‘मर्यादित महिनावारीबारे बोलौं’नारासहित साइकल र्याली

‘महिलासँगै पुरुषले पनि महिनावारीका विषयमा बुझ्न आवश्यक’



Download our app to get more features

 काठमाडौं, १० जेठ ।   केही वर्षदेखि  महिनावारीबारे चेतना बढाउने विभिन्न अभियान संचालन गर्दै आएको एक्स पोज नेपालले ‘मर्यादित महिनावारी बारे बोलौं’ नारासहित साइकल र्याली गर्ने भएको छ ।

महिनावारीको पक्षमा जनचेतना फैलाउने उद्देश्यका साथ छौठौं अन्तर्राष्ट्रिय महिनावारी सव्च्छता दिवसको अवसरमा एक्स पोजले  जेठ ११ गते र्याली आयोजना गर्ने भएको हो ।

एक्ज पोजले बिहीबार एक पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

महिलाले मात्रै नभएर पुरुषले पनि महिनावारीका विषयमा बुझ्न आवश्यक रहेको भन्दै एक्स पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पुरुषलाई बढी समावेश गरेर साइकल र्याली गर्न लागिएको बताए । उनकाअनुसार र्याली महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा हुने भएको छ ।

साइकल र्याली काठमाडौंको बसन्तपुर दरबार स्क्वायरबाट शुरु भई कान्तिपथ, पुतली सडक, अनामनगर, थापागाउँ, बानेश्वर, माइतीघर, कुपण्डोल, जाउलाखेल, लगनखेल हुँदै पाटन, मंगलबजारमा पुगी सभामा परिणत हुने भएको छ ।

साइकल र्यालीमा तीनसय भन्दा बढी नेपाली र विदेशीहरुको सहभागीता रहने अध्यक्ष महर्जनले बताए । 

सेनिटरी प्याड बनाउने तालिम 
एक्स पोज नेपाल संस्थाले बजारमा पाइने रेडिमेड स्यानीटरी प्याड भन्दा स्वस्थकर र खर्चका हिसाबले पनि किफायती हुने पुनः प्रयोग गर्न सकिने घरेलु प्याड बनाउने तालिम दिंदै आएको छ । 

पाँच वर्षमा ललितपुरका, काठमाडौं, भक्तपुर र रौतहटका ५० महिलालाई प्रशिक्षण दिइसकेको अध्यक्ष महर्जनले बताए ।

सूतीको कपडा र एउटा बटन प्रयोग गरेर बनाइने प्याडको तालिम लिएका महिलाबाट संस्थाले प्रतिगोटा ११५ रुपियाँको दरले खरीद समेत गरिदिन्छ ।

अध्यक्ष महर्जनका अनुसार संस्थाले हाल महिलाहरूबाट मासिक करिब एक हजार थान प्याड खरीद गरेर बजारमा बिक्री गरिरहेको छ ।

Last modified on 2019-05-24 10:29:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts