प्रत्येक ३ सेकेन्डमा हुन्छ आत्महत्याको प्रयास, नेपालमा आत्महत्या गर्ने वर्षेनी १ हजारले बढे



Download our app to get more features

काठमाडौं, २० जेठ । पछिल्लो समय नेपालमा हत्या हिंसासँगै आत्महत्याका घटना पनि बढिरहेको छ । आत्महत्याको समस्या यति धेरै बढ्दो क्रममा छ कि, रोकथामको उपाय नै खोज्नुपर्ने अवस्था आएको छ ।  

सरकारको तथ्यांक अनुसार नेपालमा वर्षेनी झन्डै एक हजारका दरले आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।

पछिल्लो समय रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आत्महत्या गर्नेको संख्यामा उच्च वृद्धि भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तंथ्याक अनुसार आर्थिक वर्ष ०७५/०७६ को जेष्ठ १५गते सम्म १ सय ७५ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ८३ जना पुरुष र ९२ महिला रहेका छन् । 

रुपन्देहीमा सबैभन्दा बढी आत्महत्या तिलोत्तमा नगरपालिकामा भएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आ.व.०७५/०७६ मा तिलोेत्तमा नगरपालिकामा (वडा नम्बर १, २, १३ र १४ बाहेक) ३० जनाले आत्महत्या गरेका छन् । 

यसरी आत्महत्या बढेपछि वल्र्ड भिजन इन्टरनेशनल नेपाल र नमुना एकीकृत विकास परिषद रुपन्देहीको सहयोगमा लालीगुराँस स्काई क्लब गंगोलिया र नभयुवा क्लब जमुहानीले तिलोत्तमा–१७ स्थित भरवलिया डांडामा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । 

आत्महत्या नगरौं, आत्महत्या गर्ने कायर हो, जिन्दगी एकपल्ट पाइन्छ खुलेर जिउनु, समस्याको सामना गरौं, आत्महत्या होइन जस्ता नारा लेखिएको प्लेकार्ड लिएर स्काइ क्लबले ¥याली समेत निकालेका थिए । ¥याली पश्चात आयोजित कार्यक्रममा बोल्दै सहभागिले आत्महत्या गर्नेको संख्या बढेकोमा चिन्ता व्यक्त गरेका थिए ।

नेपालमा विभिन्न कारणले आत्महत्या गर्नेको संख्या ५ वर्षमा २० प्रतिशतले वृद्धि भएको पाइएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार आव २०६९–७० देखि २०७४ सम्म आइपुग्दा आत्महत्या गर्नेको संख्यामा २० प्रतिशतले वृद्धि भएको देखिएको छ । आव २०६९/०७० मा नेपालमा ३ हजार ९ सय ७५ ले आत्महत्या गरेको तथ्यांक छ । 

२०७०–७१ मा सो संख्यामा वृद्धि भएर ४ हजार ५ सय ४ जनाले आत्महत्या गरेका थिए । ०७१–७२ मा अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको संख्यामा कमी देखिएको छ । सो वर्ष ४ हजार ३ सय ३२ जनाले आत्महत्या गरेका छन् । त्यसपछि बर्सेनि आत्महत्या गर्नेको दर बढ्दै ०७२/०७३ मा ४ हजार ६ सय ७३ पुगेको थियो भने आव ०७३/०७४ मा सबैभन्दा बढी ५ हजार १ सय २४ ले आत्महत्या गरेका छन् । 

यसरी आत्महत्या गर्नेहरूमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको तथ्यांक रहेको छ भने दोश्रोमा विषालु पदार्थको सेवनबाट आत्महत्या गरेको पाइएको छ । विश्व स्वास्थ्य सगंठनका अनुसार बर्षेनी करिब आठ लाखभन्दा बढी व्यक्तिहरूले आत्महत्या गरेर ज्यान गुमाउने गरेका छन् । विश्वभरमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जना मानिसले आत्महत्याका कारण जीवन गुमाइरहेका छन् ।
 

Last modified on 2019-06-04 14:37:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts