ल्याब र डाइग्नोष्टिकः गुणस्तरीयता र एकरुपतामा प्रश्न



Download our app to get more features

काठमाडौं, ६ वैशाख ।

घटना १
बाबुको मिर्गौलामा समस्या भएपछि महोत्तरीका राम मनोरथ ठाकुर उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुगे ।

अस्पतालको सल्लाह अनुसार अनुसार उनले बाबुको डाइग्नोष्टिकका लागि अस्पताल बाहिरको एक मेडिकल ल्याबमा लगे । ल्याबबाट प्राप्त रिपोर्टका आधारमा अस्पतालले उपचार पक्रिया अगाडी बढायो । तर, समस्या निको हुनुको सट्टा झन् बल्झियो । रोग निको हुनुको साटो बढ्दै गएपछि डाक्टरले नै उनको बाबुलाई जनकपुर भन्दा बाहिर लैजान सुझाव दिए ।

चिकित्सकको सल्लाह अनुसार नै उनले बुबालाई भक्तपुरस्थित शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा लगे । यसअघि पनि मिर्गौलामा समस्या देखिएपछि उनले बाबुलाई भारतमा लगेर उपचार गराएका थिए ।

अंग प्रत्यारोपण केन्द्र पुग्दा डाक्टरले फेरि डाइग्नोष्टिक गर्नुपर्ने बताए । उनले बाबुको डाइग्नोष्टिक अस्पतालकै ल्याबमा गराए । जनकपुरको रिपोर्ट र अंग प्रत्यारोपण केन्द्रको रिपोर्टमा निकै फरक देखियो । उनको बाबुको मिर्गौलामा पत्थ्तरी भएको रहेछ । त्यसको आकार निकै ठूलो भएको रिर्पोटमा उल्लेख थियो । 

घटना २ 
जुम्लाका ४० वर्षिय हरिबहादुर रोकाया छातीमा समस्या भएपछि उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा गए । घर नजिकैको स्वास्थ्य संस्था पुगेका रोकायाले स्वास्थ्यकर्मीको सल्लाहसुझाब अनुसार सबै परीक्षण गराए ।

ल्याबबाट प्राप्त रिर्पोट लिएर उनी फेरि डाक्टरसँग परामर्श लिन गए । रिपोर्ट अनुसार डाक्टरले उनलाई औषधि दिए । उनी पनि बिराम निको हुने आशले खुसी हुँदै घर फर्किए । तर नछुटाइकन औषधि खाँदा पनि उनी सञ्चो भएनन् । झन रोगले गाँज्दै लग्यो ।

परिवारका अन्य सदस्यले उनलाई इमर्जेन्सी नेपालगञ्ज ल्याए । नेपालगञ्जमा डाक्टरले फेरि डाइग्नोष्टिक गर्न लगाए । त्यहाँको रिपोर्ट अनुसार उनको मुटुमा प्वाल रहे । मुटुको भल्ब पनि बन्द थियो । 

घटना ३ 
१३ वर्षिय छोरालाई लिएर सप्तरीका हरिदेव सदा राजविराजस्थित एक निजी अस्पताल पुगे । छोरालाई कमजोरी हुने, रिङ्गाटा लाग्ने भएपछि उनी अस्पताल पुगेका थिए ।

महोत्तरीका ठाकुर र जुम्लाका महतरा जस्तै हरिदेवले पनि अस्पतालको सुझाव अनुसार छोराको रगत, खकार, पिसाब आदिको जाँच गराए । त्यसपछि उनी रिर्पोट लिएर फेरि डाक्टरसँग परामर्शका लागि पुगे । डाक्टरले रिपोर्टमा भए अनुसारको औषधि लेखेर दिए । उनी छोरालाई लिएर घर फर्के । केहिदिन सम्म औषधि सेवन गरेर पनि छोरालाई सञ्चो नभएपछि उनी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे ।

अस्पतालका डाक्टरले उनलाई फेरि जाँच गराएन भने ।

सदा छोरालाई लिएर फेरि ल्याब गए र रिर्पोट लिएर फर्के । पहिले र पछिको रिपोर्टमा धेरै नै फरक भेटिएपछि डाक्टरले औषधि परिवर्तन गरे । उनको छोरा अहिले ठिक छन् । 
माथिका यी ३ प्रतिनिधिमुलक घटना मात्रै हुन् ।

पछिल्लो समय बढ्दै गएको ल्याब र डाइग्नोष्टिक सेन्टरमा गुणस्तरीय जाँच नहुँदा बिरामीहरू थप समस्यामा पर्ने गरेका छन् ।

सरकारबाट अनुमति लिएर वा नलिइ सञ्चालन भएका यस्ता ल्याबका कारण सेवाग्राहीको पैसा, समस्य र स्वास्थ्यमा गम्भीर समस्या निम्ति रहेको छ । सरकारले यसरी च्याउँ झै खुलेका ल्याबको निरन्तर अनुगमन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

डा. सनत चालिसे
कन्सल्टेन्ट प्याथोलोजिस्ट

सरकारको अनुगमन फितलो भएको कारण च्याउ सरह ल्याब र डाइग्नोष्टिक सेन्टर खुलको हुन् । जसको नतिजा गुणस्तरीय रिपोर्ट नआउँदा डाक्टरहरूमाथि नै प्रश्न पनि उठ्ने गरेको छ ।

मापदण्ड नै पुरा नगरेका ल्याब र डाइग्नोष्टिकलाई तत्काल कारवाही नगर्दा र अनुगमनको क्रममा मामदण्ड विपरित रहेका ल्याब र डाइग्नोष्टिक सेन्टरहरूलाई कारबाही नगर्दा उनीहरूको मनोबाल बढ्दै गएको छ ।  

ल्याब वा डाइग्नोष्टिक सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा नगरेका ठाउँमा गएर बिरामीले जाँच गर्दा रिपोर्ट सही आउन नसक्ने हुनाले बिरामी वा सेवाग्राही पनि सचेत हुनु आवश्यक छ ।

साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सञ्चालनमा रहेका ल्याब र डाइग्नोष्टिकको नियमित अनुगमन गर्नुपर्छ । मापदण्ड विपरित रहेका त्यस्ता ल्याब र डाइग्नोष्टिक सेन्टरलाई तुरुन्त कारबाही गर्नु पर्छ । ल्याब वा डाइग्नोष्टिक सञ्चालन गर्दा आईएसओ मान्यता प्राप्तलाई मात्र अनुमति दिनुपर्छ भने सेवाग्राही पनि सचेत हुनु पर्छ । 

अविनाश कर्ण, ल्याब टेक्निसियन
सरकारको कमजोरी नै हो जसका कारण अहिले ल्याबहरू अत्यधिक मात्रामा खुलेका छन् । कुन क्षेत्र र कति सेवाग्राही बराबर कति ल्याब राख्ने भन्ने सरकारलाई कुनै जानकारी छैन । साथै ल्याबसँग कस्ता समान छन् र कस्ता समान प्रयोग गर्नुपर्छ भन्ने समेत सरकारले निगरानी गरेको छैन । 

एउटा ल्याबमा चाहिने जनशक्ति छ की छैन, ल्याबमा हुने मेसिनहरू सही र म्याद भएका छन् की छैनन् भन्ने कुराको जाँच नै नगरि हचुवाको भरमा अनुमति दिँदा ल्याबको गुणस्तरीयतामा माथि प्रश्न उठ्नु स्वभाविक पनि हो ।

यस्ता ल्याबबाट गुणस्तरीय रिपोर्ट नआउने हुनाले बिरामीको उपचार नै गलत पनि हुनसक्छ । त्यसका लागि पहिला सरकार सचेत हुनु आवश्यक छ । अनुगमन संयन्त्रलाई सरकारले बलियो बनाउनु पर्छ । साथै सरकारबाट मान्यता प्राप्त ल्याबलाई मात्रै जाँचका लागि अनुमति दिनुपर्छ । अनिमात्र ल्याबको गुणस्तरीय रिपोर्ट आउँछ र कोही पनि बिरामीको उपचार गलत हुनबाट जोगिन्छ ।
 

Last modified on 2019-05-22 07:13:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts