छैटौं स्वच्छता महिनावारी दिवसः स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात

महिलालाई गरिने विभेद आफैंबाट अन्त्य गर्नुपर्छः खानेपानी मन्त्री मगर



Download our app to get more features

काठमाडौं, १४ जेठ । खानेपानी तथा सरसफाई मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा ‘स्यानिटरी प्याड भेन्डिङ मेसिन’को सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले महिनावारीका समयमा महिलाहरुलाईसमस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनबाटै स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेको बताइन् । 

दुई रुपैंयाको सिक्का हालेपछि त्यस मेसिनबाट प्याड आफैं निस्कन्छ ।

मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्नसक्ने बताइएको छ । 
मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ ।

मेसिनको शुरुवाट गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरुमा पनि राख्दै लगिने बताइन् ।

‘यो त हामीले सुरुवात मात्र गरेका हौं, अझ सार्वजनिक महिला शौचालयहरुमा यो मेसिन राख्न पाइयो भने महिलाहरुलाई धेरै सहज हुनेछ, हामी विस्तारै अन्य ठाउँहरुमा समेत राख्नेछौं’, मन्त्री मगरले भनिन् ।  

मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा पनि  स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । 
 

महिलालाई गरिने विभेद आफैंबाट अन्त्य गर्नुपर्छः खानेपानी मन्त्री मगर

खानेपानी तथा सरसफाई  मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य सर्वप्रथम आफू र आफ्नै घरपरिवारबाट सुरु गर्नुपर्ने बताइन् ।

छैटा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्यका लागि सबैले अभियान नै चलाउनुपर्ने बताएका हुन् । 

महिनावारी प्राकृतिक नियमित प्रक्रिया भएको भन्दै उनले महिलाहरुमाथि गरिने अपमानजनक व्यवहारले महिलालाई चोट पुर्याउने बताइन् । 

मन्त्री मगरले भनिन् ‘महिनावारी त मानव सृष्टिको लागि हुने नियमित प्रक्रिया हो, तर हामीले यसलाई धर्म, संस्कृति र परम्परासँग जोडेका छौं’, महिनावारीप्रति रहेको यो गलत धारणा हरेक पुरुष र स्वंम महिलाले पनि तुरुन्त परिवर्तन गर्नुपर्छ ।’ 

यो छैटौं महिनावारी दिवसको नारा ‘मर्यादित महिनावारी अव त काम थालौं’ रहेको छ ।

Last modified on 2019-05-29 14:03:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts