विश्व लुपस दिवस

डरलाग्दो रोग लुपसः पुरुषलाई भन्दा महिलालाई ९ गुणा बढी

लक्षण के–के ? यस्ता कुरामा ध्यान दिउँ



Download our app to get more features

लुपस एकदमै डरलाग्दो एकप्रकारको बाथ रोग हो । शरीरका जुनसुकै भित्री अंगलाई समात्ने यो रोग दीर्घकालिन रोग हो ।

यसको पूरै उपचार सम्भव नभएता पनि नियन्त्रण भने गर्न सकिन्छ । तर, भित्री अंगलाई समात्नुअघि उपचार नगरेमा वा यस रोगलाई वेवास्ता गरेमा मानिसको ज्यान समेत जानसक्छ ।

लुपसको उपचार लक्षण सुरु भएको ३ महिनादेखि १ वर्षभित्रमा उपचार गरिएमा यसबाट हुने नकारात्मक असरलाई नियन्त्रण गर्न सकिन्छ। यसकारण यस रोगको समयमै पहिचान गरेर उपचार गर्न आवश्यक छ ।

समयमै उपचार पाएमा शरीररका विभिन्न अंगलाई बचाउन सकिन्छ ।

लुपसले शरीरका स्वस्थ कोशिका र तन्तुहरुमा घात गर्छ । यो एक क्रोनिक अटोइम्युन डिजिज हो। इम्युन सिस्टमले ‘एन्टिबडिज’ नामक प्रोटिन उत्पादन गर्छ, जसले भाइरस, ब्याक्टेरियाको जोखिमबाट बचाउँछ । तर लुपस रोग लागेपछि ‘अटोएन्टिबडिज’ उत्पादन भई स्वस्थ कोषिकालाई नष्ट गरिदिन्छ । 

यसकारण मानिसको रोगसँग लड्ने क्षमता कमजोर हुँदै जान्छ । विशेष कोषिकाहरुले आफ्नै शरीरका कोषिकाहरुलाई नष्ट गर्न थाल्छ ।

जब रोगसँग लड्नसक्ने क्षमताले शरीरका आफ्नै शरीरका कोषिकाविरुद्ध काम गर्न सुरु गर्छ, त्यसपछि लुपस देखापर्छ ।

लुपस देखा परेपछि आँखा, मिर्गौला, मष्तिष्क, फोक्सो, छाला लगायत शरीरका अन्य भित्री अंगहरुलाई बिगार्न थाल्छ । विशेषगरी मिर्गौलामा आक्रमण गरेको केस बढी आइरहेका छन् । 

आमाको गर्भमा रहेको  बच्चादेखि बृद्धसम्म देखिन सक्ने यो रोग बढीजसो १५ देखि ४५ वर्ष उमेर समूहकालाई देखा पर्छ । पुरुषको तुलनामा महिलालाई ९ गुण बढी यो रोग देखन्छि । 

लक्षण
सामान्यतया लुपसले  छालामा असर गर्छ। अनुहारमा पुतली आकारको दाग आउने, चिलाउने, खटिरा आउने, सूर्यको प्रकाशमा बाहिर निस्कन गाह्रो हुने, जोर्नी दुख्ने, केश अत्याधिक झर्ने लक्षण देखापर्छन् ।

मिर्गौलामा आक्रमण भएपछि प्रोटिन भन्ने तत्व जान्छ, जसले गर्दा हातखुट्टा सुन्निन सुरु हुन्छ ।  मुटुमा आक्रमण भएको छ भने छाती दुख्ने, साँस फेर्न असहज हुन्छ ।

फोक्सोमा असर गरेको छ वा पानी जमेको छ भने खोकी लाग्ने, मस्तिष्कमा गाह्रो भयो भने बारम्बार टाउको दुखिराख्ने, सोच्नसक्ने क्षमता कम हुने, आँखा देख्न समस्या हुने, आँखा धमिलो हुने, बेहोस् हुने, मुखभित्र घाउ आइरहने लगायतका  लक्षण देखापर्छन् । 

लुपस रोग कसैलाई सुरुवाती चरणमै लाग्नसक्छ भने कसैलाई ढिलो विभिन्न अंगमा असर गर्दै जानसक्छ ।  

कारण
लुपस रोग कसरी लाग्छ भनेर वास्तविक कारण भने अझै पनि पत्ता लागको छैन ।  वंशाणुगत रोग नभएर विशिष्ट जिनका कारण लुपस देखापर्छ । 
हार्मोनको कारणले पुरुषमा भन्दा महिलामा लुपस रोग बढी देखिएको छ ।  

कसरी एकएक अंगलाई प्रभावित बनाउँदै जान्छ भन्ने ठोस कारण भने छैन ।  

जुन अंगलाई असर गर्छ, त्यहीअनुसार रोगको उपचार गरिन्छ। रोगको उपचार व्यक्तिअनुसार फरक–फरक हुनसक्छ। 


सावधानी

घामको किरणबाट लुपस रोग बड्ने  हुँदा बाहुला भएको लुगा लगाउने, सन ब्लक प्रयोग गर्ने 
 

चिल्लो कम खाने, फलफूल, हरियो सागपात, तरकारी, थोरै मात्रामा माछा–मासु खाने 

नुन कम मात्रामा खाने र नियमित व्यायाम गर्ने 

गर्भवती महिलामा बढी जोखिम हुने हुँदा गर्भवती हुनुअघि चिकित्सकको सल्लाह लिने, गर्भ खेर जाने सम्भावना बढी भएकाले गर्भवती अवस्था नियमित जाँच गर्ने

नियमित फलोअपका साथै कुन अंगलाई असर गरेको छ सोहीअनुसारको औषधि नछुटाई सेवन गर्ने

रोग नियन्त्रण नभएमा डाक्टरको सुझावअनुसार अनिवार्य जाँच गराउने

नियमित व्यायाम गर्ने 

यो रोग लागेको व्यक्तिलाई निमोनिया र फलु भ्याक्सिन लगाउनुपर्छ ।                        

विश्वमा प्रत्येक १ लाख व्यक्तिमा २० जनालाई यो रोग लागेको छ । विशेषतः १५ देखि ४५ वर्ष उमेर समूहका महिनावारी भइरहने महिलामा यो रोग लागेको पाइएको छ ।  महिनामा ७/८ जना नयाँ लुपसका बिरामी पत्ता लागिरहेको  छ ।  

Last modified on 2019-05-11 12:01:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts