प्रदेश ५ को नीति तथा कार्यक्रम: दमका राेगीलाई ५० हजारसम्म नि:शुल्क उपचार



Download our app to get more features

रुपन्देही ९ जेठ । प्रदेश नम्बर ५ को सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भएको छ । बिहीवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६–०७७ को नीति कार्यक्रम पेश गरेका हुन ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा स्वास्थ्य सम्बन्धी कार्यक्रम अन्र्तगत महत्वाकांक्षी योजनालाई समेटेको छ । जस अन्र्तगत ब्रोङकाइटिस र दमजन्य उपचारका लागि  बिरामीलाई ५० हजार सम्मको निःशुल्क उपचारको व्यवस्था गरेको छ । 

साथै प्रदेश सरकारले पञ्चवर्षीय योजनामा आधारित नीति कार्यक्रममा सरकारले सरकारी, निजी क्षेत्र तथा सहकारी बीचको सहकार्यलाई जोड दिने भएको छ । नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्र अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा रुपान्तरण गरी जटिल रोगको उपचार प्रदेशभित्रै उपलब्ध गराउने व्यवस्थाको शुरुवात गरिने उल्लेख छ । 

प्रदेश सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्य सम्बन्धी कार्यक्रम यस्ता छन्ः

स्वास्थ्य संस्थामा जन्मेका हरेक बच्चालाई जन्मनासाथ भिटामिन के दिने व्यवस्था मिलाइनेछ । 

राप्ती प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा विस्तार गरी जनशक्ति र उपकरणको प्रभावकारी व्यवस्थापन गर्दै लगिने पनि कार्यक्रम घोषणा गरिएको छ । सबै जिल्ला अस्पतालहरुमा न्यूनतम मापदण्ड कायम गरी रक्तसञ्चार, अक्सिजन, अपरेशन लगायतका सेवाहरु बिस्तार गरिने,अस्पतालहरुको सरसफाईमा अस्पताललाई नै जिम्मेवार बनाई दण्ड र पुरस्कारसँग आवद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ब्लड बैंक नभएका जिल्लामा ब्लड बैंक स्थापनाका लागि स्थानीय तहसँग सहकार्य गरिने बताइएको छ । रुकुम पूर्वमा जिल्लास्तरीय अस्पताल यसै आर्थिक वर्षदेखि संचालनमा ल्याइने पनि घोषणा गरिएको छ । सबै अस्पतालहरुमा सुधार योजनामा आधारित कार्यसम्पादन सम्झौता गरिने जनाइएको छ ।

आयुर्वेद, प्राकृतिक चिकित्सा लगायतका अन्य वैकल्पिक चिकित्सा पद्धतीको विकास र बिस्तार गर्दै लगिने, निःशुल्क वितरण हुने औषधिहरुको सर्वसुलभ उपलब्धताको सुनिश्चितता गरिने, यसका लागि समयमै औषधि खरिद, ढुवानी र भण्डारको प्रबन्ध मिलाइने उल्लेख गरिएको छ । प्रादेशिक औषधि आपूर्ति केन्द्रको क्षमता बिस्तार गर्ने, बालबालिकालाई लगाइने खोपको उपलब्धताका लागि स्थानीय तहहरुसँग सहकार्य गरिने पनि प्रदेश ५ ले नीति अवलम्बन गर्ने जनाएको छ ।

दृष्टि विहिनता र दृष्टिदोषका समस्यालाई हटाउन जोड दिइनेछ । यसका लागि प्रदेशका आँखा अस्पतालहरुसँग सहकार्य गरिनुका साथै प्रत्येक जिल्ला अस्पतालमा मोतियाबिन्दुको उपचार सेवा विस्तारका लागि आवश्यक पूर्वाधारको विकास गरिनेछ । प्रत्येक जिल्लामा दृष्टिदोष उपचार शिविर संचालन गरिनेछ । यसैगरी मुटुरोग, मिर्गौला र सिकलसेल एनेमिया जस्ता रोगहरुको सहज उपचारको व्यवस्था गरिनेछ । 

प्रादेशिक अस्पतालहरुमा भेन्टिलेटर सहितको एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ । पालिकास्तरमा एम्बुलेन्स सेवा विस्तार गरिनुकासाथै एम्बुलेन्स सेवाको सहज उपलब्धताका लागि संचालनमा आएका एम्बुलेन्सको ट्रयाकिङ गरिनेछ । 

गर्भवती, सुत्केरी आमाहरु र दुर्घटनाका घाइतेलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न स्थानीय तहसँग सहकार्य र प्रत्येक पालिकामा कम्तीमा एक एम्बुलेन्सको व्यवस्थाका लागि स्थानीय तहसँग सहकार्य गरिनेछ ।

विद्यालय तहको पाठ्यक्रममा प्रदेशको वस्तुस्थिति अनुरुप स्वास्थ्यसम्बन्धी विषयहरु समावेश गर्न पहल गरिनेछ । स्वास्थ्य व्यापार होइन, सेवा हो भन्ने मान्यतालाई व्यवहारमा अवलम्बन गरी न्यूनतम लागतमा सेवा प्रदान गर्न प्रदेश भित्रका निजी स्वास्थ्य संस्थालाई अभिप्रेरित गरिनेछ ।

स्वच्छ पानी, स्वस्थ जीवन भन्ने नाराका साथ पिउने पानीको परीक्षणका लागि प्रयोगशालाको स्थापना गरिनेछ । पानीजन्य रोगहरुको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ । पानीको शुद्धता मुहानमै मापन गरी मुहान प्रमाणीकरण गर्ने कार्य अभियानको रुपमा संचालन गरिनेछ । 

बालमैत्री, छुवाछुतमुक्त, पूर्ण साक्षर, पूर्ण खोप र पूर्ण सरसफाईयुक्त पालिका बनाउन स्थानीय तहहरुलाई प्रोत्साहन गरिने  निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Last modified on 2019-05-24 07:11:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts