भरतपुर महानगरलाई आउँदो आर्थिक वर्षदेखि गुट्खामुक्त बनाइने 



Download our app to get more features

चितवन, १३ जेठ । चितवनको भरतपुरलाई आउँदो आर्थिक वर्षदेखि गुट्खामुक्त महानगर बनाइने भएको छ । 

महानगरको आगामी असार १० गते बस्ने नगरसभामार्फत गुट्खामुक्त नगर घोषणा गरेर बिक्रिवितरणमा रोक लगाइने महानगरकी प्रमुख रेणु दाहालले बताइन् । महानगरमा सोमबार आयोजित सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी बहुपक्षीय पैरवी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सूर्तिजन्य पदार्थको प्रयोग र बिक्रिवितरणलाई नियन्त्रण गर्ने अभियानस्वरुप आगामी नगरसभाबाट गुट्खा नियन्त्रण गर्ने घोषणा गरिन् । 
उनले भनिन्, 'हामीले सूर्तिजन्य पदार्थको नियन्त्रणमा हामीले काम गरिरहेका छौं । कतिपय अवस्थामा परिणाम देखिएको छैन । अब परिणाम देखिने गरि काम गर्छौं, सबैको साथ पाए आउँदो नगरसभाबाट गुट्खा नियन्त्रण गर्छौं ।' उनले सबैलाई यस कठोर निर्णयमा साथ दिन सबैलाई आह्वान गरिन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको पैरवी बैठकमा सहभागी विभिन्न सरोकारवाला निकायका अधिकारीहरुले सूर्तिजन्य पदार्थको प्रयोगले भइरहेको हानी र यसको नियन्त्रणका लागि बनेको कानून कार्यान्वयनका बारेमा बोलेका थिए । केन्द्रका सूर्तिजन्य पदार्थ नियन्त्रण तथा स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमखु डा. भक्तबहादुर केसीले विश्वभर वर्षैनी ७० लाखभन्दा बढि मानिसले प्रत्यक्ष ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गरे । नेपालमा प्रत्येक वर्ष सूर्तिजन्य पदार्थको सेवनकै कारणमात्र वार्षिक २५ हजारभन्दा धेरैले ज्यान गुमाइरहेका छन् । सरकारले सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखेको दिगो विकास लक्ष्य अनुसार सूर्तिजन्य पदार्थको सेवनबाट हुने मृत्युलाई ३० प्रतिशत न्यूनकरण गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न सबै स्थानीय तहले सूर्तिजन्य पदार्थको प्रयोग र बिक्रिवितरणमा न्यूनिकरण गर्नुपर्ने बताए । 

कार्यक्रममा सूर्तिजन्य पदार्थका नियन्त्रणमा क्रियाशिल एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले विश्वभरभर रहेका सूर्तिजन्य पदार्थका प्रयोगकर्तामध्ये ८० प्रतिशतभन्दा बढि नेपाल जस्ता अल्पविकसित मुलुकमा रहेकाले सूर्तिजन्य पदार्थ जनस्वास्थ्यको ठूलो चुनौति रहेको बताए ।  कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका केन्द्रिय कोषाध्यक्ष उद्धवराज भेटुवालले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियानमा स्वास्थ्य पत्रकारहरु क्रियाशिल भएको भन्दै सबै स्थानीय तहले गर्ने यस्ता कार्यक्रममा हातेमालो गर्न मञ्च तयार रहेको बताए । 

कार्यक्रममा भरतपुर महानगरपालिकामा रहको वीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सक डा. भोला शिवाकोटीले अस्पतालमा आएकामध्ये ३० प्रतिशतभन्दा बढि सूर्तिजन्य पदार्थको सेवनले क्यान्सर भएका बिरामी रहेको तथ्यांक प्रस्तुत गरे । सो अवसरमा बोल्ने अधिकांश वक्ताले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि राज्य र यसका अंग सक्रिय हनुपर्ने आवश्यक्ता औंल्याए ।  कार्यक्रममा स्वास्थ्य सूचना केन्द्रको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा स्वास्थ्य प्रवद्र्धन शाखाका स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कवरले सहजीकरण गरेका थिए । 

Last modified on 2019-05-28 14:09:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts