विश्व स्वास्थ्य सम्मेलनः नेपालले दिगो विकासको लक्ष्य हासिल गरेको स्वास्थ्यमन्त्री यादवको भनाइ



Download our app to get more features

 

काठमाडौं, ८ जेठ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालले स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको बताएका छन् ।

जेनेभामा भइरहेको ७२ औं स्वास्थ्य सम्मेलनलाईं सम्बोधन गर्दै उनले नेपालले खस्रे रोग निवारणमा उपलब्धी हासिल गरेको साथै विश्व स्वास्थ्य संघले तोकेको समयावधि भन्दा दुई वर्ष अगावै रुवेला रोग नियन्त्रणमा ल्याइएको जानकारी दिए ।

“स्वास्थ्यमा सर्वव्यापी पहुँच सेवाबाट कोही पनि वञ्चित नहुने” भन्ने मूल नारा सहित सोमबारदेखि जेनेभामा शुरु भएको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालको सन्दर्भमा स्वास्थ्य सँग सम्बन्धित लक्ष्य हासिल गर्न गरिएका कार्यहरुले कसैलाई पनि सेवाबाट वञ्चित हुन नदिने उल्लेख गरे ।

मन्त्री यादवले स्वास्थ्यको एजेन्डालाई मुलधारमा ल्याई प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, औषधिको मूल्यमा नियन्त्रण, नसर्ने रोगहरुको भार कम गर्ने जस्ता कार्यहरु गरी गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच बढाउने कुरामा जोड दिए ।

यसैबीच चीनका राष्ट्रिय स्वास्थ्य आयोगका माननीय मन्त्री म छिवई र मन्त्री यादवबीच स्वास्थ्यको क्षेत्रमा द्वीपक्षीय पारस्परिक हित र सहयोगलाई सुदृढीकरण गर्ने बारे छलफल भएको छ ।

उक्त सम्मेलनमा भएको एक अर्को सत्रमा नेपाल सहित आठ राष्ट्रहरुले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन महिला, बालबालिका तथा किशोर किशोरीको स्वास्थ सम्बन्धि विश्वव्यापी रणनीतिको विषयमा छलफल भएको थियो । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले स्वस्थ जीवनको लागि विश्व व्यापी कार्ययोजनाको बारेमा धारणा राखेकी छिन् ।

उनले दिगो विकासको लक्ष्य प्राप्त गर्नको लागि नेपालले प्राथमिक्तामा राखेका कार्यक्रमहरु र आगामी दिनमा आउने चुनौतीका बारेमा जानकारी गराएकी थिइन् । साथै स्वास्थ्यको निम्ति पोषणको अपरिहार्यताको बारेमा पनि उनले बताएकी थिइन् । सम्मेलनमा विश्वका १ सय ९४ राष्ट्रका उच्च पदाधिकारी, नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागितता रहेको छ ।

Last modified on 2019-05-23 13:08:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts