भने ।

‘त्यत्रो रकम तिरेर न्यून आय भएका व्यक्तिले निरन्तर उपचार गर्नसक्ने अवस्था नभएको हुँदा सबै बाथरोगीलाई सरल उपचारको पहुँचभित्र ल्याउन सरकारले ध्यान दिनुपर्छ’, डा. वैद्यले थपे ।

Last modified on 2019-05-10 09:15:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts